खोटाङ, ३ असोज । खोटाङमा पनि विविध कार्यक्रमका साथ संविधान दिवस–२०८२ मनाइएको छ । जिल्लास्थित राजनीतिक दल, जिल्ला समन्वय समिति खोटाङ तथा स्थानीय तहहरुले दीप प्रज्ज्वलनसहित शुभकामना आदानप्रदान गर्दै संविधान दिवस मनाएको हो ।
नेपाली जनताको लामो बलिदानीपूर्ण सङ्घर्षको उपलब्धिस्वरुप संविधानसभाबाट नेपालको संविधान २०७२ असोज–३ गते घोषणा भएको थियो । मुलुकमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले अथक मेहेनत र लामो विवादपछि ‘नेपालको संविधान–२०७२’ जारी गरेको हो ।
जिल्लास्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले छुट्टाछुट्टै स्थानमा कार्यक्रमको आयोजना गरेर संविधान दिवस मनाएका छन् । एमालेले दिक्तेलस्थित पुष्पलाल स्मृति भवनमा र माओवादी केन्द्रले त्रिवेणीचोकमा कार्यक्रमको आयोजना गरेर दिवस मनाएको हो ।
एमालेले आयोजना गरेको कार्यक्रममा केन्द्रीय सदस्य खगेन्द्र राई तथा माओवादी केन्द्रले आयोजना गरेको कार्यक्रममा केन्द्रीय अनुशासन आयोगका अध्यक्ष टंक राई प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रमका वक्ताहरुले नेपाली जनताको लामो बलिदानीपूर्ण सङ्घर्षको उपलब्धिस्वरुप जारी भएको संविधान संरक्षण तथा कार्यान्वयनमा सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।
उता, जिल्ला समन्वय समिति खोटाङले आयोजना गरेको कार्यक्रममा समन्वय समिति प्रमुख सनबहादुर राई, उपप्रमुख सुरेशकुमार तामाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई, प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, सुरक्षा निकायका प्रमुखहरु, कार्यालय प्रमुख तथा कर्मचारी लगायतको सहभागिता रहेको थियो । जिल्लास्थित दशवटै स्थानीय तहले पनि आ–आफ्नो कार्यालयमा दीप प्रज्ज्वलन गरेर दिवस मनाएका छन् ।




