खोटाङ, १९ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले यही भदौ–२६ र २७ गते दिक्तेल बजारमा शैक्षिक नीतिका विषयमा अन्तरक्रियामूलक गोष्ठी आयोजना गर्ने भएको छ । अखिल (क्रान्तिकारी) जिल्ला कार्यसमिति खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बूले संयुक्तरुपमा ‘नेपालको वर्तमान शैक्षिक नीति र अखिल (क्रान्तिकारी)को भूमिका विषयक अन्तरक्रियामूलक गोष्ठी–२०८२’ आयोजना गर्ने भएको हो ।
शिक्षा क्षेत्रमा देखिएका चुनौती, अवसर र सुधारका उपायबारे खुलेर बहस गर्ने र व्यवहारिक निष्कर्षमा पुग्ने उद्देश्यले संयुक्तरुपमा दुई दिने अन्तरक्रियामूलक गोष्ठी आयोजना गर्न लागिएको अखिल (क्रान्तिकारी) खोटाङका जिल्ला अध्यक्ष डार्विन चाम्लिङले जानकारी दिनुभएको छ । तीन जिल्लाका विद्यार्थी तथा शैक्षिक अभियान्ताहरुको सहभागिता रहने गोष्ठीमा केन्द्रीय समितिले नेपालको वर्तमान शैक्षिक नीति र हाम्रो धारणा, सङ्गठनका पूर्व केन्द्रीय अध्यक्षबाट विद्यमान शैक्षिक समस्या र समाधान तथा आयोजक जिल्ला कार्यसमितिहरुले शोधखोजमूलक शिक्षाका लागि अखिल (क्रान्तिकारी)को अभियान नामक कार्यपत्र प्रस्तुत हुने अखिल क्रान्तिकारीले बिहीबार दिक्तेलस्थित शहीद दिलकाजी–ठूलकुमार स्मृति भवनमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
सङ्गठनका केन्द्रीय अध्यक्ष विजयप्रकाश शर्मा सापकोटाको प्रमुख आतिथ्यतामा हुन लागेको अन्तरक्रियतामूलक गोष्ठीमा शोधकर्ता प्रकाश खातिवडा, विद्यार्थी नेता प्रतीक कार्की र शैक्षिक अभियान्ता सूर्यबहादुर राईले कार्यपत्रमाथि टिप्पणी गर्नुहुने अखिल क्रान्तिकारीका प्रदेश सचिव आदेश थापाले जानकारी दिनुभएको छ । शैक्षिक आन्दोलनलाई सुदृढ बनाउन अखिल (क्रान्तिकारी)ले खेलेको ऐतिहासिक र वर्तमान भूमिकाका बारेसमेत खुला छलफल गरिने आयोजक अखिल क्रान्तिकारीले जनाएको छ ।
तीन जिल्लाका विद्यार्थी तथा शैक्षिक गुणस्तर सुधारका लागि लामो समयदेखि शिक्षा क्षेत्रमा सक्रिय रहेका शैक्षिक अभियान्ताहरु सहभागी हुने अन्तरक्रियामूलक शैक्षिक गोष्ठीले राष्ट्रिय शैक्षिक नीतिमा विद्यार्थीको आवाज प्रतिबिम्बित हुने विश्वास लिइएको आयोजकले दाबी गरेको छ । दिक्तेलस्थित समिक्षलय हलमा आयोजना हुने अन्तरक्रियात्मक शैक्षिक गोष्ठी समापनको अवसरमा अखिल क्रान्तिकारी खोटाङले गत जेठ–२० र २१ गते आयोजना गरेको प्रस्ताव लेखन कार्यक्रममा सहभागी प्रशिक्षार्थीमध्ये सर्वोत्कृष्ट हुने विद्यार्थी भीषण कार्कीलाई नगद रु पाँच हजारसहित प्रमाणपत्र प्रदान गरिने अखिल क्रान्तिकारी खोटाङका उपाध्यक्ष लक्ष्मी राईले जानकारी दिनुभएको छ ।


