खोटाङ, ४ असोज । जिल्ला प्रशासन कार्यालय खोटाङले चाडपर्वको बहानामा यात्रुबाट बढी भाडा नलिन यातायात व्यवसायीलाई निर्देशन दिएको छ । दशैँ, तिहार तथा छट पर्वको मौका छोपेर यातायात व्यवसायीले यात्रुबाट बढी भाडा लिने गरेको गुनासो आएपछि प्रशासनले तोकिएको भाडादरभन्दा बढी नलिन निर्देशन दिएको हो ।
चाडपर्वको बहानामा यातायात व्यवसायीले तोकिएको भाडादरभन्दा बढी भाडा लिएको खण्डमा तत्काल प्रहरीलाई खबर गर्न यात्रुहरुलाई समेत आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिनुभएको छ । “चाडपर्वको अवसरमा यात्रुको चाप बढी हुने भएकाले सिट क्षमताभन्दा बढी यात्रु नराख्न, अनिवार्य टिकटको व्यवस्था गर्न तथा गति सीमित गर्न यातायात व्यवसायीलाई निर्देशन दिएका छौँ । यात्रुको सहजताका लागि विभिन्न ठाउँमा यात्रु सहायता कक्षसमेत सञ्चालन गर्ने तयारी गरिएको छ”, उहाँले भन्नुभयो, “प्रशासनको निर्देशनलाई अवज्ञा गरेको खण्डमा कारबाहीको दायरामा ल्याउँछौँ । यसमा व्यवसायीहरुसमेत सहमत भएका छन् ।”
चाडपर्वको अवसरमा यात्रुको आवागमन सहज र सुरक्षित यात्रा बनाउन भाडादर नियमनमा कडाइ गर्ने निर्णय गरिएको जिल्ला प्रशासनले जनाएको छ । हरेक वर्ष चाडपर्वमा घर जाने र फर्कने यात्रुको चाप बढ्ने हुँदा यातायात व्यवसायीले तोकिएको भन्दा बढी भाडा असुल्ने, अतिरिक्त शुल्क लिने, क्षमताभन्दा बढी यात्रु चढाउने जस्ता समस्या देखिँदै आएकाले यसपटक प्रशासनले विशेष निगरानी गर्ने भएको हो ।
प्रशासन र यातायात व्यवसायीबीच यसअघि भएको भेलाले तोकेको भाडादरअनुसार दिक्तेल–काठमाडौँ तथा काठमाडौँ–दिक्तेलको एकतर्फी बसको भाडा रु एक हजार ६१०, दिक्तेल–धरान तथा धरान–दिक्तेलको एकतर्फी बसको भाडा रु एक हजार ५०० कायम गरिएको थियो । यस्तै, जिपमा दिक्तेल–काठमाडौँ तथा काठमाडौँ–दिक्तेलको एकतर्फी भाडा रु दुई हजार तथा दिक्तेल–धरान–विराटनगर तथा विराटनगर–धरान–दिक्तेलको एकतर्फी भाडा रु दुई हजार १०० कायम गरेर कार्यान्वयनमा ल्याइएको छ ।
छोटो दूरीमा चल्ने सवारी साधनलाई समेत यसअघिका भाडादरअनुसार नै यात्रुबाट भाडा लिएर यात्रा गराउन प्रशासनले आग्रह गरेको छ । जिल्लामा निर्धारण गरिएको भाडादर अनुगमनका लागि जिल्ला प्रशासन कार्यालय, ट्राफिक प्रहरी कार्यालय, उपभोक्ता हित संरक्षण समिति र यातायात व्यवसायी सङ्घ तथा संस्था सम्मिलित संयुक्त टोली खटाइने प्रशासनले जनाएको छ ।
देशको पछिल्लो विषम परिस्थितिलाई मध्यनजर गर्दै जिल्लामा सञ्चालित सबै यातायातका सवारी साधनको भाडादर पुरानै कायम गरिएको खोटाङ यातायात प्रा.लि.का महासचिव रामकुमार हिङमाङले जानकारी दिनुभएको छ । “भदौ–२३ र २४ गते भएको जेनजी आन्दोलनका कारण देश रोइरहेको छ । यस्तो अवस्थामा सबै समस्यामा रहेका छन्”, उहाँले भन्नुभयो, “देश निर्माणका लागि यातायात व्यवसायीको पनि उत्तिकै भूमिका हुन्छ । पुरानै भाडादर कायम गरेका हौँ । यदि कसैले तोकिएको भाडादरभन्दा बढी लिएको खण्डमा कारबाहीको दायरमा ल्याउँछौँ ।”
दश स्थानीय तह रहेको जिल्लाका सबै ठाउँमा यातायातका सवारी साधन सञ्चालन हुने गरेका छन् । जिल्लाका ग्रामीण सडकमा सञ्चालन हुने यातायातका सवारी साधनबाट यात्रुहरु सबैभन्दा बढी ठगिने गरेको गुनासो आउने गरेको छ ।


