खोटाङ, १ असोज : दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २७ रेश्मिका सिवा परियारको बलात्कारपछि हत्या भएको आशङ्कामा शव परीक्षण गर्न धरान पठाइएको छ । स्थानीय अजम्बरी साना किसान कृषि सहकारी संस्थामा कार्यरत रेश्मिका बतासेको ह्याकुले र रमितेडाँडाको बीचमा पर्ने मार्से सामुदायिक वनमा भदौ–३० गते राति शङ्कास्पद अवस्थामा मृत फेला परेपछि सर्जमिन मुचुल्का गरेर शव परीक्षण गर्न धनानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको हो ।
सहकारीका अध्यक्ष सागर तामाङका अनुसार भदौ–३० गते अपरान्ह आफ्नो काम सकेर कार्यालयबाट हिड्नुभएकी रेश्मिका राति अबेरसम्म घर नपुगेपछि खोजी गर्नेक्रममा सडकभन्दा करिब १५० मिटर तल झाडीमा सोही राति करिब नौँ बजे मृत फेला पर्नुभएको थियो । जागिरका लागि काममा जानुभएकी एक छोरीकी आमा रेश्मिकाको बलात्कारपछि हत्या भएको भन्दै आफन्त तथा स्थानीयले तत्काल अपराधी पत्ता लगाएर कडाभन्दा कडा कानूनी कारबाही गर्न माग गरेका छन् ।
दिप्रुङ चुइचुम्मा गाउँपालिकामा भएको घटना शङ्कास्पद भएकाले शव परीक्षण गर्न सुविधायुक्त अस्पताल धरान पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले बताउनुभएको छ । “घटनास्थलको प्रकृति हेर्दा रेश्मिकाको बलात्कारपछि हत्या भएको हुनसक्ने अनुमान गरिएको छ । जिल्लामा त्यस्तो अवस्थाको शव परीक्षण गर्ने उपकरण तथा स्वास्थ्यकर्मी छैन”, उहाँले भन्नुभयो, “हामीलाई छिटोभन्दा छिटो शव परीक्षण प्रतिवेदन चाहिएको छ । मृतकको शव ढिलो परीक्षण गर्दा प्रमाण नष्ट हुन्छ । प्रमाण नष्ट भएको खण्डमा दोषी उम्कने सम्भावना हुन्छ । त्यसैले छिटो शव परीक्षण प्रतिवेदन प्राप्त गर्न वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएका छौँ ।”
तराई घर भएका माइतीपक्ष आउन ढिला भएकाले राति अबेरमात्र सर्जमिन मुचुल्का गरेर ट्याक्टरमार्फत धरान पठाइएको प्रनाउ बुढाथोकीले जानकारी दिनुभएको छ । मृतकको शव परीक्षणमा पठाउन तथा घटनाका बारेमा अनुसन्धान गर्न प्रनाउ बुढाथोकी नेतृत्वको टोली भदौ–३० गते रातिबाटै दिप्रुङ चुइचुम्मा गाउँपालिकामा खटिएका छन् ।
घटनास्थलमा पुगेका प्रत्यक्षदर्शीले दिएको जानकारीअनुसार मृत फेला पर्नुभएकी रेश्मिकाको चप्पल सडकमुनि कुनामा भेटिएको थियो । सडकदेखि शव रहेको स्थानसम्म घिसारिएको र झाडी मडारिएको देखिएको स्थानीयले बताएका छन् । त्योभन्दा केही तल झोला र अन्डरवेर (प्यान्टी) भेटिएको प्रहरीले जनाएको छ ।
घटनास्थलको सबैभन्दा तल घाँटीमा कालो सलले बेरेको अवस्थामा रेश्मिकाको शव भेटिएकाले बलात्कारपछि हत्या भएको अनुमान गरिएको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका प्रमुख लोकेन्द्र राईले जानकारी दिनुभएको छ । “घटनाको प्रकृति हेर्दा विभत्स तरिकाले हत्या गरिएको देखिन्छ । यसप्रति गम्भीर अनुसन्धान गर्न जरुरी छ”, उहाँले भन्नुभयो, “जिल्लाबाट डिएसपीको नेतृत्वमा खटिएका टोलीले अनुसन्धान गरिरहेको छ । आशा छ तत्कालै दोषी पत्ता लागेर कानूनी दायरामा आउँछ ।”
अन्डरवेर पाखामा भेटिए पनि शव भने लुगा लगाएको अवस्था देखिएको घटनास्थलमा पुगेका प्रत्यक्षदर्शीहरुले बताएका छन् । घटनाअघि तिरतिरेधाराबाट अपरान्ह ४ः५३ बजेतिर रेश्मिका र श्रीमानबीच फोन सम्पर्क भएको जनाइएको छ । त्यसको केही समयपछि रातामाटाबाट जङ्गलतर्फ जानेबेला रेश्मिकाको पारपानीका आफन्तसँग भेट भएको थियो । त्यो भेटमा रेश्मिका ‘डराएको हाउभाउ’मा देखा पर्नुभएको जनाइएको छ ।
रेश्मिकाको बलात्कारपछि हत्या भएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङका पूर्वअध्यक्ष एवम् स्थानीयवासी रामप्रसाद दंगालले अपराधी पत्ता लगाएर कानूनी कारबाही गर्न सामाजिक सञ्जालमार्फत माग गर्नुभएको छ । सामुदायिक वनमा शङ्कास्पद अवस्थामा मृत फेला पर्नुभएकी रेश्मिकाको श्रीमान र एक छोरी छन् ।


