साकेला गाउँपालिकाको सरस्वती माविमा २४ लाख लगानीको व्यवस्थित पुस्तकालय

Halesi Khabar

खोटाङ, २८ साउन । साकेला गाउँपालिका–५ मात्तिममा सञ्चालित सरस्वती माध्यमिक विद्यालयमा रु २४ लाख लगानीमा व्यवस्थित पुस्तकालय स्थापना गरिएको छ । ब्रिटिश गोर्खा वेलफेयर ट्रष्टसँगको समन्वय तथा पाहार ट्रष्ट नेपालको लगानीमा व्यवस्थित पुस्तकालय स्थापना गरिएको हो ।

विद्यालयमा पुस्तकालय स्थापनाका लागि पाहार ट्रष्ट नेपाल पोखराका अध्यक्ष बिजुलीबहादुर गुरुङ र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश राईबीच सम्झौता भएको छ । पुस्तकालय सञ्चालनका लागि पाहार ट्रष्ट नेपालद्वारा आयोजना गरिएको अनुशिक्षण कार्यक्रमको अवसरमा उक्त सम्झौता गरिएको हो ।

वि.सं. २०८१ माघदेखि सुरुवात गरिएको पुस्तकालयको सम्पूर्ण काम वि.सं. २०८३ पुस मसान्तसम्ममा सम्पन्न गर्नेगरी सम्झौता भएको विद्यालयका प्रधानाध्यापक सितल राईले जानकारी दिनुभएको छ । पुस्तकालयलाई आवश्यक पर्ने फर्निचर, भौतिक संरचना, पुस्तक लगायतको काम पहार ट्रष्ट नेपालले उपलब्ध गराउने जनाइएको छ ।

पुस्तकालयका लागि पाहार ट्रष्ट नेपालले रु २४ लाख सात हजार ९०० रकम सहयोग गर्ने सम्झौतामा उल्लेख छ । कक्षा–१२ सम्म अध्ययन÷अध्यापन हुने सरस्वती माविमा गोर्खा वेलफेयर ट्रष्टले यसअघि व्यवस्थित भवनसमेत निर्माण गरिदिएको थियो ।

पुस्तकालयले ईसिडिदेखि कक्षा–१२ सम्मका विद्यार्थीमा पठन संस्कृतिको विकास गर्दै अतिरिक्त ज्ञान बढाउन, विद्यार्थी, शिक्षक र समुदायको फुर्सदको समयलाई सदुपयोग गर्न तथा विद्यालयको शैक्षिक सुधार गर्न ठूलो सहयोग गर्ने अपेक्षा गरिएको गाउँपालिका प्रमुख रविप्रकाश राईले बताउनुभएको छ । पुस्तकालय सम्बन्धी गाउँपालिकाले आयोजना गरेको अनुशिक्षण कार्यक्रममा पाहार ट्रष्ट नेपालका अध्यक्ष गुरुङ सहित पुस्तकालय कार्यक्रमका म्यानेजर बलकाँशी गुरुङ, सुपरभाईजर बिमल नेपाली, मोभिलाईजर लक्ष्मी गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

पुस्तकालयमा विद्यार्थीका लागि आवश्यक विषयवस्तुसँग सम्बन्धी पुस्तकहरु उपलब्ध रहेको र सम्झौता अवधिभर बाह्य ज्ञानका पुस्तकहरुसमेत समावेश गरिने जनाइएको छ । कार्यक्रमको अवसरमा पुस्तकालय सञ्चालन र व्यवस्थापनका लागि समितिसमेत गठन गरिएको छ ।

विद्यालयकी प्रधानाध्यापक सितल राईको अध्यक्षतामा सरिता राई, रमेशकुमार ढकाल, विपिन दाहाल, निश्चल ढकाल, रोमिया राई सदस्य रहेको समिति गठन गरिएको गाउँपालिकाले जनाएको छ । समितिमा आवद्ध सदस्यसहितका पदाधिकारीलाई पुस्तकालय व्यवस्थापन र सञ्चालन सम्बन्धी तीन दिने अभिमुखिकरण कार्यक्रम आगामी भदौ–३ गतेदेखि सञ्चालन गरिने विद्यालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया