खोटाङ, २८ साउन । साउनेझरी । कुहिरोले ढपक्कै ढाकिएको दिक्तेलबजार । अटिनअटी मान्छेको भीड । ढोल र झ्याम्टाको तालसँगै नाचिरहेका लाखे । नेवार समुदायले परम्परागतरुपमा लगाउँदै आएका एकै किसिमको पहिरणमा सजिएका कलाकारको रोपाइँ नृत्य, ठाकठुके (लाठी) नाच, प्रहसन र साँगीतिक कार्यक्रमले दिनभर दर्शकलाई भरपुर मनोरञ्जन दिलाएका थिए ।
नेवार समुदायको महान चाड लाखेजात्राको अवसर पारेर आज (साउन–२८ गते बुधबार) दिक्तेलबजार सामाजिक गुठी खोटाङको निमन्त्रणामा जिल्लाका विभिन्न दश ठाउँबाट आएका नेवार समुदायले संयुक्तरुपमा लाखेजात्रा प्रदर्शन गरेका थिए । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारको रत्नपार्कबाट सुरु गरिएको लाखेजात्रा प्रदर्शनी कार्यक्रममा दिक्तेल, खाल्ले, सोल्मा, बुइपा, राजापानी, खार्मी, जालपा, निर्मलीडाँडा, दोवेला र अर्खौलेका लाखे टोलीले आ–आफ्नो ठाउँ विशेषको कला प्रदर्शन गरेका थिए ।
नेवार समुदायका युवायुवतीमात्र सहभागी हुने लाखेजात्रामा यस वर्ष जिल्लाका गैंरनेवार समुदायका युवायुवतीसमेत स्वतः स्फूर्तरुपमा उल्लासका साथ सहभागी भएका थिए । गैंरनेवार समुदायका युवायुवतीले समेत नेवारी परम्परागत पहिरण हाकुपाटसी तथा दौरासुरुवाल र भातगाउँले टोपी लगाएका थिए ।
गठेमङ्गलबाट विधिवत् रुपमा सुरु गरिएको लाखेजात्रा कृष्णजन्माष्टमीको भोलिपल्ट रथयात्रा परिक्रमा गराएर औपचारिक रुपमा समापन गर्ने चलन छ । यसबीचमा गाईजात्राको दिन वर्षभरि दिवङ्गत भएका आफन्तलाई श्रद्धाञ्जलि, रोपाइँ जात्रा, हिले जात्रा तथा विभिन्न साँस्कृति प्रस्तुतिहरु प्रदर्शन गर्ने गरिएको आयोजक दिक्तेल बजार सामाजिक गुठीका कोषाध्यक्ष इन्द्र कसजूले जानकारी दिनुभएको छ ।
दिक्तेल बजारमा मनाइने लाखेजात्राको मुख्य आकर्षण भने, मुकुण्डोधारी लाखे नाच मानिएको छ । ढोल, झ्याम्टाको तालमा जातीय सँस्कृति तथा परम्पराहरुको नक्कल गर्दै मुकुण्डोधारी लाखे नाचसहित सहभागी सबैले नाच्ने र रमाइलो गर्छन् ।
लाखेजात्राको अवसरमा लाखे बन्ने व्यक्तिले केही दिन अघिबाटै शुद्ध खानेकुरा खाएर बस्ने चलन रहेको नेवार समुदायले बताएका छन् । लाखेसँगै अघिपछि हुँदै नाच्ने धतुवारेले दर्शकलाई थप मनोरञ्जन गराउने गर्दछ । लाखेजात्रालाई नेवार समुदायले विशेष महत्वका साथ मनाउने गरेका छन् ।
लाखेजात्राले साँस्कृतिक, धार्मिक महत्वसँगै नेवार र गैंरनेवार समुदायबीच आपसी सद्भाव, भाइचारा तथा भातृत्व कायम गरेको दिक्तेलबजार सामाजिक गुठी खोटाङका अध्यक्ष विष्णुकुमार श्रेष्ठ ‘स्याण्डे’ले बताउनुभएको छ । “लाखेजात्रामा नेवार समुदायका घरपरिवार तथा आफन्तजन जमघट हुने र दुःखसुखका कुरा आदानप्रदान गर्ने चलन छ । यो चाड वर्षमा एक पटकमात्र मनाउने गरिन्छ”, उहाँले भन्नुभयो, “पछिल्लो समय नेवार समुदायमात्र नभइ आफन्तजन, इष्टमित्र, साथीभाइ लगायत भेला भएर मिष्ठान्न भोजन गर्ने तथा आपसमा रमाइलो गर्ने प्रचलन बढेकाले झनै लोकप्रिय बन्न पुगेको छ । यसले आपसी सद्भाव, भाइचारा र भातृत्वसमेत कायम गरेको छ ।”
लाखेजात्राको अवसरमा नेवार समुदायको प्रत्येक घरमा पितृ पूजाआजा गर्नुका साथै नेवारी परिवार बनाएर खाने चलन छ । अध्ययन, रोजगारी तथा विभिन्न पेशा÷व्यवसायका क्रममा घरदेखि टाढा बसोबास गर्दै आएका परिवारका सदस्यहरु पनि लाखेजात्राको अवसरमा आफ्नो घर आएर तथा एक ठाउँ भेला भएर रमाइलो गर्छन् ।
अन्य चाडभन्दा विशेष तरिकाले मनाइने लाखेजात्रा कृष्णाष्टमीको भोलिपल्ट रथयात्राले बजार परिक्रमा गरेर कृष्ण मन्दिर तथा नजिकको देवालयमा गएर विधिवत् रुपमा समापन गर्ने चलन रहिआएको जनाइएको छ । नेवार समुदायको महान चाड लाखेजात्राले जिल्लामा व्यापार÷व्यवसायलाई समेत सघाउ पुग्ने गरेको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यले बताउनुभएको छ ।
लाखेजात्रा हेर्ने बहानामा गाउँगाउँबाट आउने दर्शकले यतिखेर दिक्तेल बजारको चहलपहल निक्कै बाक्लिएको छ । दिक्तेल बजारमा सञ्चालित होटल तथा पसलमा किनमेल गर्नेको सङ्ख्या अन्य समयभन्दा दोब्बर वृद्धि भएको व्यवसायीहरुले बताएका छन् ।
नेवार समुदायको लाखेजात्रा दिक्तेल, खाल्ले, सोल्मा, खार्मी, जालपा, बुइपा, राजापानी, दोर्पाचिउरीडाँडा, दोर्पादोवेला, हौँचुर, लामीडाँडा, ऐसेलुखर्क, राखाबाङ्देल, खोटाङबजार, चिसापानी, सिम्पानी, बराहपोखरी, फाक्टाङ, पञ्चमी बजार लगायत जिल्लाका २७ ठाउँमा विशेष कार्यक्रमका साथ मनाउने गरिएको छ । लाखेजात्राअन्तरगत गाईजात्राको दिन जिल्लाका स्थानीय तहहरुले सार्वजनिक बिदासमेत दिने गरेका छन् ।


