युवा समूहले ‘दसैँतिहार, चेलीलाई उपहार अभियान’ मार्फत निःशुल्क यातायात सेवा दिने

Halesi Khabar

खोटाङ, ११ असोज । जिल्लामा रहेर विभिन्न क्षेत्रमा क्रियाशील युवाको एक समूहले ‘दसैँतिहार, चेलीलाई उपहार अभियान–२०८२’ सञ्चालन गर्ने भएको छ । कमजोर आर्थिक अवस्था भएका वा यातायात सेवा नपाएर समस्यामा परेका चेलीलाई दसैँतिहार मनाउन माइतीघर पु¥याउने तथा माइतीघरबाट पुनः कर्मघर फर्काउन युवा समूहले निःशुल्क यातायात सेवा उपलब्ध गराउनेगरी अभियान सञ्चालन गर्ने भएको हो ।

दसैँको अवसरमा यही असोज–१६ गतेदेखि १९ गतेसम्म तथा तिहारको अवसरमा आगामी कातिक–५ गतेदेखि ७ गते अभियान सञ्चालन गरिने संयोजक सञ्जयकुमार राईले जानकारी दिनुभएको छ । “यातायात तथा खर्च अभावका कारण माइतीघर जान नपाएर समस्यामा परेका चेलीलाई गन्तव्यसम्म पु¥याउने योजनासहित गत वर्ष दुई चरणमा अभियान सञ्चालन गरेका थियौँ । उसबेला ४१५ जना चेलीले निःशुल्क सेवा लिएका थिए”, उहाँले भन्नुभयो, “निःशुल्क यातायात सेवा उपलब्ध गराउन सञ्चालन गरिएको अभियानको दोस्रो संस्करण यस वर्ष पनि सञ्चालन गर्ने तयारी गरिएको छ । यसमा हाम्रो कुनै स्वार्थ छैन । मानवीय सेवाभावले अभियानका क्रममा माइतीघर पु¥याउन तथा माइतीघरबाट कर्मघर फर्काउन निःशुल्क यातायात सेवा उपलब्ध गराउँछौँ । यस वर्ष सञ्चालन गर्ने अभियानका लागि अहिलेसम्म विभिन्न क्षेत्रमा कार्यरत २५ जना युवाले स्वतःस्फूर्त सहभागी हुनेगरी नाम दर्ता गराइसक्नुभएको छ । स्वयम्सेवा गर्न इच्छुक युवा थपिनेक्रम जारी छ । चार पाङ्ग्रे एउटा गाडीसमेत व्यवस्था गरिएको छ ।”

मध्यपहाडी लोकमार्ग तथा सगरमाथा राष्ट्रिय राजमार्गका विभिन्न सडकखण्ड तथा जिल्लाका सबै ग्रामीण सडकहरुको ३५ किलोमिटरसम्म सेवा उपलब्ध गराइने युवा समूहले दिक्तेलस्थित रुपाकोट होटलमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । सरकारी सेवासुविधा लिइरहेकालाई भने आफूहरुले सञ्चालन गरेको अभियानअन्तरगतका कुनै पनि सेवा उपलब्ध नहुने पत्रकार सम्मेलनमा जनाइएको छ ।

चेलीका लागि भनेर सञ्चालन गरिने अभियानमा पुरुषलाई पनि आवश्यकता र सहमतिका आधारमा सेवा उपलब्ध गराउने तयारी गरिएको युवा समूहले जनाएको छ । अभियानका क्रममा महिला, बालबालिका, वृद्धावस्थाका तथा अपाङ्गता भएका व्यक्तिलाई विशेष प्राथमिकता दिइने संयोजक राईले जानकारी दिनुभएको छ ।
अभियान अन्तरगतका सेवा लिन चाहने यात्रुले बढीमा पाँच केजी तौलसम्मका मात्रै झोला तथा कोसेली बोक्न पाउने सर्तसमेत राखिएको पत्रकार सम्मेलनमा जनाइएको छ । जिल्लाका अधिकांश सडक कच्ची अवस्थाका रहेकाले दुर्घटनाका जोखिमलाई मध्यनजर गरेर तौल निर्धारण गरिएको संयोजक राईले जानकारी दिनुभएको छ ।
दसैँ र तिहारगरी दुई चरणमा सञ्चालन गरिने अभियानमा स्वस्फुर्त स्वएम्सेवकको भूमिका निर्वाह गर्न चाहने जो कोहिले सहयोग गर्न सक्ने जनाइएको छ । स्वएम्सेवक बन्न चाहने युवाको अनिवार्य सवारी बिलबुक र सवारी चालक अनुमतिपत्र लाइसेन्स हुनुपर्ने पत्रकार सम्मेलनमा जनाइएको छ ।
अभियानका लागि जिल्लास्थित दशवटै स्थानीय तहमा संयोजक तोकिएको जनाइएको छ । दुई चरणमा सञ्चालन हुने अभियानको सहसंयोजकमा मौषम कार्की, आर्थिक व्यवस्थापन सकितिको संयोजकमा महिला उद्यमी विमला राई, सचिवालय व्यवस्थापकमा अनिशा रम्तेल, अञ्जना आचार्य, रस्मिता आचार्य र खियामा राई रहनुभएको छ ।

अभियानका लागि होण्डा मोटरसाइकलको दिक्तेलस्थित आधिकारिक बिक्रेता इकिमा सर्भिस सेन्टर तथा साया मोटरसाइकल वर्कशपले मोटरसाइकल मर्मतमा सहयोग गर्ने भएको जनाइएको छ । युवा समूहले स्वतःस्फूर्त सञ्चालन गर्ने अभियानका लागि आर्थिक सहयोग गर्ने व्यक्तिहरुसमेत तयार भएको संयोजक राईले जानकारी दिनुभएको छ ।

युवा समूहले गत वर्ष सञ्चालन अभियानमा जोडिएर सेवा दिने मोटरसाइकल चालकलाई शुभम् फाउण्डेशनले निःशुल्क खाना तथा खाजा गराएको थियो । महिला उद्यमी सङ्घ खोटाङका अध्यक्ष विमला राई, युवा व्यवसायी तथा जिल्ला ब्याडमिन्टन सङ्घ खोटाङका अध्यक्ष आशिष थापा लगायतका व्यक्ति तथा संस्थाले अभियानका लागि आर्थिक तथा भौतिक सहयोग गरेका थिए ।

तपाईको प्रतिक्रिया