खोटाङ, १३ भदौ । ऐसेलुखर्क गाउँपालिकाले राजधानी काठमाडौँ र पूर्वी तराईको इटहरीमा सञ्चालन गरेको एकीकृत सेवा शिविर ३२० सेवाग्राहीले सेवा लिएका छन् । काम विशेषले गाउँपालिका बाहिर बसोवास गर्दै आएका नागरिकलाई लक्षित गरि गत साउन–२७ र २८ गते काठमाडौँस्थित चाबहिलको फुजी एकेडेमीमा तथा भदौ–१ र २ गते इटहरीमा एकीकृत सेवा शिविर सञ्चालन गरेको हो ।
शिविरमा सामाजिक सुरक्षाभत्ता बुझ्दै आएका लाभग्राहीको नवीकरण, जन्म, मृत्यु तथा विवाह दर्ता, बसाइँसराइ र राष्ट्रिय परिचयपत्रको कार्ड वितरण गरिएको गाउँपालिकाका प्रवक्ता एवम् वडा नं. ३ ऐसेलुखर्कका वडाध्यक्ष टेकेन्द्र राजभण्डारीले जानकारी दिनुभएको छ । गाउँपालिका प्रमुख गीरेन्द्रबहादुर राई र उपप्रमुख राजेशकुमार राजभण्डारी, वडाध्यक्षहरू र तीन जना वडासचिव शिविरमा खटिनुभएको थियो ।
आफ्ना नागरिकलाई पञ्जीकरण सम्बन्धिका सबै सेवा सहजरूपमा उपलब्ध गराउने गाउँ कार्यपालिकाको निर्णयअनुसार काठमाडौँ र इटहरीमा शिविरको आयोजना गरि सेवा प्रदान गरिएको गाउँपालिका प्रमुख राईले जानकारी दिनुभएको छ । वर्षादको समयमा आफू बसेकै ठाउँमा आएर गाउँपालिकाले सेवा प्रदान गरेपछि लाभग्राहीहरु हर्षित भएका छन् ।
केपिलासगढी गाउँपालिकाले काठमाडौँको सुकेधारास्थित गोर्खाली फिटनेस सेन्टरमा यही भदौ–१० र ११ गते दुई दिने शिविरमार्फत सेवा प्रदान गरेको थियो । शिविरमा ४३ जना महिला तथा ३८ जना पुरुष गरि ८१ जना लाभग्राहीको सामाजिक सुरक्षाभत्ता नवीकरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सौधन राई ‘युनिक साम्पाङ’ले जानकारी दिनुभएको छ ।
दुई दिने शिविरमा ४३ जना सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र वितरण गर्नुका साथै मालपोत कर सङ्कलन गरिएको जनाइएको छ । वडाबाट प्रदान गरिने सिफारिस लगायतका सेवा काठमाडौँमै पाएपछि नागरिकले खुशी व्यक्त गरेका छन् ।
रावाबेँसी गाउँपालिकाले यही भदौ–५ र ६ गते सामाजिक सुरक्षाभत्ता नवीकरण, राष्ट्रिय परिचयपत्र वितरण तथा एकीकृत सेवा प्रवाह शिविर सम्पन्न गरेको छ । शिविरमा ३३८ जना सेवाग्राहीलाई सेवा प्रदान गरिएको पालिकाका पञ्जीकरण शाखाका प्रमुख गिरिराज रानामगरले जानकारी दिनुभएको छ ।
शिविरमा १७४ जनाको सामाजिक सुरक्षाभत्ता नवीकरण, ८१ जनालाई राष्ट्रिय परिचयपत्र वितरण, १३ जनाको जन्मदर्ता, तीन जनाको मृत्युदर्ता, नौँ जोडीको विवाहदर्ता, दुई जोडीको सम्बन्ध विच्छेद, नौँ जनाको बसाइसराइ, पाँच जनाको नागरिकताको सिफारिस, ३८ जनाको सामान्य सिफारिस, एक जनाको नाबालक परिचयपत्र र चार जनाको सामाजिक सुरक्षाभत्ता नयाँ दर्ता गरिएको जनाइएको छ । शिविरमा गाउँपालिका प्रमुख फटिककुमार श्रेष्ठ, उपप्रमुख कौशिला गुरुङ, वडाध्यक्षहरू ज्ञानबहादुर पाण्डे, गेहेन्द्रमान राई, विरेन्द्र मगर, मनकुमार गुरुङ र चिरञ्जीवी कार्की खटिनुभएको थियो ।
गाउँपालिकाले यही भदौ–१४ र १५ गते पूर्वी तराईमा बसोबास गर्ने लाभग्राहीका लागि इटहरीस्थित इटहरी उपमहानगरपालिकाको सभाहलमा दुई दिने शिविरको आयोजना गरेको छ । जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरेर उनीहरू बसिरहेकै ठाउँमा सेवा उपलब्ध गराउने उद्देश्यसहित शिविरको आयोजना गरिएको हो ।
जिल्लाको सबैभन्दा बढी सेवाग्राही रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले काठमाडौँको सिनामङ्गलस्थित होटल जन्मभूमिमा बुधबारदेखि चार दिने शिविर सुरु गरेको छ । काठमाडौँमा सञ्चालन गरिएको शिविरमा वडा नं. २ सोल्माका वडाध्यक्ष ध्रुवबिक्रम राई र वडानम्बर–१४ बुइपाका वडाध्यक्ष दिनेशकुमार राईको समन्वयमा शिविर आयोजना गरिएको हो ।
सामाजिक सुरक्षाभत्ता लिने लाभग्राहीलाई उनीहरु बसिरहेकै ठाउँमा सेवा प्रदान गर्न शिविर आयोजना गरिएको नगरपालिकाका प्रवक्ता एवम् नं. ५ लफ्याङका वडाध्यक्ष दिनेशकुमार घिमिरेले जानकारी दिनुभएको छ । तराईमा रहेका लाभग्राहीका लागि इटहरीस्थित इटहरी उपमहानगरपालिकामा शिविरको आयोजना गरिएको छ ।
यस्तै, इटहरीमा यही भदौ–१६ देखि १९ गतेसम्म सञ्चालन गरिने शिविरमा वडा नं.–९ निर्मलीडाँडाका वडाध्यक्ष दिनेश कठायत र वडा नं. ५ लफ्याङका वडाध्यक्ष एवम् नगरका प्रवक्ता घिमिरेले समन्वय गर्ने जनाइएको छ । काठमाडौँमा आयोजित शिविरमा यो समाचार तयार पार्दासम्म २७८ जना लाभग्राहीको सामाजिक सुरक्षाभत्ता नवीकरण गरिसकिएको सामाजिक सुरक्षा तथा पञ्जीकरण इकाईका फिल्ड सहायक गम्भीर खत्रीले जानकारी दिनुभएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका करिब ६०० भन्दा बढी लाभग्राही काठमाडौँमै रहेकाले चार दिनसम्म शिविर जारी राख्ने निर्णय गरिएको जनाइएको छ । नगरप्रमुख तीर्थराज भट्टराईको उपस्थितिमा काठमाडौँमा सुरु गरिएको शिविरमा लाभग्राहीहरु आफन्तको सहारा लिएर सेवा लिन गइरहेका छन् ।
जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जन्तेढुङ्गा गाउँपालिकाले पनि यही महिना शिविर सञ्चालन गर्ने तयारी गरेको छ । गाउँपालिकाको विभिन्न वडा स्थायी ठेगाना भइ विभिन्न काम विशेषले काठमाडौँ, पूर्वी तराई तथा दक्षिणी क्षेत्रमा बसोबास गरिरहेका नागरिकहरूलाई लक्षित गरि शिविर सञ्चालन गर्ने तयारी गरिएको गाउँपालिका प्रमुख अरुणादेवी राई ‘दिक्षा’ले जानकारी दिनुभएको छ ।
यही भदौ–१६ र १७ गते इटहरीस्थित दुर्गा पाटी प्यालेस ब्याङ्क्वट इटहरी, भदौ–१९ र २० गते उदयपुरको चौदण्डीगढी नगरपालिका बेल्टारस्थित सिटीहलमा र भदौ–२४ र २५ गते काठमाडौँको तीनकुनेस्थित सिद्धार्थ कटेजमा शिविर सञ्चालन गरिने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ । शिविर सञ्चालनका लागि आवश्यक उपकरण तथा कर्मचारीसहित जनप्रतिनिधिहरु काठमाडौँ र पूर्वी तराई पुगेका छन् ।
दश स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीय तहले समेत आ–आफ्ना पालिकाका लाभग्राहीहरु खोजि गरेर सामाजिक सुरक्षाभत्ता नवीकरणको काम गरिरहेका छन् । नेपाल सरकारले जारी गरेको सामाजिक सुरक्षाभत्ता वितरण कार्यविधि २०८२ मा उल्लेख भएको व्यवस्थाअनुसार हरेक लाभग्राहीको बायोम्याट्रिक भेरिफिकेसनसहित प्रत्येक वर्ष नवीकरण गर्नुपर्ने व्यवस्था लागू भएपछि स्थानीय तहहरुले लाभग्राहीहरु खोजिखोजि नवीकरणको काम सुरु गरेका हुन् ।


