दिक्तेल युवा समाजद्वारा धार्मिक तथा ऐतिहासिकस्थल मझुवागढी सरसफाइ

Halesi Khabar

मिनाक्क्षी राई

खोटाङ, ११ भदौ ।  दिक्तेल युवा समाज दिक्तेल खोटाङले धार्मिक तथा पर्यटकीयस्थल कालिका भगवती मन्दिर र किरात ऐतिहासिकस्थल मझुवागढी क्षेत्रमा सरसफाइ गरेको छ । धार्मिक तथा ऐतिहासिकस्थलको सौन्दर्यकरणमा सहयोग गर्ने उद्देश्यले समाजमा आवद्ध युवाले भूगर्भ फोहर व्यवस्थापन प्रा.लि.सँगको समन्वयमा बुधबार कालिका भगवती मन्दिर र मझुवागढी क्षेत्रमा सरसफाइ गरेको गरेको हो ।

तीजमा पूजा आराधना गर्न आएका तीर्थालुले जथाभावी फालेका फोहर हटाउन सरसफाइ गरिएको समाजका अध्यक्ष निक्सन तम्राकारले जानकारी दिनुभयो । सङ्कलित फोहर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रयोग गर्दै आएको लफ्याङस्थित ल्यान्डफिल्ड साइट (फोहर व्यवस्थापन केन्द्र)मा लगेर फालिएको समाजले जनाएको छ ।

दिक्तेल युवा समाजले सरसफाइ कार्यक्रम हरेक दुई हप्तामा एक पटक सञ्चालन गर्ने योजना बनाएको छ । समाजले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का छवटा टोलमा बिरामी बोक्ने स्ट्रेचर वितरण गर्नुका साथै दूरदराजका बिरामीलाई उपचारमा आर्थिक सहयोग गर्दै आएको जनाएको छ ।

तपाईको प्रतिक्रिया