बैङ्क परिवर्तन हुँदा सामाजिक सुरक्षाभत्ता बुझ्ने लाभग्राहीलाई समस्या

Halesi Khabar

खोटाङ, ९ भदौ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सामाजिक सुरक्षाभत्ता वितरण गर्ने बैङ्क परिवर्तन हुँदा लाग्राहीलाई समस्या भएको छ । सालपा विकास बैङ्कले यसअघि वितरण गर्दै आएको दशवटामध्ये पाँचवटा वडा यस आर्थिक वर्ष २०८२÷८३ देखि छाडेपछि अर्को बैङ्क परिवर्तन गर्नुपर्दा लाभग्राहीहरु समस्यामा परेका हुन् ।

पन्ध्र वडा रहेको यो नगरपालिकामा सालपा विकास बैङ्कले यस आर्थिक वर्षदेखि वडा नं. ५ लफ्याङ, ६ नेर्पा, ७ दोर्पाचिउरीडाँडा, ८ दोर्पाबुवालुङ, १० पाथेका र ११ खार्मी छाडेर वडा नं. १ दिक्तेल, ३ बाम्राङ, १३ नुनथला र १४ बुइपामा मात्रै वितरण गर्ने भएको छ । सालपा विकास बैङ्कले छाडेको वडा नं. ८ दोर्पाबुवालुङ र ११ खार्मीको अहिलेसम्म बैङ्क नै टुङ्गो लागेको छैन ।

वडा नं. ८ दोर्पाबुवालुङमा नविल बैङ्क र वडा नं. ११ खार्मीमा एनआईसी एसिया बैङ्कले सामाजिक सुरक्षाभत्ता वितरणको काम गर्ने भनेर सहमति गरेपनि सम्झौता गर्न नआएको नगरपालिकाले जनाएको छ । गत साउन–१ गते नगरपालिका र बैङ्कबीच भएको सहमतिअनुसार सामाजिक सुरक्षाभत्ता वितरणका लागि सम्झौता गर्न बैङ्कहरु कार्यालयमा नआएपछि भदौ–८ गते (आइतबार) लिखितरुपमा बैङ्कलाई पत्राचार गरिएको नगरप्रवक्ता दिनेश घिमिरेले जानकारी दिनुभएको छ ।

राज्यले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षाभत्ता वितरण गर्ने बैङ्क टुङ्गो नलागेपछि लाभग्राहीहरु खाता खोल्न भनेर दिक्तेल आएपनि त्यसै फर्कन बाध्य बनेका छन् । बैङ्क टुङ्गो लागेका वडाका लाभग्राहीका लागिसमेत नयाँ खाता खोल्न बैङ्कले अनिवार्य राष्ट्रिय परिचयपत्र लागू गरेपछि झनै समस्यामा परेका छन् ।

बैङ्क परिवर्तन तथा राष्ट्रिय परिचयपत्र बनाउनका लागि वृद्धावस्थाका अधिकांश लाभग्राहीहरु गाडी रिजर्भ गरेर दिक्तेल आउने गरेका छन् । रिजर्भ गरेको गाडी लिएर आउँदा पनि समयमा राष्ट्रिय परिचयपत्र नबन्दा काम गर्न नपाएका लाभग्राहीहरु होटलमा बस्नुपर्दा थप समस्यामा परेका छन् ।

पाँचवटा वडाका लाभग्राहीको एकैसाथ बैङ्क परिवर्तन हुँदा दैनिक सयौँ लाभग्राहीको राष्ट्रिय परिचयपत्र भर्नुपर्ने अवस्था आएको जिल्ला प्रशासन कार्यालय खोटाङको राष्ट्रिय परिचयपत्र शाखाका प्रमुख फनिन्द्र राईले बताउनुभएको छ । “राष्ट्रिय परिचयपत्र भर्नका लागि प्रशासनमा एउटामात्र सिस्टम छ । दैनिक सयौँको सङ्ख्यामा लाभग्राहीहरु आउँछन्”, उहाँले भन्नुभयो, “लाभग्राहीको भीड बढेपछि राति नौँ बजेसम्म काम गर्दै आएको छु । कर्मचारी अभावमा खाजा खाने समयसम्म पाउँदिन ।”

राष्ट्रिय परिचयपत्र बनाउनका लागि गाडी रिजर्भ गरेर दिक्तेल आएका लाभग्राहीहरु आफ्नो पालो कुर्न जिल्ला प्रशासन कार्यालय खोटाङको प्यासेज (आवतजावत गर्ने ठाउँ)भरि अलपत्र अवस्थामा बस्ने गरेका छन् । राष्ट्रिय परिचयपत्र बनाउने लाभग्राहीको भीड बढेपछि जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएको म्याट (फर्म) ओछ्याएर बस्ने गरेका छन् ।

राज्यले उपलब्ध गराउँदै आएको सेवा उपभोग गर्नका लागि विभिन्न प्रकारका सास्ती भोग्नुपर्दा आफूहरु हैरानीमा परेको लाभग्राहीहरुले बताएका छन् । जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराउँदै आएको राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा लिनका लागि तीन दिनसम्म कुर्नुपरेको सेवाग्राहीको गुनासो छ ।

जिल्ला प्रशासन कार्यालय खोटाङमा राष्ट्रिय परिचयपत्र भर्ने लाभग्राहीको सङ्ख्या बढेपछि स्टेशन थप गर्ने विषयमा माथिल्लो निकायसँग समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिनुभएको छ । “खोटाङमा राष्ट्रिय परिचयपत्र भर्ने दुईवटा स्टेशन सञ्चालनमा छन् । दिक्तेलमा सञ्चालित स्टेशनमा अहिले निक्कै भीडभाड बढेको छ”, उहाँले भन्नुभयो, “जेष्ठ नागरिक र अपाङ्गता भएका नागरिकलाई दुःख नहोस् भनेर राति अबेरसम्म पनि सेवा उपलब्ध गराउँदै आएका छौँ । राति अबेरसम्म गर्दा पनि सेवाग्राहीको काम नसकिएपछि स्टेशन थप गर्ने विषयमा कुरा अगाडि बढाइएको छ ।”

अपाङ्गता भएका व्यक्ति, ९० वर्षभन्दा माथिका जेष्ट नागरिक र १६ वर्षमुनिका बालबालिकाको लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छैन । तर, सामाजिक सुरक्षाभत्ता तथा बैङ्किङ कारोबारका लागि जिल्लामा सञ्चालित सबै बैङ्कले राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि लाभग्राही समस्यामा परेका छन् ।

सामाजिक सुरक्षाभत्ता वितरण कार्यविधि, २०७७ को दफा (४) बमोजिम लाभग्राहीको विवरण नवीकरण गर्न बायोमेटिक भेरिफिकेशन अनिवार्य गर्नुपर्ने हुन्छ । बायोमेटिक भेरिफिकेशनमा समेत राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि लाभग्राहीहरु थप समस्यामा परेका छन् ।

तपाईको प्रतिक्रिया