खोटाङ, २७ साउन । ऐसेलुखर्क गाउँपालिकाले राजधानी काठमाडौँमा बसोवास गर्दै आएका नागरिकलाई लक्षित गरेर दुई दिने एकीकृत सेवा शिविर सुरुवात गरेको छ । काम विशेषले राजधानी काठमाडौँ बस्दै आएका जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरेर उनीहरु बसिरहेकै ठाउँमा सेवा उपलब्ध गराउने उद्देश्यसहित गाउँपालिकाले दुई दिने एकीकृत सेवा शिविर आयोजना गरेको हो ।
काठमाडौँस्थित चाबहिलको फुजी एकेडेमीमा सञ्चालन गरिएको दुई दिने एकीकृत सेवा शिविर गाउँपालिका प्रमुख गीरेन्द्रबहादुर राई र उपप्रमुख राजेशकुमार राजभण्डारीले संयुक्त रुपमा ९२ वर्षीया दिलकुमारी राजभण्डारीलाई सामाजिक सुरक्षा भत्ता नवीकरणको प्रमाणपत्र दिएर औपचारिक शुभारम्भ गर्नुभएको छ । शिविरको पहिलो दिन विभिन्न वडाका १२० जना नागरिकले सेवा लिएको गाउँपालिकाका प्रवक्ता एवम् वडा नं. ३ ऐसेलुखर्कका वडाध्यक्ष टेकेन्द्र राजभण्डारीले दिनुभएको छ ।
शिविरमा सामाजिक सुरक्षा भत्ता बुझ्दै आएका लाभग्राहीको नवीकरण, जन्म, मृत्यु तथा विवाह दर्ता, बसाइँसराई र राष्ट्रिय परिचयपत्रको कार्ड वितरण गरिने जनाइएको छ । सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०७७ को दफा (४) बमोजिम अनिवार्यरुपमा लाभग्राहीको बायोमेटिक भेरिफिकेशन गर्नुपर्ने भएकाले राजधानी काठमाडौँ र ईटहरीमा शिविरको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।
्सामाजिक सुरक्षा भत्ता बुझ्दै आएका सबै लाभग्राहीको विवरण आगामी भदौ मसान्तभित्र नवीकरण गर्नुपर्ने भएकाले वर्षादका कारण धेरै लाभग्राही गाउँपालिकाको कार्यालयमा उपस्थित हुन नसक्ने भएपछि काठमाडौँमा बसोवास गर्दै आएका लाभग्राहीलाई काठमाडौँमै सेवा उपलब्ध गराउन एकीकृत सेवा शिविर आयोजना गरिएको गाउँपालिका प्रमुख गीरेन्द्रबहादुर राईले जानकारी दिनुभएको छ । “अहिले वर्षादको समय छ । लाभग्राहीहरु गाडी रिजर्भ गरेर गाउँपालिकाको कार्यालय आउँदा धेरै खर्च हुन्छ”, उहाँले भन्नुभयो, “जेष्ठ नागरिक र अपाङ्गता भएका लाभग्राहीलाई लक्षित गरेर काठमाडौँ र ईटहरीमा एकीकृत सेवा शिविरको आयोजना गरेका छौँ । गाउँपालिकाले आफू बसेकै ठाउँमा सेवा उपलब्ध गराएपछि लाभग्राहीहरु हर्षित भएका छन् ।”
गाउँपालिकाले आयोजना गरेको एकीकृत सेवा शिविर सञ्चालनका लागि आवश्यक उपकरणसहित कर्मचारी तथा गाउँपालिकाभित्रका सबै वडाध्यक्षहरु राजधानी काठमाडौँ पुगेका छन् । गाउँपालिकाको विभिन्न वडामा स्थायी घर भइ सामाजिक सुरक्षा भत्ता बुझ्दै आएका लाभग्राहीहरु काठमाडौँमा मात्रै २०० जनाभन्दा बढी रहेको प्रवक्ता राजभण्डारीले जानकारी दिनुभएको छ ।
आफ्ना नागरिकलाई पञ्जीकरण सम्बन्धीका सबै सेवा सहजरुपमा उपलब्ध गराउने गाउँ कार्यपालिकाको निर्णयअनुसार गाउँपालिकाले आगामी भदौ–१ र २ गते ईटहरीमा समेत एकीकृत सेवा शिविरको आयोजना गर्ने जनाइएको छ । सातवटा वडा रहेको ऐसेलुखर्क गाउँपालिकाबाट एक हजार १०६ जना विभिन्न प्रकृतिका लाभग्राहीले नियमितरुपमा सामाजिक सुरक्षा भत्ता बुझ्दै आएका छन् ।


