खोटाङ, २८ साउन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका आगलागीपीडित वृद्धावस्थाका तामाङ दम्पतीका लागि घर निर्माण गर्न आर्थिक सहयोग उपलब्ध गराइएको छ । यही साउन–१८ गते बेलुका अगेनाबाट सल्किएको आगोले घर तथा घरमा भएका सम्पूर्ण सामग्री गुमाएर बिचल्लीमा पर्नुभएका ७० वर्षीय जितबहादुर र ७१ वर्षीया सुकुमाया स्याङ्तान तामाङ दम्पतीका लागि नयाँ घर निर्माण गर्न रु सात लाख ७५ हजार ५७७ आर्थिक सहयोग उपलब्ध गराइएको हो ।
वर्षाद्को पानीले भिजेको डोको अगेनामा सुकाउनेक्रममा डोकोबाट सल्किएको आगोले तामाङ दम्पतीको फुसको छाना भएको दुईतले घर तथा घरमा भएका सामग्री पूर्णरूपमा जलेर नष्ट हुँदा रु १३ लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । घर तथा घरमा भएका सम्पूर्ण सामग्री जलेर नष्ट भएपछि बिचल्लीमा पर्नुभएका तामाङ दम्पतीका लागि नयाँ घर निर्माण गर्न साउन–१९ गते बसेको स्थानीयवासीको भेलाले नुनथलाका निर्वाचित वडा सदस्य तारादेवी तामाङको संयोजकत्वमा आर्थिक सहयोग सङ्कलन समिति गठन गरिएको थियो ।
आर्थिक सहयोग सङ्कलन समितिको संयोजनमा स्थानीयवासीबाट सङ्कलन भएको रु दुई लाख २८ हजार ८३५, नुनथलाका स्थानीयवासी एवम् सामाजिक अभियान्ता सुन्दर तामाङको बैङ्क खातामा जम्मा भएको रु पाँच लाख ४१ हजार ७४२ तथा पत्रकार सूर्य तामाङले प्रदान गर्नुभएको रु पाँच हजार सहयोग रकम आज (बुधबार) आगलागीपीडित तामाङ दम्पतीलाई हस्तान्तरण गरिएको छ । अभियानमा सङ्कलित रकम नुनथलाका वडाध्यक्ष भगेश्वर राई र सामाजिक अभियान्ता तामाङले आगलागीपीडित तामाङ दम्पतीको घरैमा लगेर संयुक्तरुपमा हस्तान्तरण गर्नुभएको हो ।
आर्थिक सहयोग रकम हस्तान्तरण कार्यक्रममा आर्थिक सङ्कलन अभियानमा सहभागी दाताहरुको नामावलीसमेत सार्वजनिक गरिएको थियो । आर्थिक सङ्कलन अभियानमा नुनथलामा जन्मिएर रोजगारी तथा अध्ययनको सिलसिलामा विभिन्न देशमा रहनुभएकाहरुले सबैभन्दा बढी सहयोग उपलब्ध गराउनुभएको जनाइएको छ ।
आगलागीपीडित तामाङ दम्पतीका लागि नयाँ घर निर्माण गर्न अझै पनि सहयोग रकम जम्मा हुनेक्रम जारी रहेको सामाजिक अभियान्ता तामाङले बताउनुभएको छ । “साउन–२७ गते दिउँसोसम्म जम्मा भएको रकम झिकेर हस्तान्तरण गरेका छौँ । बेलुका पनि रु १८ हजार ८०० जम्मा भएको छ । त्यो कसले पठाउनुभएको हो खुलेको छैन”, उहाँले भन्नुभयो, “देश÷विदेशमा रहनुभएका शुभेच्छुक तथा आफन्तले स्वतःस्फूर्त सहयोग रकम उपलब्ध गराउनेक्रम जारी छ । उहाँहरुले देखाउनुभएको सदाशयताले वृद्धावस्थाका आगलागीपीति तामाङ दम्पतीको नयाँ घर निर्माण हुने निश्चित भएको छ ।”
आगालागीपीडित तामाङ दम्पतीका लागि घर निर्माण गर्न सुरु गरिएको आर्थिक सहयोग सङ्कलन अभियान जारी राख्ने वडास्तरीय आर्थिक सहयोग सङ्कलन समितिको संयोजक एवम् वडा सदस्य तामाङले जानकारी दिनुभएको छ । सहयोग रकम हस्तान्तरण कार्यक्रममा सहभागी नेपाल पत्रकार महासङ्घ खोटाङका अध्यक्ष हरिवोल आचार्यले समेत रु पाँच हजार रकम प्रदान गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
आगलागीपीडित तामाङ दम्पतीका लागि नुनथलास्थित किरात राई रिङालुङ्छा र राखमीहँछा परिवारले समेत छुट्टाछुट्टै सहयोग रकम सङ्कलन गरेर उपलब्ध गराएको स्थानीयवासी एवम् जालपा माध्यमिक विद्यालय नुनथलाका शिक्षक धनकुमार तामाङले जानकारी दिनुभएको छ । सङ्कलित रकम तामाङ दम्पतीको नाममा खाता खोलेर जम्मागरी दिउँद लाग्नासाथ नयाँ घर निर्माणको काम सुरु गरिने स्थानीयले बताएका छन् ।
आगलागीपीडित तामाङ दम्पतीका लागि वडा कार्यालय नुनथलाको तर्फबाट तत्कालका लागि खान र बस्ने व्यवस्थापन मिलाउन राहत सामग्री उपलब्ध गराइएको वडाध्यक्ष राईले बताउनुभएको छ । एक छोरा र चार छोरीको बुबाआमा जितबहादुर र सुकुमाया आफूहरु बस्दै आएको मुलघर आगलागीमा परेर पूर्णरुपमा ध्वस्त भएपछि छोराबुहारीको घरमा आश्रय लिएर बस्दै आउनुएको छ ।


