मिनाक्क्षी राई
खोटाङ, ९ भदौ । फेमेली केयर अस्पतालले दिक्तेल बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई उपचारमा ११ प्रतिशत छुट दिने भएको छ । युवा रेडक्रस सर्कल दिक्तेल बहुमुखी क्याम्पसको पहलमा गरिएको सम्झौताअनुसार विद्यार्थीले औषधि र टिकटबाहेक अन्य उपचार खर्चमा ११ प्रतिशत छुट दिने व्यवस्था मिलाएको हो ।
आर्थिक अवस्था कमजोर रहेका विद्यार्थीलाई आवश्यक प्रमाणपत्रका आधारमा औषधि र टिकटबाहेक अन्य उपचार खर्चमा १५ प्रतिशतसम्म छुट दिने व्यवस्था मिलाइएको युवा रेडक्रस सर्कलका अध्यक्ष आयुस राईले जानकारी दिनुभएको छ । फेमेली केयर अस्पतालका अध्यक्ष जे. पि. राईका अनुसार उक्त छुट दुई वर्षसम्म लागू हुने छ भने यो सम्झौता भविष्यमा पनि निरन्तर लागू हुने जनाइएको छ ।
सम्झौतामा सोमबार क्याम्पस प्रमुख कृष्णबहादुर राईको रोहबरमा अध्यक्ष जे. पि. राई र सर्कल अध्यक्ष आयुस राईले हस्ताक्षर गर्नुभएको छ । सम्झौता कार्यान्वयनमा आएसँगै क्याम्पसमा अध्ययन गर्ने विद्यार्थी तथा आर्थिक रूपमा कमजोर विद्यार्थीलाई राहत मिल्ने अपेक्षा गरिएको अध्यक्ष राईले जानकारी दिनुभएको छ ।


