किरात ऐतिहासिकस्थल ‘तुवाचुङ–जायजुम’लाई हराभरा बनाउन वृक्षरोपण

Halesi Khabar

खोटाङ, २३ साउन । किरात समुदायको उद्गमस्थल मानिने खोटाङको ‘तुवाचुङ–जायजुम’को संरक्षण गर्दै वातावरणीय हिसाबले हराभरा बनाउन वृक्षरोपण गरिएको छ । परिवर्तन सङ्घ खोटाङले शुक्रबार आयोजना गरेको वृक्षरोपण कार्यक्रममा डिभिजन वन कार्यालय खोटाङ र स्थानीयवासीले निःशुल्क उपलब्ध गराएको विभिन्न प्रजातिका फलफूलका एक हजार १८० वटा बिरुवा रोपिएको हो ।

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान र १० अर्खौलेको सिमानामा अवस्थित किरात ऐतिहासिकस्थल तुङचुङ–जायजुमलाई वातावरणीय हिसाबले हराभरा बनाउन वृक्षरोपण गरिएको सङ्घका अध्यक्ष तपसेन राईले जानकारी दिनुभएको छ । “किरात समुदायको उद्गमस्थल तुवाचुङ–जायजुम खुला ठाउँमा छ । यसलाई संरक्षण गर्दै वातावरणीय हिसाबले हराभरा बनाउने लक्ष्य लिएका छौँ । यो पहिलो चरणको कार्यक्रम हो”, उहाँले भन्नुभयो, “आगामी दिनमा मौषमी फलफूलका बिरुवा पनि रोप्ने योजना बनाएका छौँ । यसले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नेछ ।”

समुन्द्री सतहदेखि करिब एक हजार ८०० मिटर उचाईमा पर्ने तुवाचुङ–जायजुममा ५०० वटा चिउरी, २०० वटा लाली गुराँस, २०० वटा स्थानीय जातका फूल, १५० वटा गुलाफ, १०० वटा कल्फी र ३० वटा काँडे धुपीको बिरुवा रोपिएको जनाइएको छ । हलेसी तुवाचुङ नगरपालिकाका उपप्रमुख रमेशकुमार राउत, प्रवक्ता कमल गिरी, इलाका प्रहरी कार्यालय हलेसीका प्रमुख प्रहरी निरीक्षक हेमन्त राई, तुवाचुङ–जायजुम संरक्षण समितिका सचिव भीमकेसर राई, हलेसी मन्दिर व्यवस्थापन समितिका सचिव अग्निराज राई, स्थानीयवासी लगायतगरी ७० जनाको उपस्थितिमा वृक्षरोपण गरिएको हो ।

विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीभन्दा केही माथि अवस्थित किरात ऐतिहासिकस्थल तुवाचुङ–जायजङमा केही समयअघि पर्खालसहितको पदमार्गसमेत निर्माण गरिएको थियो । नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डनयनमन्त्रालयको लगानीमा चुना र इँटाको धुलोसँगै फ्लाइ स्टोन जोडेर ७३० मिटर लामो पर्खालसहितको पदमार्ग निर्माण गर्नाले तुवाचुङ–जायजुम सुन्दर बन्दै गएको छ ।

दायाँ÷बाँया भिरालो जमिन रहेको तुवाचुङ–जायजुमबाट सूर्योदय र सूर्यास्तको दृश्य प्रत्यक्षरुपमा अवलोकन गर्न सकिन्छ । आकाश खुलेका दिन उत्तरतिर पर्ने विश्वको सर्वोच्च शिखर सगरमाथाका साथै उच्च हिमाली शृङ्खलाहरु टलक्क चाँदी झैँ टल्किएको देखिन्छ । हिमाल, पहाड र तराईसम्मको दृश्य सहजै अवलोकन गर्न सकिने यस ऐतिहासिक एवम् पर्यटकीयस्थलमा निर्माण गरिएको पदमार्गले थप आकर्षक बनाएको हो ।

तयामा र खियामाले तान बुनेको यो ऐतिहासिक स्थलमा अहिले पनि दुई वटा तान बुनेको ढुङ्गाको दोखाम (तान) प्रत्यक्ष रुपमा देख्न सकिन्छ । किराँत मुन्दुमी मिथकअनुसार, तुवाचुङ–जायजुममा तयामा र खियामा (दिदीबहिनी)ले कपडा बुन्ने गर्दथे । उनीहरू कपडा सभ्यताका उद्यमी मानिन्छन् ।

तुवाचुङ–जायजुममा किराँत आदिम पुर्खा रैछाकुले, तायामा र खियामाको पूर्णकदको प्रतिमा यसअघि नै स्थापना गरिएको छ । हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसी आउने आन्तरिक तथा बाह्य पर्यटक तुवाचुङ–जायजुम पुग्ने गर्छन् ।

तयामा र खियामाले तान बुन्दै गरेको प्रतिमा निर्माणका लागि रु. ३० लाख तथा गार्डेन (बगैँचा)सहितको किरात सांस्कृतिक घर निर्माणका लागि रु. २५ लाख बजेट नगरपालिकाले विनियोजन गरेको छ । प्रतिमा र सांस्कृतिक घरसमेत यसै वर्षभित्र निर्माण गरिने नगरप्रमुख विमला राईले जानकारी दिनुभएको छ ।

मध्यपहाडी लोकमार्गअन्तरगत दिक्तेल–हलेसी सडकखण्डमा पर्ने तुवाचुङ–जायजुममा उँधौली र उँभौलीमा तीन चुल्हाको पूजा गर्दै बृहत् साकेला सिली प्रदर्शन गर्ने गरिएको छ । तुवाचुङ–जायजुममा नेपालका सबै जिल्ला तथा छिमेकी देश सिक्किम, दार्जिलिङ, भुटानलगायत किरात समुदाय आउने गरेका छन् ।

बाह्रै महिना आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने तुवाचुङ–जायजुमलाई नेपाल सरकारले निर्धारण गरेको १०० वटा पर्यटकीय गन्तव्यअन्तरगत पर्ने मुन्दुम ट्रेल (पदमार्ग)ले छोएको छ । किरात ऐतिहासिकस्थल तुवाचुङ–जायजुममा किराती सभ्यताको अध्ययन तथा अवलोकन गर्न आउनेको सङ्ख्या पनि बढ्दै गएको छ ।

तपाईको प्रतिक्रिया