चाडपर्वको मौका छोपेर यात्रुबाट मनपरी भाडा असुली, नियमन निकाय मुकदर्शक

Halesi Khabar

खोटाङ, १३ असोज । जिल्लामा सञ्चालित यातायात व्यवसायीले चाडपर्वको मौका छोपेर यात्रुबाट मनपरी भाडा असुली गर्ने गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय खोटाङले आयोजना गरेको भाडा समायोजन बैठकमा सहभागी यातायात व्यवसायीले चाडपर्वको समयमा समेत साबिककै भाडादर लागू गर्ने सहमति गरेपनि यात्रुबाट प्रतिव्यक्ति रु ५०० देखि रु एक हजारसम्म बढी भाडा असुलेको पाइएको हो ।

जिप (टाटासुमो)का लागि दिक्तेल–काठमाडौँ तथा काठमाडौँ–दिक्तेलका लागि एकतर्फी भाडा रु दुई हजार कायम गरिए पनि यातायात व्यवसायीले रु दुई हजार ५०० देखि रु तीन हजार ५०० सम्म असुलेको पाइएको छ । दिक्तेल–धरान तथा धरान–दिक्तेलका लागि रु दुई हजार १०० निर्धारण गरिएको थियो । तर, प्रशासनमा गरिएको दुई पक्षीय सहमति कुनै पनि यातायात व्यवसायीले कार्यान्वयन नगरेको पाइएको छ ।

यतिसम्म कि, बढी भाडा असुल गर्ने यातायात व्यवसायीले प्रहरी प्रशासनको कारबाहीमा पर्ने डरले यात्रुलाई टिकट नदिइ यात्रा गराउने गरेको पाइएको छ । चाडपर्वको अवसरमा एकतर्फी यात्रा गर्नेमात्र प्यासेन्जर (यात्रु) हुने भन्दै सबै यातायात व्यवसायीले रिजर्भको भाडा असुलेको यात्रुहरुले बताएका छन् ।

बढी भाडा असुल्नेमा तुवाचुङ मारतिका यातायात प्रा.लि., पब्लिक मध्यपहाडी यातायात प्रा.लि., सगरमाथा यातायात प्रा.लि. लगायतका यातायात प्रा.लि.मा आवद्ध यातायात व्यवसायी रहेका छन् । सगरमाथा यातायात प्रा.लि.ले धरानबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीसम्मका लागि भनेर प्रतिव्यक्ति रु दुई हजार ५०० का दरले भाडा लिएपनि दिक्तेलमा ल्याएर छाडिदिएको यात्रुहरुले बताएका छन् । ,

खार्मीका लागि भनेर धरानबाट चढेको सुमोले दिक्तेलमा ल्याएर छाडेपछि पुनः प्रतिव्यक्ति रु ७०० का दरले अर्को गाडीको टिकट घर पुगेको स्थानीय ज्ञानकुमारी राईले बताउनुभएको छ । “हामीलाई टिकट पनि दिएन । खार्मी लैजाने गुरुको भनेर दिएको नम्बर पनि स्वीच अफ थियो”, उहाँले भन्नुभयो, “बेलुका अबेर भइसकेको थियो । त्यो दिन जसरी पनि घर पुग्नुपर्ने थियो । प्रहरीलाई खबर गर्ने समय थिएन । त्यसैले अर्को गाडीको टिकट लिएर घर पुग्यौँ । यातायात व्यवसायीले गरेको ठगी धन्दामा सम्बन्धित निकाय मौन बस्दा यात्रुहरु मारमा परेका छन् । यसप्रति गम्भीर भएर सोच्न आवश्यक छ ।”

बाक्सिला–काठमाडौँ तथा काठमाडौँ–बाक्सिलाका लागि एकतर्फी जिप भाडा रु दुई हजार ८०० भएपनि आफूहरुले प्रतिव्यक्ति रु तीन हजार ५०० का दरले तिरेर यात्रा गर्न बाध्य भएको स्थानीय इन्द्र साम्पाङ राईले गुनासो गर्नुभएको छ । यातायात व्यवसायीले आफूखुसी बढी भाडा असुलेको विषयमा प्रमाणसहित प्रहरी प्रशासनलाई खबर गर्दासमेत कुनै चासो नदिएको यात्रुहरुले बताएका छन् ।

यातायात व्यवसायीले मनपरी भाडा असुलेको विषयमा जानकारी लिनेक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी सहायक निरीक्षक बाबुराम न्यौपानेले अहिलेसम्म कुनै गुनासो नआएको प्रतिक्रिया दिनुभएको छ । “हामीले जिल्ला प्रवेश गर्ने ठाउँ जयरामघाट र प्रस्थान गर्ने ठाउँ दिक्तेल बजारमा यात्रु सहायता कक्ष सञ्चालन गरेका छौँ । अहिलेसम्म कसैबाट गुनासो आएको छैन”, उहाँले भन्नुभयो, “ठगीमा परेको भए प्रमाण उपलब्ध गराएको खण्डमा कारबाही गर्छौँ । यद्यपि, जिल्लामा सञ्चालित सबै यातायातका सवारी साधनलाई निगरानीमा राखेका छौँ ।”

जिल्लामा सञ्चालित अधिकांश यातायातका साधनमा सिट क्षमताभन्दा बढी यात्रु राखेको समेत गुनासो आएको छ । खोटाङ यातायात प्रा.लि.मा आवद्ध सवारी साधनले अहिलेसम्म कसैबाट बढी भाडा नलिएको र त्यस्तो गुनासो भए प्रमाण उपलब्ध गराउन दिक्तेल काउन्टरका प्रमुख अमिर अधिकारीले बताउनुभएको छ ।

चाडपर्वको अवसरमा यात्रुको आवागमनलाई सहज र सुरक्षित बनाउन भाडादर नियमनमा कडाइ गर्ने जिल्ला प्रशासनले समेत निर्णय गरेको थियो । यातायात व्यवसायीले तोकिएको भन्दा बढी भाडा असुल्ने, अतिरिक्त शुल्क लिने, क्षमताभन्दा बढी यात्रु चढाउने जस्ता क्रियाकलाप गरेको खण्डमा कानूनी कारबाही गर्ने प्रशासनले निर्णय गरेपनि कार्यान्वयन भएको छैन ।

तपाईको प्रतिक्रिया