सुमो चालकलाई बन्दुक ताक्ने काँग्रेस नेतालाई कारबाही गर्न १४ यातायात व्यवसायी संस्थाको माग

Halesi Khabar

खोटाङ, १७ भदौ । सुमो चालकमाथि भरुवा बन्दुक ताकेर चन्दा असुली गर्ने नेपाली काँग्रेस खोटाङका सदस्य श्यामकुमार राईलाई तत्काल पक्राउगरी कानूनी कारबाही गर्न यातायात व्यवसायीहरुले माग गरेका छन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका नेता राईले सोमबार बिहान ना १ ज ४३७२ नम्बरको सुमो रोकेर चालक सविन तामाङलाई बन्दुक तेर्साएर रकम मागेको भन्दै उनलाई तत्काल पक्राउगरी कानूनी कारबाही गर्न जिल्लास्थित १४ वटा यातायात व्यवसायीले माग गरेका हुन् ।

नेता राईले खार्मीबाट दिक्तेल आउँदै गरेको ना १ ज ४३७२ नम्बरको सुमो रोकेर चालक तामाङलाई भरुवा बन्दुक देखाएर सहयोग रकम मागेको पाइएको छ । खोटाङ यातायात, पूर्वखोटाङ यातायात, तुवाचुङ मारतिका यातायात, खोटाङ कालिका यातायात, पब्लिक मध्यपहाडी यातायात, हलेसी खोटाङ यातायात, दिक्तेल यातायात, यलम्बर सुम्निमा यातायात, यलम्बरहाङ अटो सेवा, शुभ खोटाङ यातायात, नेपाल यातायात स्वतन्त्र मजदुर युनियन र अखिल नेपाल यातायात मजदुर सङ्घ खोटाङले मङ्गलबार संयुक्त विज्ञप्ति जारी गरी दोषीलाई तत्काल पक्राउगरी कारबाहीको माग गरेका हुन् ।

आगामी दिनमा जबरजस्ती चन्दा असुली भइरहे जिल्लामा यातायात व्यवसाय चलाउन समस्या हुने भन्दै उनीहरुले नेपाल सरकारको ध्यानाकर्षणसमेत गराएका छन् । उनीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै यातायात मजदुरको जीवन रक्षाका लागि सम्बन्धित निकायसमक्ष मागसमेत गरेका छन् ।

चालक तामाङमाथि भएको घटनाको बारेमा जानकारी पाएलगत्तै नेता राईलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिनुभएको छ । घटनापछि नेता राई घरमा ताला लगाएर श्रीमतीसहित सम्पर्कविहीन भएको स्थानीयले बताएका छन् ।

नेता राईले बाँस तथा मुढाहरुले सडक अवरोध पारेर चालक तामाङमाथि आक्रमणको प्रयास गरेको सोही सुमोमा सवार यात्रु खार्मीस्थित तुर्खाका दिलिप राईले बताउनुभएको छ । चालक तामाङलाई ताकेको भरुवा बन्दुक नेता राईकै श्रीमती टीका राई लगायतले खोसेर घटना हुनबाट जोगाएको यात्रुहरुले बताएका छन् ।

नेता राईले आइतबार अर्का सुमो चालक जीवन कार्कीबाट भने, रु तीन हजार रकम असुलेको चालक तामाङले जानकारी दिनुभएको छ । चालक तामाङकै पछि–पछि गुडिरहेको ना १ ज ८१६९ नम्बरको सुमो चालक कार्कीबाट नेता राईकै घर अगाडि नै रोकेर रकम असुलेको बताइएको छ ।

तपाईको प्रतिक्रिया