कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ खोटाङको वार्षिक समिक्षा बैठक सम्पन्न

Halesi Khabar

खोटाङ, १ भदौ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ खोटाङको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि समन्वय तथा वार्षिक समिक्षा बैठक सम्पन्न भएको छ । बैठकमा स्वदेशी पूँजी, स्वदेशी सीप र श्रमलाई उच्चतम प्रयोग गर्न तथा चकलाबन्दी खेती गरी बालिमा विविधता ल्याउने प्रमुख उद्देश्यका साथ खोटाङ र उदयपुरमा गत आर्थिक वर्षमा सञ्चालित कार्यक्रमको समिक्षा तथा आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक स्वीकृत कार्यक्रमका बारेमा छलफल भएको छ ।

समन्वय तथा समिक्षा बैठकमा कार्यक्रम कार्यान्वयन एकाइ खोटाङका अध्यक्ष एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले स्वीकृत कार्यक्रमहरू परिणाम निकाल्नेगरी कार्यान्वयन गर्न आग्रह गर्नुभएको छ । परम्परागत तरिकाबाट नभइ नयाँ र वैज्ञानिक शैलि अपनाउनुपर्ने जोड दिनुहुँदै उहाँले परियोजनाको मर्मअनुसार थप व्यवसायीकरण र आत्मनिर्भर कृषिको सबलीकरणमा जोड दिन आग्रह गर्नुभयो ।

कार्यक्रमलाई वास्तविक श्रमजीवि कृषकको पहुँचमा पुग्नेगरी निर्धारण गर्न पनि उहाँले आग्रह गर्नुभएको छ । समृद्धिको मुख्य आधार रूपान्तरित र परिस्कृत कृषि कार्यक्रम भएकाले त्यसलाई उच्च प्राथमिकतामा राख्नुको विकल्प नभएको अध्यक्ष एवम् जिल्ला समन्वय समिति प्रमुख राईले बताउनुभएको छ ।

बैठकमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ खोटाङका सदस्य सचिव डा. चन्दा श्रेष्ठले खोटाङ र उदयपुर जिल्लामा गत आर्थिक वर्ष सञ्चालित कार्यक्रमको गतिविधि, बजेट र खर्चको विवरण र चालू वर्षको कार्यक्रमका वारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ खोटाङमा वि.सं. २०७३ देखि कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

दिक्तेलस्थित होटल शुभदिनमा आयोजित बैठकमा प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, जिल्ला समन्यव समिति खोटाङका उपप्रमुख सुरेशकुमार तामाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई, खोटाङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजनप्रसाद आचार्य, कृषि ज्ञान केन्द्र खोटाङका निमित्त प्रमुख विशाल मोदी, भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रका प्रतिनिधि चन्द्रकिशोर यादव, तरकारी जोन सञ्चालन समन्वय समितिका सदस्य झमप्रसाद आचार्य, बाख्रा जोन सञ्चालन समन्वय समितिका सदस्य योजन बास्तोला लगायतको उपस्थिति थियो । बैठकमा सहभागीहरुले जिल्लामा सञ्चालित कार्यक्रम प्रभावकारी रहेको प्रतिक्रिया दिएका छन् ।

 

तपाईको प्रतिक्रिया