दिदीभाइ मृत फेला प्रकरण : प्रहरीले चिहानबाट शव निकालेर लग्यो परीक्षण गर्न अस्पताल

Halesi Khabar

खोटाङ, २५ साउन । दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बुस्थित सापातेलका गोविन्द बस्नेत श्रीमतीले अर्कैसँग विवाह गरेर हिँडेपछि दुई छोरी र एक छोरासहित बस्दै आउनुभएको थियो । सापातेलस्थित शान्ति निकेतन माध्यमिक विद्यालयका कार्यालय सहयोगी गोविन्दको घरमा यही साउन–२२ गते डिसहोम जोड्ने काम भयो । लामो समयदेखि कार्यालय सहयोगीको रुपमा काम गर्दै आउनुभएका गोविन्दले छोराछोरीका लागि टेलिभिजन हेर्ने व्यवस्था मिलाउन डिसहोम जडान गर्नुभएको हो ।

श्रीमतीले छाडेर अर्कैसँग गएपछि गोविन्द सँधै छोराछोरीलाई आफूसँगै विद्यालय लिएर जाने÷आउने गर्नुहुन्थ्यो । त्यो दिन घरमा डिसहोम जडान गर्दा ढिला भएपछि छोराछोरीलाई बिस्तारै आउ है भनेर विद्यालय जानुभएको थियो । तर, त्यस दिन छोराछोरी विद्यालय गएनन् । सुरुमा उनीहरु कता गए कसैलाई अत्तोपत्तो भएन ।

सोधिखोजि गर्दै जाँदा गोविन्दका दुई छोरी र एक छोरासहित छ जना बालबालिका त्यो दिनभरी सम्पर्कविहीन भएका रहेछन् । दिउँसोको समयमा सँगै हराएका चारजना बालबालिका बेलुका खोज्दै जाँदा एउटा ओढारमा सकुसल भेटिए । तर, गोविन्दका ११ वर्षीया छोरी मेनिषा र छ वर्षीय छोरा मेगराज भने, जङ्गलमा मृत भेटिए । गोविन्द विद्यालयबाट फर्किएर घर पुग्दा छोराछोरी कोही पनि नभएपछि खोज्दै जाँदा जङ्गलमा दिदीभाइलाई मृत भेट्नुभएको हो ।

एकैसाथ हराएका छ जना बालबालिकामध्ये गोविन्दको छोरी र छोरा मृत फेला परेपछि गाउँमा खैलाबैला मच्चिएको थियो । दश वर्षभन्दा कम उमेरका उनीहरु हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी र छोरम्बुको सिमानामा पर्ने साप्सुखोला तरेर थ्री स्टार हाइड्रोपावरसम्म पुगेर फर्किएको पाइएको स्थानीयवासी एवम् छोरम्बुका पूर्ववडाध्यक्ष इन्द्रबहादुर बस्नेतले बताउनुभएको छ । घर फर्किदा बाटो बिराएर उनीहरु बेलुकी पख सोही गाउँपालिकाको वडा नम्बर–२ डाँडागाउँस्थित खमारे भन्ने ठाउँमा पुगेका थिए ।

खमारेबाट एकजना व्यक्तिले घर जाने बाटो चिनाइदिएपछि उनीहरु सापातेलतिर लागेको बुझिएको छ । तर, घर नपुगेपछि खोज्दै जाँदा बुबा गोविन्दले जेठी छोरी र छोरालाई जङ्गलमा मृत भेट्नुभएको हो ।

बाटोमा बच्चाको चप्पल भेटिएपछि खोज्दै जाँदा स्थानीय खरुवाखोलामा जेठी छोरीको शव भेटिएको बुझिएको छ । स्थानीयले दिएको जानकारीअनुसार जेठी छोरीको शवभन्दा केही माथि छोराको पनि शव भेटिएको हो । जेठी छोरी र छोराको शव भेटेपछि बुबा गोविन्दले विद्यालयका प्रधानाध्यापक लगायत गाउँलेलाई फोन गरेर जानकारी दिएको स्थानीयले जानकारी दिएका छन् ।

गोविन्दकै अर्की छोरीसहित चार जना बालबालिका भने, घटनास्थल नजिकै बाटोमुनि रहेको ओढारमा सकुसल भेटिएका थिए । बेलुका पखसँगै आइरहेका साथीहरु (मेनिषा र मेगराज) एक्कासी पछाडि नदेखिएपछि उनीहरु पनि खोज्दै फर्किएको तर, नभेटेपछि रात परेकाले आफूहरु अलपत्र परेर ओढारमा वास बसेको बताएका छन् ।

साउन–२२ गते राति करिब आठ बजे आफ्नै बुबाले मृत भेटेका दुई बालबालिकाको शवलाई रातभरि गाउँललेले त्यही रुँगेर भोलिपल्ट शुक्रबार छोरम्बु लगेर दाह संस्कार गरेका थिए् । मृत भेटिएका दुई बालबालिकाको लडेर मृत्यु भएको प्रष्ट देखिएपछि प्रहरीलाई खबर नगरी दाह संस्कार गरिएको गाउँलेले बताएका छन् ।

तर, दुर्घटनामा ज्यान गुमाएका दुई बालबालिकाको शव अन्त्येष्टि गरेको भोलिपल्ट (साउन–२४ गते) प्रहरीले घटनाका बारेमा स्थानीयबाटै जानकारी पायो । प्रहरीलाई जानकारी नदिइ आफूखुसी मृतक बालबालिकाको शव दाह संस्कार गरेको विषय प्रहरीले जानकारी पाएपछि बुबा गोविन्दसहित छोरम्बुवासी तनावमा परेका छन् ।

सापातेलमा भएको घटनाको बारेमा जानकारी पाएलगत्तै शनिबार राति सापातेल पुगेका प्रहरी टोलीले आज (आइतबार) दिउँसो चिहान (समाधिस्थल) उत्खनन् गरेर बालबालिकाको शव नियन्त्रणमा लिएको छ । हिन्दु संस्कारअनुसार अन्त्येष्टि गरिएको दुई बालबालिकाको शव स्थानीय तहका जनप्रतिनिधि तथा स्थानीयको बिना सहमति प्रहरीले चिहान उत्खनन् गरेर नियन्त्रणमा लिएको हो ।

मृतक बालबालिकाको शव अन्त्येष्टि गरिएको चिहानबाट उत्खनन् गरेर परीक्षण गर्न जिल्ला अस्पताल खोटाङ ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका निमित्त प्रमुख प्रहरी निरीक्षक सुशान्त मिश्रले बताउनुभएको छ । “सापातेलमा भएको घटनाको बारेमा शव अन्त्येष्टि गरिसकेपछि प्रहरीमा जानकारी प्राप्त भयो । दुर्घटना तथा आत्महत्याका घटनामा ज्यान गुमाएका मृतकको शव अनिवार्य परीक्षणगरी कानूनी प्रक्रिया पूरा गरेरमात्रै दाह संस्कार गर्नुपर्ने प्रावधान छ”, उहाँले भन्नुभयो, “घटनाका बारेमा अनुसन्धान गर्न प्रहरी टोली परिचालन गरिएको छ । यसमा स्थानीय तहका जनप्रतिनिधि तथा स्थानीयको असहयोग भयो । जनप्रतिनिधिको असहयोगपछि प्रहरी आफैले चिहान उत्खनन् गरेर शव परीक्षणका लागि अस्पताल ल्याउने तयारी गरेका छौँ ।”

सापातेलमा भएको दिदीभाइ मृत फेला प्रकरणमा कानूनी प्रक्रिया पूरा नगरी अन्त्येष्टि गर्ने तथा पूरा गर्न असहयोग गर्ने व्यक्तिहरुबिरुद्ध मुद्धा दर्ता गरेर कारबाहीको प्रक्रिया अगाडि बढाउने प्रहरीले जनाएको छ । मुद्धाको प्रकृति र क–कसलाई प्रतिवादी बनाएर मुद्धा चलाउने भन्नेमा भने, प्रहरीले खुलाएको छैन ।

तपाईको प्रतिक्रिया