खोटाङ, ८ भदौ । झरी, बादल, वर्षा तथा सार्वजनिक बिदासमेत नभनी यतिबेला साकेला गाउँपालिका खोटाङमा जनश्रमदान अभियान सञ्चालन भइरहेको छ । श्रमदान अभियानमार्फत वर्षाले बिगारेको सडक मर्मत, ग्रामीण सडकको नाली सफा गर्ने, सडकको छेउ र भित्तामा पलाएको बोटबिरुवा हटाने, सडक किनारामा फालिएका फोहरमैलाको उचित व्यवस्थापन गर्ने तथा सडक आसपास विभिन्न प्रजातिका फलफूलका बिरुवा रोप्ने लगायतका काम थालिएको हो ।
गाउँपालिका अध्यक्ष रविप्रकाश राईको नेतृत्वमा सञ्चालित श्रमदान अभियानमा स्थानीय नागरिक पनि प्रत्यक्ष जोडिएर सफा र सुन्दर पालिका निर्माण अभियानमा जुटेका छन् । गाउँपालिकामा उपलब्ध जेसिबी र ट्याक्टरको साथमा केही प्राविधिक र कर्मचारीको साथमा दिनहुँ जनश्रमदानमा भेटिनुहुने गाउँपालिका अध्यक्ष राईले साकेला गाउँपालिकालाई नमूना गाउँपालिका बनाउने अभियान चलाउनुभएको छ ।
भौतिक विकासले मात्र परिवर्तन सम्भव नहुने बताउनु हुँदै गाउँपालिका अध्यक्ष राईले सँस्कार र सभ्यताको थालनी स्वरुप पूर्ण सरसफाइको अभियानलाई समेत सँगै हाँकिरहेको बताउनुभएको छ । गाउँपालिका अध्यक्ष राई स्थानीय नागरिकलाई आवतजावतमा सास्ती नहोस भन्ने हेतुले केही कर्मचारीको साथमा कहिले मुख्य त, कहिले शाखा सडक मर्मत गरिरहेको अवस्थामा भेटिनुहुन्छ ।
साप्सुखोला–मानेभञ्ज्याङ–पाँचधारे सडक, बाँझेच्यानडाँडा–रतन्छा–मानेभञ्ज्याङ सडक, कात्तिके–सोस्तुङ–रतन्छा नैनेपाटी सडक लगायत पालिकाभित्रका बजार, पार्क, कार्यालय र सार्वजनिक स्थलहरुको सरसफाइ गर्नुका साथै उक्त स्थानहरुमा विभिन्न प्रजातिका बोटविरुवाहरु रोपिएका छन् । गाउँपालिका अध्यक्ष राईको श्रमदान अभियानमा उपाध्यक्ष बिर्सिका राई र वडाध्यक्षहरुले समेत साथ दिएका छन् ।
अध्यक्ष राईको नेतृत्वमा सञ्चालित श्रमदान अन्तरगत शुक्रबार साकेला गाउँपालिका–३ खिदिमास्थित बोपुङका स्थानीय नागरिकको सक्रियतामा मानेभञ्ज्याङदेखि बोपुङ हुँदै भाङटार जाने सडक सरसफाइ गरिएको छ । स्थानीय नागरिक र कर्मचारीको समूहले सडक सरसफाइ गर्नुका साथै वर्षाका कारण भएको खाल्डाखुल्डी पुर्ने, भित्ता सफा गर्ने, नालीको उचित व्यवस्थापन गर्ने कार्य गरिएको छ ।
लगातारको वर्षाका कारण सडक बिग्रिएर सवारी साधन आवतजावतमानै समस्या देखिएपछि शनिबारदेखि रतन्छाखण्डको सडक सरसफाइ र मर्मत गर्न सुरु गरिएको अभियानमा सहभागी पञ्जीकरण शाखा प्रमुख डिएम चाम्लिङले जानकारी दिनुभएको छ । गाउँपालिकाले स्थापना गरेको आकस्मिक पूर्वाधार सेवाको नीति अनुरुप पालिकावासी नागरिकलाई सहजरुपमा सेवा उपलब्ध गराउन श्रमदान अभियान सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष राईले बताउनुभएको छ ।


