सुमो चालकमाथि भरुवा बन्दुक ताक्ने काँग्रेस नेता राईबिरुद्ध डाँका उद्योग मुद्धा दर्ता

Halesi Khabar

खोटाङ, १८ भदौ । नेपाली काँग्रेस खोटाङका जिल्ला सदस्य श्यामकुमार राईबिरुद्ध डाँका उद्योग सम्बन्धी मुद्धा दर्ता भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीबाट दिक्तेलतर्फ आउँदै गरेको ना १ ज ४३७२ नम्बरको सुमोलाई भदौ–१६ गते बिहान आफ्नै घर अगाडि रोकेर चालक सविन तामाङमाथि बन्दुक ताकेको आरोपमा नेता राईबिरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय खोटाङमा मुद्धा दर्ता भएको हो ।

काँग्रेस नेता राईले आफूहरुले दिक्तेल–खार्मी सडक मर्मत गरेको भन्दै जबरजस्ती सहयोग रकम माग गर्दै आफूमाथि भरुवा बन्दुक ताकेर ज्यान मार्ने प्रयास गरेकाले कानूनी कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय खोटाङमा मुद्धा दर्ता गराएको चालक तामाङले बताउनुभएको छ । खार्मीस्थित बाँझोबारी घर भएका नेता राईले आफ्नै घर अगाडि सडकमा बाँस तथा मुढा तेर्साएर सडक अवरोध पार्दै आक्रमणको प्रयास गरेको भिडियो क्लिप्समा देखिएको छ ।

चालक तामाङलाई ताकेको भरुवा बन्दुक नेता राईकै श्रीमती टीकामाया राई लगायतले खोसेको सोही सुमोमा सवार यात्रु खार्मीस्थित तुर्खाका दिलिप राईले बताउनुभएको छ । नेता राईले भदौ१५ गते आइतबारसमेत यात्रु लिएर दिक्तेल जाँदै गर्दा आफूलाई पैसा मागेको चालक तामाङले आरोप लगाउनुभएको छ ।

नेता राईको अवरोधकाबीच आइतबार काठमाडौँ जाने यात्रुलाई समयमै दिक्तेल पु¥याउनुपर्ने भएकाले सुमो भगाएर गाउँ पार गराएको चालक तामाङले बताउनुभएको छ । खार्मीमा भएको घटनापछि बीच बाटोसम्म आफ्नो भाइलाई बोलाएर यात्रुसहितको सुमो दिक्तेल ल्याएको चालक तामाङले जानकारी दिनुभएको छ ।

नेता राईले भदौ–१५ गते अर्का सुमो चालक जीवन कार्कीबाट भने, रु तीन हजार रकम असुलेको यातायात व्यवसायीहरुले बताएका छन् । चालक तामाङकै पछि–पछि गुडिरहेको ना १ ज ८१६९ नम्बरको सुमो चालक कार्कीबाट नेता राईले आफ्नै घर अगाडि रोकेर रकम लिएको बुझिएको छ ।

घटना लगत्तै चालक तामाङले अस्थायी प्रहरी चौकी खार्मीमा भिडियो क्लिप्ससहित आफूहरुलाई खबर गर्नुभएको प्रहरीले जनाएको छ । घटनास्थल अर्थात् नेता राईको घरमा टोली पुग्दा घरमा ताला लगाइएको पाइएको प्रहरी चौकीका प्रमुख वरिष्ठ हवल्दार बिन्द्रबहादुर नेपालीले जानकारी दिनुभएको छ ।

खार्मीमा भएको घटनाका आरोपित काँग्रेस नेता राईबिरुद्ध डाँडा उद्योग सम्बन्धी कसूरमा मुद्धा दर्ता गरेर पक्राउ गर्नका लागि प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढोथोकीले बताउनुभएको छ । मुद्धा दर्ता हुनुअघि नै घटनाका बारेमा जानकारी आउनासाथ जिल्लाबाट प्रहरी टोली परिचालन गरेर नेता राई दम्पतीको खोजिकार्य सुरु गरिएको प्रहरीले जनाएको छ ।

खार्मीमा भएको घटनामा संलग्न दोषीलाई तत्काल पक्राउगरी कानूनी कारबाही गर्न खार्मीका वडाध्यक्ष ईखबहादुर राईले सामाजिक सञ्जाल फेसबुकमार्फत आग्रह गर्नुभएको छ । घटनाको विषयमा बुझ्न नेता राईलाई सम्पर्क गर्दा उहाँले प्रयोग गर्दै आउनुभएको मोबाइल स्वीच अफ रहेको पाइएको छ ।

काँग्रेस नेता राईले मादक पदार्थ सेवन गरेर यसअघि पनि गाउँमा अशान्ति सिर्जना गर्दै आउने गरेको स्थानीयले बताएका छन् । नेता राई खार्मीस्थित जालपा आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्षसमेत रहेका छन् ।

नेता राईलाई तत्काल पक्राउगरी कानूनी कारबाही गर्न जिल्लास्थित १४ वटा यातायात व्यवसायी सङ्घ÷संस्थाले माग गरेका छन् । खोटाङ यातायात, पूर्वखोटाङ यातायात, तुवाचुङ मारतिका यातायात, खोटाङ कालिका यातायात, पब्लिक मध्यपहाडी यातायात, हलेसी खोटाङ यातायात, दिक्तेल यातायात, यलम्बर सुम्निमा यातायात, यलम्बरहाङ अटो सेवा, शुभ खोटाङ यातायात, नेपाल यातायात स्वतन्त्र मजदुर युनियन र अखिल नेपाल यातायात मजदुर सङ्घ खोटाङले मङ्गलबार संयुक्त विज्ञप्ति जारी गर्दै दोषीलाई तत्काल पक्राउ गरेर कारबाही गर्न माग गरेका हुन् ।

आगामी दिनमा जबरजस्ती चन्दा असुली भइरहे जिल्लामा यातायात व्यवसाय चलाउन समस्या हुने भन्दै उनीहरुले नेपाल सरकारको ध्यानाकर्षणसमेत गराएका छन् । उनीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै यातायात मजदुरको जीवन रक्षाका लागि सम्बन्धित निकायसमक्ष मागसमेत गरेका छन् ।

नेता राईबिरुद्ध दर्ता भएको मुद्धामा दोषी ठहर भएको खण्डमा पाँच वर्षदेखि दश वर्षसम्म कैद सजाय तथा रु ५० हजारदेखि रु एक लाखसम्म जरिवाना हुने मुलुकी अपराध संहित २०७४ को दफा २४४ मा उल्लेख । नेता राईबिरुद्ध हातहतियार तथा खरखजना सम्बन्धीसमेत मुद्धा चल्ने प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया