चिहानबाट उठाइएको दिदीभाइको शव परिवार सम्पर्कमा नआउँदा परीक्षण हुन सकेन

Halesi Khabar

खोटाङ, २६ साउन । परिवारका सदस्य सम्पर्कमा नआउँदा चिहान (समाधिस्थल)बाट प्रहरीले उत्खनन् गरेर परीक्षणका लागि जिल्ला अस्पताल खोटाङ ल्याएको दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ खोरम्बुस्थित सापातेलका दिदीभाइको शव अस्पतालको शव परीक्षण गृहमा थन्किएको छ । सापातेलका गोविन्द बस्नेतको ११ वर्षीया छोरी मेनिषा बस्नेत र छ वर्षीय छोरा मेगराज बस्नेतको शव प्रहरीले चिहान उत्खनन् गरेर परीक्षणका लागि साउन–२५ गते राति जिल्ला अस्पताल खोटाङ ल्याएको हो ।

यही साउन–२२ गते राति करिब आठ बजे आफ्नै बुबा गोविन्दले जङ्गलमा मृत फेला पारेका दुई बालबालिकाको शवलाई रातभरि गाउँललेले त्यही रुँगेर भोलिपल्ट शुक्रबार छोरम्बुस्थित सापातेल लगेर दाह संस्कार गरेका थिए् । फरक–फरक ठाउँमा मृत भेटिएका दुई बालबालिकाको लडेर मृत्यु भएको प्रष्ट देखिएपछि प्रहरीलाई खबर नगरी दाह संस्कार गरिएको गाउँलेले बताएका छन् ।

दुर्घटनामा ज्यान गुमाएका दुई बालबालिकाको शव परिवारका सदस्यसहित दाजुभाइ तथा गाउँले मिलेर अन्त्येष्टि गरेको भोलिपल्ट (साउन–२४ गते) प्रहरीले घटनाका बारेमा स्थानीयवासीबाटै जानकारी पाएको जनाइएको छ । मृत्युको घटनाका बारेमा प्रहरीलाई जानकारी नदिइ आफूखुसी मृतक बालबालिकाको शव दाह संस्कार गरेको विषय प्रहरीले जानकारी पाएपछि बुबा गोविन्दसहित छोरम्बुवासी तनावमा परेका छन् ।

सापातेलमा भएको घटनाको बारेमा जानकारी पाएलगत्तै शनिबार राति (साउन–२४ गते) सापातेल पुगेका प्रहरी टोलीले साउन–२५ गते दिउँसो चिहान उत्खनन् गरेर बालबालिकाको शव नियन्त्रणमा लिएको थियो । हिन्दु संस्कारअनुसार अन्त्येष्टि गरिएको दुई बालबालिकाको शव गाडिएको चिहान उत्खनन् गर्न स्थानीय तहका जनप्रतिनिधि तथा स्थानीयले सहमति नदिएपछि प्रहरी आफैले उत्खनन् गरेर नियन्त्रणमा लिएको हो ।

कानूनी प्रक्रिया पूरा नगरी अन्त्येष्टि गरिएको मृतक बालबालिकाको शव चिहानबाट उत्खनन् गरेर परीक्षण गर्न ल्याइए पनि परिवारका सदस्य सम्पर्कमा नआउँदा समस्या भएको जिल्ला प्रहरी कार्यालय खोटाङका निमित्त प्रमुख प्रहरी निरीक्षक सुशान्त मिश्रले बताउनुभएको छ । “दुर्घटना तथा आत्महत्याका घटनामा ज्यान गुमाएका मृतकको शव अनिवार्य परीक्षणगरी कानूनी प्रक्रिया पूरा गरेरमात्रै दाह संस्कार गर्नुपर्ने प्रावधान छ । सापातेलमा भएको घटनामा गाउँले मिलेर मृतकको शव अन्त्येष्टि गरिसकेका रहेछन्”, उहाँले भन्नुभयो, “प्रहरीमा जानकारी आएपछि चिहान उत्खनन् गरेर परीक्षणका लागि अस्पताल ल्याएका छौँ । घटनाको विषयमा स्थानीय तहका जनप्रतिनिधि तथा परिवारका सदस्यको असहयोग भयो । जनप्रतिनिधि र परिवारका सदस्यको असहयोगपछि प्रहरी आफैले चिहान उत्खनन् गरेर शव परीक्षणका लागि अस्पताल ल्याएका हौँ ।”

सापातेलमा भएको दिदीभाइ मृत फेला प्रकरणका घटनामा कानूनी प्रक्रिया पूरा नगरी अन्त्येष्टि गर्ने तथा पूरा गर्न असहयोग गर्ने व्यक्तिहरुबिरुद्ध मुद्धा दर्ता गरेर कारबाहीको प्रक्रिया अगाडि बढाउने प्रहरीले जनाएको छ । मुद्धाको प्रकृति र क–कसलाई प्रतिवादी बनाएर मुद्धा चलाउने भन्नेमा भने, प्रहरीले खुलाएको छैन ।

सापातेलका गोविन्द श्रीमतीले अर्कैसँग विवाह गरेर हिँडेपछि दुई छोरी र एक छोरासहित घरमा बस्दै आउनुभएको थियो । सापातेलस्थित शान्ति निकेतन माध्यमिक विद्यालयका कार्यालय सहयोगी गोविन्दको घरमा यही साउन–२२ गते डिसहोम जोड्ने काम भयो । लामो समयदेखि कार्यालय सहयोगीको रुपमा काम गर्दै आउनुभएका गोविन्दले छोराछोरीका लागि टेलिभिजन हेर्ने व्यवस्था मिलाउन डिसहोम जडान गर्नुभएको हो ।

श्रीमतीले छाडेर अर्कैसँग विवाहगरी गएपछि गोविन्द सँधै छोराछोरीलाई आफूसँगै विद्यालय लिएर जाने÷आउने गर्नुहुन्थ्यो । त्यो दिन घरमा डिसहोम जडान गर्दा ढिला भएपछि छोराछोरीलाई बिस्तारै आउ है भनेर विद्यालय जानुभएको थियो । तर, त्यस दिन छोराछोरी विद्यालय गएनन् । सुरुमा उनीहरु कता गए कसैलाई अत्तोपत्तो भएन ।

सोधिखोजि गर्दै जाँदा गोविन्दका दुई छोरी र एक छोरासहित छ जना बालबालिका त्यो दिनभरी सम्पर्कविहीन भएको खुलेको छ । दिउँसोको समयमा सँगै हराएका चारजना बालबालिका बेलुका खोज्दै जाँदा एउटा ओढारमा सकुसल भेटिएका थिए । तर, गोविन्दका छोरी मेनिषा र छोरा मेगराज भने, जङ्गलमा मृत भेटिएका हुन् ।

चिहान उत्खनन् गरेर परीक्षणका लागि जिल्ला अस्पताल खोटाङ लगिएको बालबालिकाको शव बुझ्न तथा कानूनी प्रक्रिया पूरा गर्न भोलि (साउन–२७ गते) मृतकका आफन्त पठाउने तयारी गरिएको छोरम्बुका पूर्ववडाध्यक्ष इन्द्रबहादुर बस्नेतले जानकारी दिनुभएको छ । पूर्ववडाध्यक्ष बस्नेतका अनुसार मृतक बालबालिकाको बुबा गोविन्द किरियापुत्रीको रुपमा बसेकाले आफन्त पठाउने तयारी गरिएको हो ।

तपाईको प्रतिक्रिया