खोटाङ, १४ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) खोटेहाङ गाउँपालिका कार्यसमितिले जनश्रमदानमार्फत पर्यटकीयस्थलहरुको प्रवद्र्धन सुरु गरेको छ । स्थानीय जनता र माओवादी केन्द्रका नेता तथा कार्यकर्ताबीचको सम्बन्ध सुमधुर बनाउँदै गाउँपालिकाभित्र पर्ने पर्यटकीयस्थलहरुको प्रवद्र्धन गर्ने उद्देश्यले माओवादी केन्द्र गाउँपालिका कार्यसमितिले जनश्रमदान अभियान सुरु गरेको हो ।
जनश्रमदान अभियान अन्तरगत वडा नं. २ वाप्लुखाको कपासेभञ्ज्याङमा निर्माणाधीन राष्ट्रिय विभूति पार्क (उद्यान) र रोक्सिमभञ्ज्याङको सोलढुङ्गा, सुम्निमा–पारुहाङ पार्क र सानो हलेसी गुफा आसपासका क्षेत्रको सरसफाइ तथा वृक्षारोपण सम्पन्न गरिएको माओवादी केन्द्र खोटेहाङ गाउँपालिका कार्यसमितिका अध्यक्ष दिपेन थुलुङले जानकारी दिनुभएको छ । “हाम्रो गाउँपालिकाभित्र प्राकृतिकरुपमै बनेका पर्यटकीयस्थलहरु धेरै छन् । तिनीहरुको प्रवद्र्धन गर्न सकेमा स्थानीय सरकारको आम्दानीको स्रोतसमेत वृद्धि गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “पछिल्लो समय सानातिना कामका लागिसमेत राज्यको मुख ताक्ने प्रवृत्तिको विकास भइरहेको छ । हामीमा श्रम गर्ने बानी हटिसकेको छ । आफ्नो क्षेत्रको सानातिना काम आफै गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्दै पर्यटकीयस्थलहरुको प्रवद्र्धन गर्न जनश्रमदान अभियान थालेका हौँ ।”
माओवादी केन्द्र गाउँपालिका कार्यसमितिले सुरु गरेको जनश्रमदान अभियानमा स्थानीयवासीसमेत स्वतः स्फूर्तरुपमा ८० देखि १०० जनासम्म सहभागी हुने गरेको अध्यक्ष थुलुङले बताउनुभएको छ । जनश्रमदान अभियानका क्रममा पर्यटकीय तथा सार्वजनिकस्थलमा वृक्षारोपण, भत्किएका, बिग्रिएका र झाडीले छोपेका सडक मर्मत, गोरेटो बाटोहरु मर्मत लगायतका काम गरिने जनाइएको छ ।
यही भदौ–५ गतेबाट औपचारिक रुपमा सुरु गरिएको अभियान अन्तरगत रोक्सिमभञ्ज्याङको सोलढुङ्गा, सुम्निमा–पारुहाङ पार्क (उद्यान) र सानो हलेसी गुफा आसपास आन्तरिक तथा बाह्य पर्यटकले जथाभावी फालेका फोहर सङ्कलन गरेर व्यवस्थापन गर्नुका साथै विभिन्न प्रजातिका फलफूलको बिरुवा रोखिएको माओवादी केन्द्रले जनाएको छ । माओवादी केन्द्र गाउँपालिका कार्यसमितिले सुरु गरेको जनश्रमदान अभियानमा खोटेहाङ गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’, वडा नं. ५ चिप्रिङका वडाध्यक्ष किरण राई, वडा नं. ६ इनद्रणीपोखरीका वडाध्यक्ष वसन्त राई ‘पथिक’, कार्यपालिका सदस्यहरु सुशिला राई, कमला विश्वकर्मा, फुर्वा शेर्पा लगायतको सहभागिता रहेको थियो ।
जनश्रमदान अभियानका क्रममा स्थानीय सामुदायिक वनबाट ल्याइएको नेपालको राष्ट्रिय फूल लालीगुराँसका एक हजार तथा सव–डिभिजन वन कार्यालय खोटाङबजारले उपलब्ध गराएको धुपी र सल्लाका बिरुवासमेत रोपिएको जनाइएको छ । जनश्रमदानमार्फत पर्यटकीयस्थलहरुको प्रवद्र्धन गर्ने अभियान गाउँपालिकाभित्रका सबै वडामा सञ्चालन गरिने आयोजक माओवादी केन्द्रले जनाएको छ ।
अभियान अन्तरगत वडा नं. २ वाप्लुखास्थित कपासेभञ्ज्याङमा निर्माणाधीन राष्ट्रिय विभूति पार्क तथा चिया बगानको सरसफाइ एवम् आसपासका क्षेत्रमा वृक्षारोपण गरिएको माओवादी केन्द्रका अध्यक्ष थुलुङले जानकारी दिनुभएको छ । करिब तीन हजार रोपनी क्षेत्रफल ओगटेको सार्वजनिक जग्गामा निर्माणाधीन पार्क आसपासका क्षेत्रमा गुराँस, धुपी, सल्ला तथा विभिन्न प्रजातिका मौषमी फूलका बिरुवा रोपिएको आयोजक माओवादी केन्द्रले जनाएको छ ।
राष्ट्रिय विभूति पार्कमा करिब ४०० को हाराहारीमा लालीगुराँस, धुपी, सल्ला, गुलाब लगायतका बहुवर्षे तथा सोही मात्रामा मौषमी फूलका बिरुवा रोपिएको अध्यक्ष थुलुङले जानकारी दिनुभएको छ । माओवादी केन्द्रले सुरु गरेको जनश्रमदान अभियानका क्रममा रोपिएका फलफूलका बिरुवा हेरचाह, गोडमेल तथा बारबेर गर्ने जिम्मासमेत पार्टीले नै लिएको जनाइएको छ ।
निर्माणाधीन राष्ट्रिय विभूति पार्कमा नेपालका १६ जना राष्ट्रिय विभूतिको अर्धकदको शालिक राख्नेगरि निर्माण सुरु गरिएको पार्क सि आकारको हुने खोटेहाङ गाउँपालिकाद्धारा गठित पर्यटन प्रवद्र्धन समितिले जनाएको छ । स्थानीय बासिन्दाले तीनधारे समेत भनेर चिन्ने उक्त पर्यटकीयस्थलमा छिमेकी जिल्ला भोजपुरको टेम्के मैयुङ गाउँपालिकाको लगानीमा ‘सुम्निमा –पारुहाङ पार्क’समेत निर्माण भइरहेको छ ।
यो पार्क निर्माणका लागि खोटेहाङ गाउँपालिका र टेम्के मैयुङ गाउँपालिकाले सडक निर्माण, खानेपानी, बजार व्यवस्थापन, खेलमैदान तथा पोखरी निर्माण लगायतमा बजेट विनियोजन गरेको थियो । राष्ट्रिय विभूति पार्क निर्माण सम्पन्न नहुँदै आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको स्थानीयले बताएका छन् ।
जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने उक्त गाउँपालिकामा स्थानीय तह, सङ्घ तथा प्रदेश सरकारलेसमेत पर्यटकीयस्थलहरुको प्रवद्र्धनका लागि बजेट विनियोजन गरेर काम गरिरहेको छ । तीनवटै तहका सरकारको लगानीमा वडा नं. ६ इन्द्रेणीपोखरीस्थित पर्यटकीयस्थल इन्द्रेणीपोखरीमा बहुसांस्कृति पार्क (उद्यान) निर्माण गरिएको छ ।
बहुसांस्कृतिक पार्कमा स्थापना गरिएको मगर समुदायको प्रतीक चिह्न खुर्पेटो (घोरप्याक)को प्रतिमाले आन्तरिक तथा बाह्य पर्यटकलाई निक्कै आकर्षित गरेको छ । सङ्घ, प्रदेश स्थानीय सरकारको लगानीमा इन्द्रेणीपोखरीस्थित निर्माणाधीन बहुसांस्कृतिक पार्कमा स्थापना गरिएको मगर समुदायको प्रतीक चिह्न खुर्पेटोको प्रतिमा वडा कार्यालय इन्द्रेणीपोखरीको लगानीमा निर्माण गरिएको हो ।


