खोटाङ, ८ असोज । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारस्थित दाल्फुमा करिब एक घण्टाको अन्तरमा दुई छिमेकीको घर र गोठमा आगजनी भएको पाइएको छ । दाल्फुका स्थानीय दुर्गाप्रसाद राईको घर र बबरसिं राईको गोठमा गएराति अज्ञात व्यक्तिबाट आगजनी भएको हो ।
दुर्गाप्रसादको घरमा राति करिब १ः२० बजे र बबरसिंको गोठमा करिब २ः०० बजेको समयमा आगजनी भएको स्थानीयले बताएका छन् । अज्ञात व्यक्तिबाट भएको आगजनीमा दुर्गाप्रसादको एउटा गोठ पूर्णरुपमा जलेर नष्ट भएको छ । घर र मतानमा भने आंशिक क्षति पुगेको प्रहरी चौकी च्यास्मिटारले जनाएको छ ।
दुर्गाप्रसादको घर र मतानको बीचमा रहेको भैँसी बाँधेको गोठबाट आगो सुरु भएको थियो । रातको समयमा लागेको आगो घर र मतानको छाना उधारेर ठूलो क्षति हुनबाट जोगाएका छन् । स्थानीयले सो आगो नियन्त्रणमा लिएको केही समयपछि करिब तीन मिनेट पर रहेको बबरसिंको गोठमा आगो सुरु भएको जनाइएको छ ।
दुबै घरमा भएको आगजनीबाट राँगाभैँसी, गाईगोरु र खसीबाख्रालाई भने दाम्लो खोलेर जोगाइएको स्थानीयले बताएका छन् । आगजनीमा दुर्गाप्रसादको अन्दाजी रु तीन लाख र बबरसिंको अन्दाजी रु एक लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सुशान्त मिश्रले जानकारी दिनुभएको छ ।
कसैले योजनावद्ध तरिकाले दुई घरमा आगजनी गरेको अनुमान गरिएको स्थानीय केसीराज राईले बताउनुभएको छ । आगजनीमा संलग्नको पहिचानका लागि इलाका प्रहरी कार्यालय हलेसीमा जाहेरी दिइएको पीडितहरुले बताएका छन् ।
च्यास्मिटारमा भएको आगजनीका घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गत वर्ष पनि बबरसिं र उहाँका छोरा रहरमान राईको घरमा रातको समयमा श्रृङ्खलावद्ध तरिकाले आगलागी भएको थियो ।


