खोटाङ, ५ असोज । साकेला गाउँपालिकाले जेष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका लाभग्राहीलाई लक्षित गर्दै घुम्ती शिविरमार्फत सामाजिक सुरक्षाभत्ता वितरण सुरु गरेको छ । जिल्लाको सबैभन्दा सानो स्थानीय तह (पाँचवटा वडा रहेको) साकेला गाउँपालिकाले दशैँ, तिहार र छटपर्वलाई लक्षित गरेर आज (आइतबार)देखि चालु आर्थिक वर्षको प्रथम त्रैमासिक सामाजिक सुरक्षाभत्ता वितरण सुरु गरेको हो ।
शिविरको पहिलो दिन वडा नम्बर–४ मात्तिमको पाउँदुरे र वडा नं. ५ मात्तिमको बिर्ता पुगेर लाभग्राहीलाई सामाजिक सुरक्षाभत्ता वितरण गरिएको गाउँपालिकाका सामाजिक सुरक्षा शाखा संयोजक डिएम चाम्लिङ राईले जानकारी दिनुभयो । बैङ्किङ प्रणालीमार्फत त्रैमासिक रुपमा वितरण गर्नुपर्ने सामाजिक सुरक्षाभत्ता पहिलादेखि नै वडा–वडामा पुगेर शिविरमार्फत वितरण गर्दै आएको गाउँपालिकाले यो प्रथम त्रैमासिकको भत्ता पनि वडामै पुगेर बाँड्न सुरु गरेको हो ।
वडा नं. ४ मात्तिमका ७९ जना लाभग्राहीको लागि रु १२ लाख ५९ हजार तथा वडा नं. ५ मात्तिमबिर्ताका ११४ जना लाभग्राहीको लागि रु १८ लाख ८८ हजार सामाजिक सुरक्षाभत्ता रकम वितरण गरिएको छ । यता नेपाल एसबिआई बैङ्कको मानेभन्ज्याङ शाखाबाट समेत सामाजिक सुरक्षाभत्ता वितरण सुरु गरिएको जनाइएको छ ।
भौगोलिक बिकटता र शारीरिक अशक्तताका कारण बैङ्कसम्म आएर भत्ता लिन नसक्ने लाभग्राहीलाई पायक पर्नेगरी शिविरमार्फत सामाजिक सुरक्षाभत्ता वितरण सुरु गरिएको गाउँपालिका प्रमुख रविप्रकाश राईले बताउनुभयो । वडामा सञ्चालित शिविरमा गाउँपालिकास्थित सामाजिक सुरक्षा शाखा, नेपाल एसबिआई बैङ्क र नेपाल प्रहरीको संयुक्त टोली खटाएर सामाजिक सुरक्षाभत्ता वितरण सुरु गरिएको हो ।
वृद्धवृद्धाहरू हिँडडुल गर्न नसक्ने, गाउँपालिका केन्द्रमा रहेको बैङ्क आउन खर्च र शारीरिक कष्ट हुने तथा अशक्त र अपाङ्गतालाई थप गाह्रो नहोस् भनेर वडामै शिविर राखेर सामाजिक सुरक्षाभत्ता वितरण सुरु गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले शिविरमार्फत आफ्नो पायक पर्ने ठाउँमा सामाजिक सुरक्षाभत्ता ल्याएर वितरण गरेपछि आफूहरुलाई सहज भएको लाभग्राहीहरुले बताएका छन् ।
गाउँपालिका र नेपाल एसबिआई बैङ्कको संयुक्त आयोजनामा सञ्चालन गरिएको सामाजिक सुरक्षाभत्ता वितरण शिविर आगामी यही असोज–९ गतेसम्म सञ्चालन हुने जनाइएको छ । शिविरस्थलमा उपस्थित भएर सामाजिक सुरक्षाभत्ता बुझ्न नसक्ने लाभग्राहीको लागि भने नेपाल एसबिआई बैङ्कको देशभरका जुनसुकै शाखाबाट पनि सामाजिक सुरक्षाभत्ता लिन सक्ने व्यवस्था मिलाइएको गाउँपालिकाले जनाएको छ ।
साकेला गाउँपालिकामा चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा एक हजार तीन सय २९ जना लाभग्राही सामाजिक सुरक्षाभत्ता प्राप्त गर्न योग्य छन् । उनीहरुको लागि गाउँपालिकाले रु एक करोड ३४ लाख ५७ हजार निकासा गरेको गाउँपालिकाका लेखापाल उत्तम आचार्यले जानकारी दिनुभएको छ ।


