दिक्तेलमा महिला समूहको संस्था व्यवस्थापन तथा नेतृत्व विकास तालिम सुरु

Halesi Khabar

–मिनाक्क्षी राई
खोटाङ, २० साउन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित कालिका वडास्तरीय महिला समूहले संस्था व्यवस्थापन तथा नेतृत्व विकाससम्बन्धी तालिम सुरु गरेको छ । टेवा नेपाल ललितपुरको आर्थिक सहयोगमा महिला समूहले तीन दिने तालिमको आयोजना गरेको हो ।

दिक्तेलस्थित थ्री ब्रदर्श होटलमा आयोजित तालिममा ३२ जना महिला सहभागी छन् । तालिमको सहजीकरण गैरसरकारी संस्था महासङ्घका अध्यक्ष युवराज रिजाल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख इरन राई र महिला समूहका अध्यक्ष गीता थापा (बस्नेत)ले गरिरहनुभएको छ ।

संस्थागत दिगोपनाका लागि नेतृत्व विकास अति आवश्यक भएकाले पदाधिकारी तथा सदस्यहरूलाई लक्षित गरेर तालिम आयोजना गरिएको महिला समूहकी अध्यक्ष थापाले जानकारी दिनुभयो । तालिममा महिलाको राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक तथा प्राविधिक समस्याको पहिचान र समाधान गर्दै उनीहरूको जीवनस्तर तथा संस्थाको उन्नतिका लागि योजना निर्माण गर्ने क्षमता विकासमा जोड दिइने अध्यक्ष थापाले बताउनुभएको छ ।

तालिमको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले पानसमा दीप प्रज्वलन गरेर गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा वडा नं १ का वडाध्यक्ष नवराज राई, नेपाल पत्रकार महासङ्घका निवर्तमान अध्यक्ष दिलिप खत्री, सचिव राजकुमार भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया