खोटाङमा डेङ्गु र स्क्रबटाईफसको सङ्क्रमण बढ्दै, नियन्त्रण गर्न अभियान चलाइने

Halesi Khabar

खोटाङ, १ भदौ । जिल्ला अस्पताल खोटाङमा डेङ्गु तथा स्क्रबटाईफसको सङ्क्रमण बढ्दै गएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । स्वास्थ्य कार्यालय खोटाङले उपलब्ध गराएको तथ्याङ्कअनुसार गत साउन महिनामा मात्रै १२ जनामा डेङ्गु तथा १४ जनामा स्क्रबटाईफसको सङ्क्रमण देखिएको हो ।

डेङ्गु र स्क्रबटाईफसका सङ्क्रमण देखिएका बिरामीमध्ये दुई÷दुई जनाको जिल्लामा उपचार सम्भव नभएपछि काठमाडौँ रिफर गरिएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवनप्रसाद चौलागाईँले जानकारी दिनुभएको छ । जिल्लाबाट रिफर गरिएका उनीहरु सबैजनाको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको जनाइएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा डेङ्गु तथा स्क्रबटाईफसको सङ्क्रमण दिनानुदिन वृद्धि हुँदै गएपछि जोखिम बढेको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख चौलागाईँले जानकारी दिनुभएको छ । जिल्लाका छ÷छ जना महिला÷पुरुषमा डेङ्गु तथा नौँ पुरुष र पाँच जना महिलामा स्क्रबटाईफसको सङ्क्रमण देखिएको हो ।

डेङ्गु तथा स्क्रबटाईफसका सङ्क्रमण देखिएका कतिपय बिरामी उपचारपछि घर फर्किएका छन् भने, कतिपय उपचाररत रहेको जिल्ला अस्पताल खोटाङका प्रमुख डा. रुपेश सङ्ग्रौलाले जानकारी दिनुभएको छ । “यो समय वर्षेनि डेङ्गु तथा स्क्रबटाईफसका सङ्क्रमित आउने गरेका छन् । जिल्ला अस्पताल खोटाङमा जटिल किसिमका बिरामीको उपचार गर्ने व्यवस्था छैन । यो सङ्क्रमणले प्लेटलेट (रगत उत्पादन गर्ने ग्रन्थी)मा असर गर्छ”, उहाँले भन्नुभयो, “डेङ्गु तथा स्क्रबटाईफसका सङ्क्रमित मात्र नभइ अन्य बिरामीको सङ्ख्यासमेत वृद्धि भइरहेको छ । दैनिक १५० देखि २०० सम्मका बिरामी आउने अस्पतालमा आवश्यक उपकरण र शय्या अभाव हुँदा उपचारमा समस्या भएको छ ।”

जिल्लामा डेङ्गु तथा स्क्रबटाईफसको सङ्क्रमण बढ्दै गएपछि लामखुट्टेको लार्भा खोजिगरी नष्ट गर्न अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ । स्वास्थ्य कार्यालय खोटाङले आइतबार दिक्तेलमा आयोजना गरेको सर्वपक्षीय भेलाले जिल्लाका दशवटै स्थानीय तह, सरकारी तथा गैरसरकारी कार्यालय, सार्वजनिकस्थल लगायतमा लामखुट्टेको लार्भा खोजिगरी नष्ट गर्नका लागि अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

अभियान अन्तरगत भोलि (सोमबार) जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित अस्पताल चोकबाट सचेतनामूलक ¥यालीसहित बजार परिक्रमागरी लामखुट्टेको लार्भा खोजिगरी नष्ट गर्ने निर्णय गरिएको जिल्ला समन्वय समिति खोटाङका प्रमुख एवम् अस्पताल विकास समितिका अध्यक्ष सनबहादुर राईले जानकारी दिनुभएको छ । अस्पताल चोकबाट बिहान ७ः०० बजे सुरु गरिने अभियानमा स्थानीय तहका जनप्रतिनिधि, जिल्लास्थित सबै सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सुरक्षाकर्मी, सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधि, पत्रकार, व्यवसायी लगायतको सहभागिता रहने जनाइएको छ ।

डेङ्गु लामखुट्टेबाट सर्ने रोग भएकाले त्यसबाट बच्न लामखुट्टेको लार्भा नष्ट गर्नु नै उत्तम उपाय भएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । डेङ्गुको सङ्क्रमण भएका व्यक्तिमा आँखाको पछाडि (भित्रि) भाग दुख्नु, वाकवाकी लाग्नु, मांसपेशी, हड्डी तथा जोर्नी दुख्नु, शरीरका ग्रन्थीहरु सुन्निनु, छाला रातो हुनुका साथै छालामा डाबर आउनु जस्ता लक्षण देखिन्छ ।

डेङ्गु रोगको सङ्क्रमण नियन्त्रण गर्न खास उपचार नभएकाले आफै सचेत रहनुपर्ने स्वास्थ्यकर्मीले बताएका छन् । यो रोगको सङ्क्रमण भएमा प्रशस्त पानी र तरल पदार्थ पिउन, सकेसम्म धेरै आराम गर्न, ज्वरो नियन्त्रण गर्नका लागि सिटामोल प्रयोग गर्न स्वास्थ्यकर्मीको सुझाव छ ।

स्क्रबटाईफसको सङ्क्रमणले टाउको दुख्ने, ज्वरो आउने, हात खुट्टा र शरीर दुख्नेजस्ता भाईरल ज्वरोसँग मिल्दोजुल्दो लक्षण देखिने जनाइएको छ । माइट (किरा)को टोकाइबाट सर्ने यो रोगको उपचारमा ढिला भए जोखिम हुने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया