धार्मिक तथा पर्यटकीयस्थलहरुमा धामीझाँक्रीको बृहत् मेला

Halesi Khabar

खोटाङ, २४ साउन । श्रावण शुक्ल पूर्णिमाको दिन (आज) ढोलेतालेसहित ढोल, ढ्याङ्ग्रो र झ्याम्टाको तालमा गीत गाउँदै र नाच्दै धार्मिक तथा पर्यटकीयस्थलहरुमा पुगेका धामीझाँक्रीहरु देवीदेवताको पूजाआरधाना गरिरहेका छन् । साउन लागेसँगै गुप्तवास बसेका धामीझाँक्रीहरु श्रावण शुक्ल पूर्णिमाको दिन धार्मिकस्थलहरु गएर नुहाउनुका साथै पूजाआजा गरेर बिद्धे (ज्ञान÷शक्ति) प्राप्तिका लागि प्रार्थना गर्ने गर्छन् ।

गुप्तवास बसेका धामीझाँक्रीका गुरु र देवीदेवता श्रावण शुक्ल पूर्णिमाको दिन धार्मिकस्थलहरुमा गएर नुहाइधुवाइ गरेपछि आफ्ना गुरु तथा देवीदेवता चल्ने मान्यता छ । परापूर्वकालदेखि चलिआएको धार्मिक मान्यताअनुसार धामीझाँक्रीहरु जिल्लाका विभिन्न ठाउँमा अवस्थित धार्मिक एवम् पर्यटकीयस्थलहरुमा आफ्ना ढोलेतालेसहित नुहाउन तथा पूजाआजा गर्न पुग्ने गरेका छन् ।

महिना दिनसम्म गुप्तवास बसेका धामीझाँक्रीहरु आज (शनिबार) बिहानैदेखि जिल्लाका धार्मिक एवम् पर्यटकीयस्थलहरुमा भेला भएका छन् । बराहपोखरी, साप्सुधाप, भुलभुले दूधकुण्ड, कान्छी सालपा, भालुखोला, होङ्मा पोखरी, जन्तेढुङ्गा लगायतका धार्मिक तथा पर्यटकीयस्थलहरुमा धामीझाँक्रीको बृहत् मेला लागेको छ ।

धार्मिक तथा पर्यटकीयस्थलहरुमा लाग्ने धामीझाँक्री मेलामा रमिता हेर्ने सर्वसाधारण तथा पूजाआजा गर्ने भक्तजनको समेत बाक्लो उपस्थिति देखिएका छन् । धार्मिक मेला भर्न आउने सर्वसधारणका लागि स्थानीयले मेला व्यवस्थापन समिति गठन गरेर होटल तथा पसलहरुसमेत सञ्चालन गरेका छन् ।

दश स्थानीय तह रहेको जिल्लाका धार्मिकस्थलहरुमा श्रावण शुक्ल पूर्णिमाको अवसर पारेर पूजाआजासहित नुहाउँदा रोगव्याधी हट्नुका साथै मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सबैभन्दा नजिक रहेको मुडेस्थित धार्मिक एवम् पर्यटकीयस्ल भालुखोलामा हिजो (शुक्रबार)देखि नै धार्मिक मेला लागेको स्थानीय दोर्जी शेर्पाले जानकारी दिनुभएको छ ।

ढोल, ढ्याङग्रो र झ्याम्टा बजाउँदै दिनभर धामी नाच्ने भालुखोलामा बुढापाका, युवायुवती तथा केटाकेटी सबैको उल्लेख्य उपस्थिति रहने गरेको छ । परापूर्वकालदेखि नै यस ठाउँको पानीले नुहाइधुवाइ गरेमा रोगकष्ट निको हुने जनविश्वास रहिआएको संरक्षण एवम् प्रवद्र्धन समितिका अध्यक्ष सीताराम राईले बताउनुभएको छ ।

श्रावण शुल्क पूर्णिमाको अवसरमा वर्षेनी ठूलो मेला लाग्ने धार्मिक एवम् पर्यटकीयस्थल भालुखोलामा विभिन्न मनोकाङ्क्षा लिएर धामीझाँक्रीसहित विभिन्न ठाउँबाट हजारौँको सङ्ख्यामा दर्शनार्थी आउने गरेका छन् । धार्मिक तथा पर्यटकीयस्थलहरुमा गएर दिनभर नाचगान गर्दै शक्ति मागेर फर्किएका धामीझाँक्रीहरु बेलुका घरमा सामुहिक तथा एकलरुपमा देवीदेवताको पूजाआरधानासहित रातभर चिन्ता बस्ने (ढोलेतालेसहित थान थापेर जबध्यान गर्ने काम) गर्छन् ।

श्रावण शुल्क पूर्णिमामा चिन्ता बसेका ठाउँमा गएर धामीझाँक्रीको शीर उभ्याउनी (पैसा र रक्सीको कठुवा चढाएर ढोग्ने काम)समेत गर्ने प्रचलन रहिआएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका दीलकुमार राईले बताउनुभएको छ । “हाम्रो गाउँ समाजमा जन्मदेखि मृत्यु संस्कार सबैमा धामी लगाउने चलन छ । यो हाम्रो परम्परागत संस्कार हो”, उहाँले भन्नुभयो, “श्रावण शुल्क पूर्णिमाको दिन धामीझाँक्रीहरु चिन्ता बस्छन् । चिन्ता बसेको ठाउँमा गएर आफूले मानेको धामीको शीर उभ्याउनी गर्ने चलन छ । यो परापूर्वकालदेखि चलिआएको चलन हो ।”

पछिल्लो समय धार्मिकस्थलहरुको महत्व बढ्दै गएपछि जिल्लाका दशवटै स्थानीय तहले आ–आफ्नो क्षेत्रमा पर्ने धार्मिक तथा पर्यटकीयस्लहरुको स्तरोन्नति तथा प्रवद्र्धन गरिरहेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले लाखौँ रकम खर्चिएर साप्सुधाप र भुलभुले दूधकुण्डको स्तरोन्नति गरेको छ ।

सङ्घीयता लागू भएपछि स्थानीय सरकारले धार्मिक तथा पर्यटकीयस्थलहरुको स्तरोन्नति एवम् प्रवद्र्धनको काम गरेसँगै अन्य समयमा पनि पूजाआजा गर्ने भक्तजन तथा दर्शनार्थीको सङ्ख्या वृद्धि हुँदै गएको स्थानीय बासिन्दाहरुले बताएका छन् । जिल्लास्थित धार्मिक तथा पर्यटकीयस्थलहरुको स्तरोन्नति एवम् प्रवद्र्धन गरेर आन्तरिक आयस्रोत वृद्धि गर्ने स्थानीय सरकारको लक्ष्य छ ।

तपाईको प्रतिक्रिया