खोटाङ, ३० साउन । जिल्ला १२ ठेगाना दिइएकी ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरस्थित आम्बोटेका ३७ वर्षीय सुमन राई पक्राउ परेका छन् । साङ्केतिक नाम चार (४) राखिएकी ती महिला आफ्नै घरमा सुतिरहेको अवस्थामा शुक्रबार राति २ः१५ बजेको समयमा आएर जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले सुमनलाई घटनास्थलबाटै पक्राउ गरेको हो ।
विवाहित महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका सुमनलाई जिल्ला प्रहरी कार्यालय खोटाङको हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सुशान्त मिश्रले जानकारी दिनुभएको छ । “पीडित भनिएकी महिलाले दिएको जानकारीको आधारमा अस्थायी प्रहरी चौकी खार्मीले आरोपित सुमनलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय खोटाङलाई बुझाएको छ । विवाहित अवस्थाका आरोपित सुमनलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरेका छौँ”, उहाँले भन्नुभयो, “पीडितको तर्फबाट सुमनबिरुद्ध किटानी जाहेरीसमेत परेको छ । शुक्रबार राति जाहेरी प्राप्त भएकाले दर्ता गरिएको छैन । भोलि शनिबार भएकाले आइतबार कार्यालय समयमा दर्ता गरेर थप कारबाहीको प्रक्रिया अगाडि बढाउँछौँ ।”
छिमेकी गाउँमा आएर बास बसेका सुमनले राति मादक पदार्थ सेवन गरेको झोँकमा सुतिरहेको ठाउँमा आएर आफूमाथि जबरजस्ती करणी गरेको पीडित महिलाले बताएकी छन् । “म छोराछोरीकी आमा हुँ । मेरो श्रीमान् विदेशमा हुनुहुन्छ । दिनभरी खेतबारीको काम गरेर म थाकेकी थिएँ । छोराछोरीसँगै बेलुकीको खाना खाएर सबैजना सुतेका थियौँ”, उनले भनिन्, “गहिरो निन्द्रामा भएको मौका छोपेर सुमनले ममाथि जबरजस्ती करणी ग¥यो । करणी गरिरहेको थाहा पाएपछि छोराछोरीलाई बोलाएँ । सुमन मातेको अवस्थामा भएकाले छोराछोरीको साथ लिएर नियन्त्रण लियौँ । बिना चिनजानका व्यक्तिले आफूमाथि जबरजस्ती करणी गरेपछि कानूनी कारबाहीका लागि प्रहरीलाई बुझाएका छौँ ।”
दिउँसो सेवन गरेको मादक पदार्थले छोडेपछि भाग्न लागेका सुमनलाई छिमेकीको साथ लिएर घरदेखि केही पर पुगेको अवस्थामा नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेको पीडित महिलाले बताएकी छन् । “प्रहरी घटनास्थलमा आउनुअघि सुमनले पटक–पटक आफूमाथि अश्लिल शब्द प्रयोग गर्दै आक्रमणको प्रयास गरेको थियो । घटना रातिकै समय भएपनि छिमेकीहरु सबैजना भेला भएकाले सुमनले उब्ज्याएको कोदालो लगायतका हतियार खोस्न सफल भयौँ”, उनले भनिन्, “म परिवार भएको मान्छेमाथि सुमनबाट जघन्य अपराध भएको छ । दोषीमाथि कडाभन्दा कडा कारबाही हुनुपर्छ ।”
पीडित भनिएकी महिलालाई शुक्रबार नै प्रहरीको गाडीमार्फत जिल्ला झिकाएर साँझ जिल्ला अस्पताल खोटाङमा स्वास्थ्य परीक्षण गरेपछि आफन्तको जिम्मा लगाइएको सूचना अधिकारी मिश्रले जानकारी दिनुभएको छ । पीडित भनिएकी महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
जबरजस्ती करणीका घटना गाउँमै मिलापत्र गराउन सुमनका आफन्तबाट आफूहरुमाथि पटक–पटक दबाब आएको पीडित महिलाका आफन्तले बताएका छन् । जबरजस्ती करणी जस्तो जघन्य घटनालाई गाउँमै मिलापत्र गराउन दबाब दिनेहरुमाथि समेत कारबाही हुनुपर्ने पीडित महिलाका आफन्तहरुको माग छ ।


