खोटाङ, १६ भदौ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र त्रिभुवन विश्वविद्यालयबीचमा आपसी सहकार्य गर्नका लागि पाँच वर्षे समझदारी कायम गरिएको छ । ज्ञान, सीप र नवप्रवर्तनलाई परिचालन गर्दै सार्वजनिक हितमा सेवा गर्ने लक्ष्यका साथ नगरपालिका र त्रिभुवन विश्वविद्यालयबीच आपसी समझदारी कायम गरिएको हो ।
शैक्षिक सहकार्य, प्रयोगात्मक अनुसन्धान र समुदाय केन्द्रित नवप्रवर्तनलाई अघि बढाउने साझा प्रतिवद्धतालाई स्वीकार गर्दै त्रिभुवन विश्वविद्यालयसँग आपसी समझदारी कायम गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले बताउनुभएको छ । नगरपालिका र त्रिविबीचको दुई पक्षीय आपसी सहकार्यको माध्यमबाट वातावरण, कृषि, शिक्षा, जीविकोपार्जन, जलवायु सहनशीलता र नवप्रवर्तनमा जोड दिने मझदारी भएको छ ।
राजधानी काठमाडौँमा आइतबार भएको दुई पक्षीय भेलामा गरिएको पाँच वर्षे समझदारीपत्रमा नगरपालिकाकोतर्फबाट नगरप्रमुख भट्टराई र त्रिविकोतर्फबाट प्राध्यापक डा. केदारप्रसाद रिजालले हस्ताक्षर गर्नुभएको छ । शैक्षिक, अनुसन्धान तथा विकास प्रयासहरुमा सहकार्यका लागि आपसी समृद्ध प्लेटफर्म स्थापना गर्ने, विश्वविद्यालयस्तरीय ज्ञान तथा सीप र समुदायस्तरीय आवश्यकता तथा प्राथमिकताबीचको अन्तर सम्बन्धलाई मजबुद बनाउने, बायो–रेथा अन्तर्राष्ट्रिय सम्मेलनमा सफल सहकार्य सुनिश्चत गर्ने उद्धेश्यका साथ समझदारी कायम गरिएको जनाइएको छ ।
यस्तै, नवप्रवर्तन, क्षमता अभिवृद्धि र प्रमाणमा आधारित नीति निर्माणलाई स्थानीयस्तरमा प्रवद्र्धन गर्ने, ज्ञान आदान–प्रदान तथा प्रविधि हस्तान्तरणमार्फत युवाको संलग्नता, महिलाको सशक्तिकरण र समावेशी सहभागितालाई प्रोत्साहन गर्ने उद्धेश्य राखिएको दुई पक्षीय भेलाले जारी गरेको समझदारीपत्रमा उल्लेख छ । बायो–रेथा अन्तर्राष्ट्रिय सम्मेलन, अनुसन्धान, प्रवर्तन र प्रविधि हस्तान्तरण, क्षमता अभिवृद्धि र तालिम, शैक्षिक संलग्नता र ज्ञान आदान–प्रदान र सामुदायिक विकास तथा नीतिगत सहयोगमा सहकार्य गर्नेगरि समझदारी कायम गरिएको नगरप्रमुख भट्टराईले जानकारी दिनुभएको छ ।


