दशैमा ४३६ छोरीचेलीलाई निशुल्क यातायात सेवा

Minakshi Rai

असोज २१ । दशैतिहार चेलीलाई उपहार अभियानमार्फत ४३६ जना छोरीचेलीलाई निशुुल्क यातायात सेवा दिईएको छ। दशै टीका १६ असोजदेखी १९ असोजसम्म जिल्लाभित्र करीव ३५ किलोमिटर दुरीभित्र सञ्चालन गरिएको निशुल्क यातायात सेवा अन्तर्गत उक्त सुविधा दिईएको हो।

अभियान अन्तर्गत टीम दिक्तेलले दुई पाङग्रेबाट २०५, चारपाङग्रेबाट ९०, टीम हलेसीबाट २३, टीम केपिलासगढीबाट ७५, टीम दिप्रुङबाट २१, टीम रावाबेशीबाट २२ जना छोरीचेलीलाई निशुल्क यातायात सेवा दिईएको अभियान संयोजक सन्जय कुमार राईले जानकारी दिनुभएको छ ।आर्थिक स्थिति कमजोर भएका र सवारी साधनको पहुँच नभएका महिलाहरुलाई घरबाट माईतीघरसम्म, माईतीघरबाट घरसम्म आउनेजाने सेवा दिईएको थियो। सेवा दिनलाई नीजि दुईपाङग्रे ६६ वटा र शुभम फाउण्डेसनको एकवटा चारपाङग्रे सवारीसाधन प्रयोग भएको थियो।

दिक्तेलस्थित किरातचोकमा सचिवालय स्थापना गरेर सेवाग्राहीको विवरण संकलन गर्दै सेवा दिईएको थियो। अभियानका निम्ति हलेसीमा रम्बोहाङ राई, दिप्रुङमा आदेश थापा, रावाबेशीमा बिशाल राई, केपिलासगढीमा सबिन थुलुङलाई संयोजक तोकिएको थियो।युवाहरुको समूहले नै तिहार लक्षित कार्तिक ५ गतेदेखि ७ गतेसम्म पनि यो अभियान चलाइनेछ। यसवर्ष दशै र तिहार गरी १ हजार छोरीचेलिलाई सेवा दिने अभियानको लक्ष्य छ। गतवर्ष दशै तिहारमा ५०० हाराहारीमा छोरीचेलीलाई निशुल्क यातायात सेवा दिईएको थियो।

तपाईको प्रतिक्रिया