–मिनाक्क्षी राई
खोटाङ, १९ भदौ । नेपाल रेडक्रस सोसाइटीको ६३ औँ स्थापना दिवसको अवसरमा खोटाङमा बिहीबार आयोजित रक्तदान कार्यक्रममा जिल्लाका ८० जना रक्तदाताले रगत दान गरेका छन् । युवा रेडक्रस सर्कल (युरेस) दिक्तेल बहुमुखी क्याम्पस दिक्तेल र जुनियर रेडक्रम सर्कल (जुरेस) सुर्केडाँडा आधारभूत विद्यालय बाम्राङको संयुक्त आयोजनामा दिक्तेलबजारस्थित रत्नपार्कमा आयोजित रक्तदान कार्यक्रममा ८० जना रक्तदाताले एक÷एक पिन्ट रगत दान गरेका हुन् ।
कार्यक्रममा रक्तदाताले दान गरेका रगतमध्ये पाँच पिन्ट दिक्तेलस्थित रक्त सञ्चार केन्द्रमा राखिएको र बाँकी ७५ पिन्ट भक्तपुर ब्लड बैङ्क पठाइएको युरेस दिक्तेल बहुमुखी क्याम्पसका अध्यक्ष आयुष राईले जानकारी दिनुभएको छ । रत्नपार्कमा बिहान आठ बजेदेखि सुरु गरिएको कार्यक्रममा १४ जना महिला र ६६ जना पुरुषले रक्तदान गरेका छन् ।
रत्नपार्कमा आयोजित रक्तदान कार्यक्रममा भक्तपुर ब्लड बैङ्कका चार जना, दिक्तेल रक्त सञ्चार केन्द्रका तीन जना र फेमेली केयर अस्पतालका एक जना स्वास्थ्यकर्मी खटिनुभएको सुर्केडाँडा आधारभूत विद्यालयका शिक्षक नायक भूपाल राईले जानकारी दिनुभएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङको समन्वयमा रक्तदान कार्यक्रम गरिएको हो ।
‘मानवताको पक्षमा’ भन्ने नाराका साथ युरेस र जुरेस खोटाङले संयुक्तरुपमा बिहीबार आयोजना गरेको रक्तदान कार्यक्रममा सङ्कलन भएको रगत जिल्लामा हालसम्मकै बढी भएको दाबी गरिएको छ । जुरेस सुर्केडाँडा आधारभूत विद्यालयका अध्यक्ष नवीन दाहालको अध्यक्षता तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राईको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङका सभापति ज्ञानेन्द्र जोशी, जिल्ला प्रहरी कार्यलय खोटाङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुथाकोकी ,शैक्षिक अभियान्ता सूर्य राई, नेपाली काँग्रेस खोटाङकी नेत्री डिल्लीकुमार आचार्य, युवा नेता सञ्जयकुमार राई, फेमेली केयर हस्पतालका अध्यक्ष जयप्रसाद राई ‘जेपी’लगायतको उपस्थिति रहेको थियो ।


