खोटाङ, २२ साउन । विद्यालयबाट घर फर्कँदै गरेकी १४ वर्षीया छात्रा (बालिका)माथि खोटाङमा साथीहरुबाटै सामुहिक बलात्कार भएको पाइएको छ । कक्षा–८ मा अध्ययनरत ती छात्रामाथि यही साउन–१९ गते सोही विद्यालयको कक्षा–९ मा अध्ययनरत दुई जना छात्र साथीहरुबाट सामुहिक बलात्कार भएको पाइएको हो ।
विद्यालयबाट घर फर्कने क्रममा तिमीसँग कुरा गर्नुछ भन्दै अघिपछि लागेका कक्षा–९ मा अध्ययनरत दुई जना दाजुहरुले जङ्गलको बीचमा आएपछि बाटो छेकेर रातभरी पालैपालो बलात्कार गरेको पीडित बालिकाले बताएकी छिन् । “साउन–१९ गते साढे चार बजे विद्यालयबाट म घर फर्कँदै थिएँ । एक जना दाजुले तिमीसँग कुरा गर्नुछ भन्यो । मसँगै पढ्ने साथीहरु आ–आफ्नो घर गइसकेका थिए । म एक्लै भएकाले छिटो–छिटो हिँडिरहेकी थिएँ”, उनी भन्छिन्, “केही बेरमा उनीहरु दुई जना भए । बाटो छेकेर एकछिन हामीसँग बस भन्यो । उनीहरुले अर्को एकजना भाइलाई चटपटे ल्याइमागेका रहेछन् । बसेर चटपटे खायौँ । त्यति खाइसकेपछि बाटो नजिकै रहेको ओढारमा लग्यो । उनीहरुले मलाई बोल्न दिइएनन् । त्यसपछि ममाथि पालैपालो बलात्कार सुरु भयो । दुई पटकसम्म गरेको थाहा छ । त्यसपछि के–के गरे मलाई थाहा छैन । बिहान ब्यूँझिदा एक्लै थिएँ ।”
विद्यालय गएकी बालिका साथीहरुबाटै बलात्कृत भएको जानकारी पाएपछि आफन्तले साउन–२० गते जिल्ला प्रहरी कार्यालय खोटाङमा गएर पीडक भनिएकाहरुमाथि कानूनी कारबाहीको माग गर्दै किटानी जाहेरी दर्ता गराएको पाएको छ । अध्ययनका लागि विद्यालय गएर घर फर्कँदै गरेकी बालिकालाई दुई जनाले बाटो छेकेर सामुहिकरुपमा बलात्कार गरेको पुष्टि भएपछि दोषीमाथि कानूनी कारबाहीको माग गर्दै प्रहरीमा किटानी जाहेरी दर्ता गराइएको बलात्कृत बालिकाका आफन्तले बताएका छन् ।
विद्यालय गएकी बहिनी बेलुका अबेरसम्म घर नफर्किएपछि खोजि गर्दा भोलिपल्ट बिहान ५ः३० बजे घरभन्दा करिब ५०० मिटर टाढा पर्ने राम्चेभीरस्थित ओढारमा झोक्राइरहेको अवस्थामा फेला पारिएको पीडित बालिकाको दाजुले बताएका छन् । “साउन–१९ गते बिहान पढ्नका लागि विद्यालय गएकी बहिनी अबेरसम्म घर आइनन् । रातभर खोजि ग¥यौँ । फेला परिनन्”, उहाँले भन्नुभयो, “ओढारभित्र एक्लै झोक्राएको अवस्थामा फेला परेकी बहिनीलाई सोध्दा आफूमाथि त्यही विद्यालयमा पढ्ने दुई जना छात्रले बलात्कार गरेको बताएकी छन् । नाबालक बहिनीमाथि जबरजस्ती बलात्कार गर्नेलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ भनेर प्रहरीमा किटानी जाहेरी दिएका हौँ ।”
बालिका बलात्कृत भएको उजुरी कार्यालयमा परेलगत्तै सोही राति (साउन-२० गते) बालिकाको स्वास्थ्य परीक्षण गराएर साउन–२१ गते दुई जनाबिरुद्ध किटानी जाहेरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका निमित्त प्रमुख प्रहरी निरीक्षक सुशान्त मिश्रले जानकारी दिनुभएको छ । “जिल्ला अस्पताल खोटाङमा लगेर स्वास्थ्य परीक्षण गराउँदा बालिका बलात्कृत भएको भन्ने प्रतिवेदन प्राप्त भएको छ । सामुहिकरुपमा बलात्कृत भएको भनिएकी बालिकाको अवस्था अहिले सामान्य बन्दै गएको छ”, उहाँले भन्नुभयो, “बालिकाको आफन्तले दिएको किटानी जाहेरीको आधारमा सोही विद्यालयका दुई जना छात्रबिरुद्ध मुद्धा दर्ता गरेका छौँ । आरोपितहरु अहिले फरार छन् । मुद्धा दर्ता गरेलगत्तै साउन–२१ गते जिल्ला अदालत खोटाङबाट पक्राउ पुर्जी लिएर उनीहरुको खोजि कार्य सुरु गरिएको छ ।”
आरोपितबिरुद्ध मुद्धा दर्ता र अदालतबाट पक्राउ पुर्जी लिएपछि बलात्कृत बालिकालाई साउन–२२ गते आफन्तको जिम्मा लगाएर घर पठाइएको प्रहरीले जनाएको छ । विद्यालय पोशाकमै बलात्कृत भएकी बालिकाले लगाएको पोशाकसमेत प्रमाणका लागि जिल्ला प्रहरी कार्यालय खोटाङमा ल्याएर प्रहरीलाई बुझाइएको आफन्तले बताएका छन् ।
प्रहरीमा सामुहिकरुपमा जबरजस्ती करणी गरेको मुद्धा दर्ता गरेपछि आफूहरुमाथि विभिन्न ठाउँबाट मिलापत्र गर्न दबाब आउन थालेको पीडित पक्षले बताएका छन् । विद्यालयले उपलब्ध गराएको जानकारीअनुसार बालिकामाथि सामुहिक बलात्कार गरेको आरोप लागेका राई थरका छात्र १५ वर्षका र विश्वकर्मा थरका अर्का छात्र १६ वर्षका छन् ।


