खोटाङ, ६ असोज । जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले दसैँ, तिहार तथा छठ पर्वको समयमा हुने यात्रुको चापलाई व्यवस्थापन गर्न जिल्लाका दुई ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । यात्रुको सुरक्षित, सहज र व्यवस्थित यात्राका लागि व्यवस्थापन गर्न दिक्तेल बजारको रत्नपार्कस्थित किरातचोक र जिल्ला प्रवेश गर्ने प्रमुख नाका जयरामघाटमा सहायता कक्ष सञ्चालन गरिएको हो ।
चाडपर्वको समयमा हुनसक्ने समस्या समाधान गर्न जिल्लाका दुई ठाउँ (प्रवेश र प्रस्थान)मा यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी सहायक निरीक्षक बाबुराम न्यौपानेले जानकारी दिनुभयो । यात्रु सहायता कक्षमा यात्रुहरूले भिडभाडका बीचमा यात्रा गर्दा पर्न सक्ने समस्या समाधान, ट्राफिक नियमबारे सचेतना, टिकट परीक्षण र भाडासम्बन्धी गुनासो राख्न सक्ने व्यवस्था गरिएको छ ।
क्षमताभन्दा बढी यात्रु बोक्ने, तोकिएभन्दा बढी भाडा असुल्ने वा मादकपदार्थ सेवन गरेर सवारी साधन चलाउने घटना भएमा तत्काल प्रहरीलाई जानकारी दिन यात्रु तथा सरोकारवाला निकायलाई आग्रह गरिएको छ । कार्यक्रममा यातायात व्यवसायीले अनिवार्य टिकट दिन र यात्रुलाई टिकट लिएर मात्र यात्रा गर्न सचेतसमेत गराइएको छ ।
सहायता कक्षबाट ट्राफिक प्रहरी नियमित अनुगमन गर्ने र आवश्यक परे यात्रुको गुनासो तत्काल समाधान गर्ने व्यवस्था मिलाइएको ट्राफिक प्रहरीले जनाएको छ । कार्यक्रममा सहभागी वक्ताहरुले चाडपर्वमा हुने भिडभाडका बीच यात्रुको सहज यात्राका लागि सबै मिलेर काम गर्नुपर्नेमा जोड दिएका छन् ।
सहायता कक्ष उद्घाटन कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका ९१ वर्षीय ज्येष्ठ नागरिक दलबहादुर खत्रीलाई सम्मान गरिएको छ । जेष्ठ नागरिक खत्रीलाई सम्मानसँगै दिक्तेलबाट जिपमा चढाएर सोल्मासम्मको निःशुल्क यात्रासमेत गराइएको ट्राफिक प्रहरीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय खोटाङले चाडपर्वको बहानामा यात्रुबाट बढी भाडा नलिन यातायात व्यवसायीलाई यसअघि नै निर्देशन दिएको छ । दशैँ, तिहार तथा छट पर्वको मौका छोपेर यातायात व्यवसायीले यात्रुबाट बढी भाडा लिने गरेको गुनासो आएपछि प्रशासनले तोकिएको भाडादरभन्दा बढी नलिन निर्देशन दिएको हो ।
चाडपर्वको बहानामा यातायात व्यवसायीले तोकिएको भाडादरभन्दा बढी भाडा लिएको खण्डमा तत्काल प्रहरीलाई खबर गर्न यात्रुहरुलाई समेत आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिनुभएको छ । “चाडपर्वको अवसरमा यात्रुको चाप बढी हुने भएकाले सिट क्षमताभन्दा बढी यात्रु नराख्न, अनिवार्य टिकटको व्यवस्था गर्न तथा गति सीमित गर्न यातायात व्यवसायीलाई निर्देशन दिएका छौँ । यात्रुको सहजताका लागि विभिन्न ठाउँमा यात्रु सहायता कक्षसमेत स्थापना गरिएको छ”, उहाँले भन्नुभयो, “प्रशासनको निर्देशनलाई अवज्ञा गरेको खण्डमा कारबाहीको दायरामा ल्याउँछौँ । यसमा व्यवसायीहरुसमेत सहमत भएका छन् ।”
चाडपर्वको अवसरमा यात्रुको आवागमन सहज र सुरक्षित यात्रा बनाउन भाडादर नियमनमा कडाइ गर्ने निर्णय गरिएको जिल्ला प्रशासनले जनाएको छ । हरेक वर्ष चाडपर्वमा घर जाने र फर्कने यात्रुको चाप बढ्ने हुँदा यातायात व्यवसायीले तोकिएको भन्दा बढी भाडा असुल्ने, अतिरिक्त शुल्क लिने, क्षमताभन्दा बढी यात्रु चढाउने जस्ता समस्या देखिँदै आएकाले यसपटक प्रशासनले विशेष निगरानी गर्ने भएको हो ।


