काँग्रेस नेता श्यामकुमार राईले सुमो चालकमाथि भरुवा बन्दुक तेर्साएपछि…

Halesi Khabar

खोटाङ, १६ भदौ । नेपाली काँग्रेस खोटाङका जिल्ला सदस्य श्यामकुमार राईले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा चालकलाई भरुवा बन्दुक तेर्साउँदै यात्रुसहितको टाटा सुमोलाई रोक्नुभएको छ । खार्मी घर भएका काँग्रेस नेता राईले दिक्तेलतर्फ आउँदै गरेको ना १ ज ४३७२ नम्बरको सुमोलाई आज (सोमबार) बिहान आफ्नै घर अगाडि बन्दुक तेर्साएर रोक्नुभएको हो ।

आफूहरुले सडक मर्मत गरेको भन्दै सहयोग रकम माग गर्दै काँग्रेस नेता राईले बन्दुक तेर्साएको चालक सविन तामाङले बताउनुभयो । चालक तामाङका अनुसार नेता राईले सडकमा बाँस तथा मुढाहरुले सडक अवरोध पारेर आक्रमणको प्रयास गरेको हो ।

चालक तामाङलाई ताकेको भरुवा बन्दुक नेता राईकै श्रीमती टीका राई लगायतले खोसेको सोही सुमोमा सवार यात्रु खार्मीस्थित तुर्खाका दिलिप राईले बताउनुभएको छ । नेता राईले आइतबारसमेत यात्रु लिएर दिक्तेल जाँदै गर्दा आफूलाई पैसा मागेको चालक तामाङले जनाउनुभएको छ ।

नेता राईको अवरोधकाबीच आइतबार काठमाडौँ जाने यात्रुलाई समयमै दिक्तेल पु¥याउनुपर्ने भएकाले सुमो भगाएर गाउँ पार गराएको चालक तामाङले बताउनुभएको छ । सोमबार भएको घटनापछि बीच बाटोसम्म आफ्नो भाइलाई बोलाएर यात्रुसहितको सुमो दिक्तेल पठाएको चालक तामाङले बताउनुभएको छ ।

नेता राईले आइतबार अर्का सुमो चालक जीवन कार्कीबाट भने, रु तीन हजार रकम असुलेको यातायात व्यवसायीहरुले बताएका छन् । चालक तामाङकै पछि–पछि आइरहेको ना १ ज ८१६९ नम्बरको सुमो चालक कार्कीबाट नेता राईकै घर अगाडि नै रोकेर रकम लिएको बुझिएको छ ।

घटना लगत्तै चालक तामाङले अस्थायी प्रहरी चौकी खार्मीमा भिडियो क्लिप्ससहित आफूहरुलाई खबर गर्नुभएको प्रहरीले जनाएको छ । घटनास्थल अर्थात् नेता राईको घरमा टोली पुग्दा घरमा ताला लगाइएको पाइएको प्रहरी चौकीका ईन्चार्ज वरिष्ठ हवल्दार बिन्द्रबहादुर नेपालीले जानकारी दिनुभयो ।

घटनास्थलमा जिल्लाबाट समेत प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढोथोकीले बताउनुभएको छ । जिल्लाबाट खटिएका प्रहरीले नेता राई दम्पतीको खोजिकार्य सुरु गरेको जनाइएको छ ।

खार्मीमा भएको घटनामा संलग्न दोषीलाई तत्काल पक्राउगरी कानूनी कारबाही गर्न वडाध्यक्ष ईखबहादुर राईले सामाजिक सञ्जाल फेसबुकमार्फत आग्रह गर्नुभएको छ । घटनाको विषयमा बुझ्न नेता राईलाई सम्पर्क गर्दा उहाँको ९८४२९०५३९८ नम्बरको मोबाइल स्वीच अफ रहेको पाइएको छ ।

काँग्रेस नेता राईले मादक पदार्थ सेवन गरेर यसअघि पनि गाउँमा अशान्ति सिर्जना गर्दै आउने गरेको स्थानीयले बताएका छन् । नेता राई खार्मीस्थित जालपा आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्षसमेत रहनुभएको छ ।

तपाईको प्रतिक्रिया