दिक्तेल रुपाकोट मझुवागढीमा मासुका लागि राँगापालन कार्यक्रम प्रभावकारी बन्दै

Halesi Khabar

खोटाङ, १८ भदौ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कृषकले दूधको लागि भैँसी पाल्दै आएपनि यसअघिसम्म मासुका लागि व्यवसायिक रुपमा राँगापालन गरेका थिएनन् । यतिबेला भने नगरपालिकाभित्रका कृषकहरुले केही ठाउँमा सामूहिक र केही ठाउँमा व्यक्तिगत रुपमा व्यवसायिक राँगापालन सुरु गरेका छन् ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा पर्ने यो नगरपालिकाले आर्थिक वर्ष २०८१÷८२ मा विनियोजन गरेको रु ४३ लाख बजेटमा कृषक समूह तथा व्यक्तिको २५ प्रतिशत लागत सभागितामा उन्नत जातका राँगा खरिद गरेर वितरण गरेको थियो । तराईबाट खरिद गरेर ल्याइएका उन्नत जातका ४०० वटा राँगामध्ये वडा नं. ३ बाम्राङमा ८३, वडा नं. ४ खाल्लेमा ५९, वडा नं. ५ लफ्याङमा ५२, वडा नं. ७ दोर्पाचिउरीडाँडामा १५ र वडा नं. १५ विजयखर्कमा ४१ वटा वितरण गरिएको नगरपालिकाका पशु शाखा प्रमुख गणेशप्रसाद आचार्यले जानकारी दिनुभएको छ ।

पन्ध्र वडा रहेको यो नगरपालिकाले विनियोजन गरेको बजेट कृषक समूहको खातामा जम्मा गरिदिएपछि समूह आफैले उन्नत जातका राँगा खरिद, ढुवानी तथा वितरण गरेको जनाइएको छ । उत्पादनमुखी कृषि प्रणालीलाई पहिलो प्राथमिकतामा राखेको यो नगरपालिकाले विशेषगरी युवालाई आफ्नै ठाउँमा रोजगारी र आयआर्जनसँग जोड्ने उद्देश्यले उन्नत जातका राँगा वितरण कार्यक्रम तय गरेको हो ।

नगरवासीलाई आफ्नै ठाउँमा स्वरोजगार बनाउँदै राँगाको मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले लागू गरिएको कार्यक्रम प्रभावकारी बन्दै गएको उपप्रमुख विशन राईले बताउनुभएको छ । “हाम्रो नगरपालिकामा अत्यधिकमात्रामा घाँस छ । त्यो घाँस त्यतिकै खेर गइरहेका छन् । खेर गइरहेको घाँसलाई उपयोगमा ल्याउँदै स्थानीयलाई आयआर्जनसँग जोड्न पशु प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेको हौँ” उहाँले भन्नुभयो, “अघिल्लो वर्ष यो कार्यक्रम अन्तरगत ४०० वटा राँगा खरिद गरेर वितरण गरेका थियौँ । कृषकलाई वितरण गरिएको राँगा अहिले रु ६० हजारसम्मको भएको पाइएको छ । यसले नगरवासीको समृद्धिको आधार सिर्जना गरेको छ । आगामी वर्ष यो कार्यक्रमलाई अझै प्रभावकारी बनाउँदै लैजाने योजनामा छौँ ।”

नगरपालिकाको ७५ प्रतिशत अनुदानमा खरिद गरिएको राँगा व्यक्तिलाई समेत प्रदान गरिएको जनाइएको छ । आफ्नै ठाउँमा बसेर व्यवसायिक बन्न चाहनेलाई नगरपालिकाले विभिन्न शीर्षकमा अनुदान दिन थालेपछि नगरवासीसमेत हर्षित भएका छन् ।

राँगा तथा भैँसीपालन कार्यक्रमले प्राङ्गारिक मलसमेत उत्पादन हुने भएपछि तरकारी तथा कृषि उपज उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको नगरपालिकाले जनाएको छ । गत वर्षको नगरसभाबाट पारित नीति तथा कार्यक्रम अन्तरगत नगरपालिकाले कृषिलाई व्यवसायीकरण गर्ने कार्यक्रम अगाडि बढाएको हो ।

जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पशुपालनसँगै केरा, किबी, कागती, सुन्तला, कफी, चिया तथा तरकारीको व्यवसायिक खेतीका लागि कृषकहरुलाई अनुदान उपलब्ध गराउँदै आएको छ । आगामी वर्षदेखि अन्यत्रबाट बिरुवा खरिद गर्न नपरोस् भनेर वडा नं. ६ नेर्पा र वडा नं. १४ बुइपामा कफीका नर्सरी नै स्थापना गरिएको छ ।

नगरपालिकाको लगानीमा दुवै ठाउँ स्थापना गरिएको नर्सरीमा कफीका १७ लाख बिरुवा हुर्कीइरहेका छन् । बाहिरबाट खरिद गरिएको बिरुवाभन्दा आफैले उत्पादन गरेका बिरुवा सस्तो हुने भएकाले पनि कफीको नर्सरी स्थापना गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख तेजप्रकाश जैसीले बताउनुभएको छ ।

नगरपालिकाले स्थापना गरेको दुवै ठाउँका कफीको नर्सरीमा दैनिक ज्यालादारीका करिब १०० जना कामदार खटिएका छन् । कृषिलाई व्यवसायीकरण गर्ने कार्यक्रम अन्तरगत कफीले फल दिन थालेपछि नगरपालिकामा प्रतिवर्ष रु १२ अर्ब रकम भित्रिने आँकलन गरिएको छ ।

समुद्री सतहबाट ८०० देखि एक हजार ६०० मिटरको उचाइमा कफी खेती उपयुक्त मानिन्छ । दिक्तेलको सोल्मा, नेर्पा, दोर्पाचिउरीडाँडा र निर्मलीडाँडामा कफी खेतीको राम्रो सम्भावना देखिएको नगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया