जालपामा प्रदेश सरकारको लगानीमा आधुनिक किसिमको पुस्तकालय भवन निर्माण

Halesi Khabar

खोटाङ, १० भदौ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित जालपा माध्यमिक विद्यालयमा निर्माण गरिएको पुस्तकालय भवन उद्घाटन गरिएको छ । कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री पाँचकर्ण राई ‘पिके’ले आज (मङ्गलबार) औपचारिकरुपमा पुस्तकालय भवनको उद्घाटन गर्नुभएको हो ।

कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको रु २० लाख तथा विद्यालय व्यवस्थापन समितिको रु दुई लाख ३३ हजार ९०० लागतमा पुस्तकालय भवन निर्माण गरिएको प्रधानाध्यापक दिलबहादुर राईले जानकारी दिनुभएको छ । फलामे ट्रसमा इपिएस कोरियन प्यानल प्रयोग गरेर निर्माण गरिएको तीनकोठे पुस्तकालय भवन आधुनिक किसिमको बनेको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।

गत असार–१५ गतेभन्दा अगाडि नै निर्माण सम्पन्न गरिएको पुस्तकालय भवन उद्घाटन गर्न जालपा पुग्नुभएका मन्त्री राईलाई विद्यार्थी तथा अभिभावकले स्वागत गरेका थिए । पुस्तकालय भवन उद्घाटनसँगै जालपाका आमा समूहले आयोजना गरेको तीज विशेष कार्यक्रमलाई सम्बोधन गर्न मन्त्री राई मङ्गलबार जालपा पुग्नुभएको हो ।

प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको पुस्तकालय भवनमा सामुदायिक पुस्तकालयको पुस्तक ल्याएर विद्यालयमा पुस्तकालय सञ्चालन गरिएको प्रधानाध्यापक राईले जानकारी दिनुभएको छ । कक्षा–१२ सम्म अध्ययन÷अध्यापन हुने जालपा माविमा आधुनिक किसिमको भवन निर्माण गरेर पुस्तकालय स्थापना गरिएपछि विद्यार्थीहरुसमेत हर्षित भएका छन् ।

वि.सं. २०१७ सालमा स्थापना भएको जालपा माविमा ३६० विद्यार्थी अध्ययनरत रहेको विद्यालय प्रशासनले जनाएको छ । माध्यमिक शिक्षा परीक्षा (एसइई)को केन्द्रसमेत सञ्चालन गर्दै आएको जालपा माध्यमिक विद्यालयले एसइई तथा कक्षा–१२ को नतिजासमेत राम्रो दिँदै आएको अभिभावकहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया