खोटाङ, २४ साउन । दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बुस्थित सापातेलका गोबिन्द बस्नेतका दुई छोरी र एक छोरासहित छ जना बालबालिका यही साउन–२२ गते गाउँबाट हराएका थिए । सँगै हराएका चारजना बालबालिका सकुसल भेटिए । तर, गोबिन्दका ११ वर्षीया छोरी मेनिषा र छ वर्षीय छोरा मेगराज भने, जङ्गलमा मृत भेटिए ।
गाउँबाट एकैसाथ हराएका छ जना बालबालिकामध्ये गोबिन्दको छोरी र छोरा मृत फेला परेको छोरम्बुका पूर्ववडाध्यक्ष इन्द्रबहादुर बस्नेतले जानकारी दिनुभएको छ । “गोबिन्द बस्नेत शान्ति निकेतन माध्यमिक विद्यालयका कार्यालय सहयोगी हुनुहुन्छ । श्रीमतीले अर्कै विवाह गरेपछि गोबिन्द दुई छोरी र एक छोरासहित घरमा बस्दै आउनुभएको थियो”, उहाँले भन्नुभयो, “सँधै छोराछोरीलाई आफूसँगै विद्यालय लिएर जाने गर्नुहुन्थ्यो । त्यो दिन घरमा डिसहोम जडान गरेकाले ढिला हुँदा छोराछोरीलाई आउँदै गर भनेर विद्यालय जानुभएको रहेछ । तर, छोराछोरी विद्यालय नगइ डुल्न निस्किएछन् । विद्यालयबाट फर्किएपछि छोराछोरी घरमा नभएकाले खोज्दै जाँदा जङ्गलमा मृत भेटिएको हो ।”
दश वर्षभन्दा कम उमेरका उनीहरु हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी र छोरम्बुको सिमानामा पर्ने साप्सुखोला तरेर थ्री स्टार हाइड्रोपावरसम्म पुगेर फर्किएको पाइएको छ । घर फर्किदा बाटो बिराएर उनीहरु सोही गाउँपालिकाको वडा नम्बर–२ डाँडागाउँस्थित खमारे भन्ने ठाउँमा पुगेका थिए । खमारेबाट एक व्यक्तिले बाटो चिनाइदिएपछि उनीहरु सापातेलतिर लागेका थिए । तर, घर नपुगेपछि खोज्दै जाँदा बुबा गोबिन्दले आफ्ना दुई सन्तान जेठी छोरी र छोरालाई मृत भेट्नुभएको हो ।
बाटोमा बच्चाको चप्पल भेटिएपछि खोज्दै जाँदा स्थानीय खरुवाखोलामा जेठी छोरीको शव भेटिएको गोबिन्दले जानकारी दिनुभएको बताइएको छ । स्थानीयका अनुसार छोरीको भन्दा केही माथि छोराको पनि शव भेटिएको हो । त्यसपछि विद्यालयका प्रधानाध्यापक लगायत गाउँलेलाई बुबा गोबिन्दले खबर गरेको स्थानीयले जानकारी दिएका छन् ।
गोबिन्दकै माइली छोरीसहित चार जना बालबालिका भने, घटनास्थल नजिकै बाटोमुनि रहेको ओढारमा सकुसल भेटिएका थिए । बेलुका पखसँगै आइरहेका साथीहरु एक्कासी पछाडि नदेखिएपछि उनीहरु पनि खोज्दै फर्किएको तर, नभेटेपछि रात परेकाले आफूहरु अलपत्र परेर ओढारमा गएर वास बसेको बताएका छन् ।
साउन–२२ गते राति करिब आठ बजे आफ्नै बुबाले मृत भेटेका दुई बालबालिकाको शवलाई रातभरि गाउँललेले त्यही रुँगेर बसेपछि शुक्रबार छोरम्बु लगेर दाहसंस्कार गरेका छन् । मृत भेटिएका दुई बालबालिकाको लडेर मृत्यु भएको प्रष्ट देखिएपछि प्रहरीलाई खबर नगरी दाहसंस्कार गरिएको गाउँलेले बताएका छन् ।
यता, जिल्ला प्रहरी कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक सुशान्त मिश्रले भने, घटनाका बारेमा सुरुमा प्रहरीलाई जानकारी नगराएको बताउनुभएको छ । “छोरम्बुमा भएको घटनाको बारेमा शव अन्त्येष्टि गरेपछि स्थानीयबाट प्रहरीमा जानकारी प्राप्त भयो । दुर्घटना तथा आत्महत्याका घटनामा ज्यान गुमाएका मृतकको शव अनिवार्य परीक्षणगरी कानूनी प्रक्रिया पूरा गरेर मात्रै दाहसंस्कार गर्नुपर्ने प्रावधान छ”, उहाँले भन्नुभयो, “घटनाका बारेमा अनुसन्धान गर्न प्रहरी टोली खटाइएको छ । जिल्लाबाट खटाइएका टोली भर्खरै त्यहाँ पुगेर घटनास्थललाई सुरक्षित राखेका छन् ।”
मृतक बालबालिकाको शव गाडिएको अवस्थामा रहेकाले भोलि (आइतबार) उत्खनन् गरेर परीक्षण गर्ने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारीसमेत रहनुभएका निमित्त प्रमुख प्रहरी निरीक्षक मिश्रले बताउनुभएको छ । दुर्घटनामा ज्यान गुमाएका मृतक दुई बालबालिकाको शव आफूखुसी दासंस्कार गरेपछि बुबा गोबिन्दसहित छोरम्बुवासी समस्यामा परेका छन् ।


