दिक्तेल बजारमा दसैँको चहलपहल बढ्यो, दैनिक लाखौँको आर्थिक कारोबार

Halesi Khabar

खोटाङ, ९ असोज । दसैँ, तिहार, नेपाल सम्वत् तथा छट पर्व लगायतका चाडपर्वहरु नजिकिएसँगै जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा सर्वसाधारणको चहलपहल बढेको छ । दैनिक उपभोग्य सामग्री किनमेल गर्ने तथा शहरबाट जिल्ला भित्रिने सर्वसाधारणको बिहानदेखि राति अबेरसम्म चहलपहल बढेको हो ।

चाडपर्व नजिकिएसँगै जिल्लामा दैनिक रु ५० देखि रु ६० लाखसम्मको आर्थिक कारोबार हुने गरेको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यले जानकारी दिनुभएको छ । “सबै व्यापारीहरुलाई तोकिएको दरमा सामान बिक्री गर्न र ग्राहकलाई सकेसम्म छुट दिन आग्रह गरेका छौँ । व्यापारीहरूले पनि धेरै नाफा कमाउनेभन्दा सुपथ मूल्यमा सामान बिक्री गरिरहेका छन्”, उहाँले भन्नुभयो, “केही दिनअघिसम्म सुनसान रहेको दिक्तेल बजारमा पछिल्ला दुई दिनदेखि ग्राहकको भीड निक्कै बढेको छ । यसले व्यवसायीहरुको कारोबार राम्रो भइरहेको छ ।”

जिल्लामा कुखुराको अन्डा उत्पादन कम भएकाले तराईबाट ल्याउनुपर्दा मूल्यमा केही वृद्धि भएको व्यापारीहरुले बताएका छन् । यस्तै खाने तेलको मूल्य पनि केही बढेको र अन्य उपभोग्यवस्तु भने, सुपथ मूल्यमै बिक्री भइरहेको वाणिज्य सङ्घले जनाएको छ ।

गत वर्षको तुलनामा यस वर्ष व्यापार÷व्यवसायमा धेरै सुधार भएको व्यापारीहरुले बताएका छन् । चाडपर्वमा खपत हुने सामानको बिक्री बढी भएको र ग्रामीण क्षेत्रबाट समेत उपभोक्ता आएकाले कारोबार बढेको उनीहरूको भनाइ छ ।

स्थानीय उपभोक्ताले पनि दसैँ नजिकिँदै गर्दा बजारमा सामानको विविधता र आपूर्ति सहज भएको अनुभव गरेका छन् । तर, कतिपयले भने अन्डा र तेलजस्ता केही सामानको भाउ बढेको गुनासो गरेका छन् ।

जिल्लास्थित सरोकारवाला निकायले चाडपर्वका बेलामा बजार व्यवस्थापन, मूल्य नियन्त्रण र उपभोक्ताको सुरक्षामा अझ ध्यान दिनुपर्ने बताएका छन् । ग्राम्रीण भेगमा सञ्चालित पसलहरुमा म्याद नाघेका अखाद्यवस्तु बिक्री भइरहेकाले त्यसतर्फ ध्यान दिन सरोकारवाला निकालयले आग्रह गरेका छन् ।

चाडपर्वको अवसरमा हुन सक्ने कालोबजारीकरण नियन्त्रण गर्न अनुगमन तथा सुरक्षाको व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालय खोटाले जनाएको छ । जिल्लाका दशवटै स्थानीय तहले समेत आ–आफ्नो क्षेत्रमा सञचालित हाटबजार तथा पसलहरु अनुगमन गरिरहेका छन् ।

चाडपर्वलाई लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खोटाङले जिल्लाका तीन स्थानमा सुपथ मूल्यको पसलसमेत सञ्चालनमा ल्याएको छ । दसैँ, तिहार, नेपाल सम्वत् तथा छठ जस्ता चाडपर्वलाई मध्यनजर गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दिक्तेलबजारसहित ऐसेलुखर्क गाउँपालिका र खोटेहाङ गाउँपालिकामा चामलको सुपथ मूल्यको पसल सञ्चालनमा ल्याएको हो ।

जिल्लामा खोलिएका सुपथ मूल्यको पसल आगामी कातिक–१० गतेसम्म सञ्चालन हुने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय दिक्तेलका प्रमुख सुजनबाबु आचार्यले जानकारी दिनुभएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकै कार्यालय र गोदाम, ऐसेलुखर्कमा डिपो कार्यालय ऐसेलुखर्क र खोटेहाङ गाउँपालिकामा डिपो कार्यालय खोटाङबजारबाट सस्तो मूल्यमा चामल बिक्री सुरु गरिएको हो ।

तपाईको प्रतिक्रिया