खोटाङ, १९ साउन । हलेसी दर्शन गरेर फर्केका यात्रु लिएर सिरहातर्फ जाँदै गरेको माईक्रोबस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने, १४ जना घाइते भएका छन् । प्रदेश २–०–१–००१ ज ००५३ नम्बरको माईक्रोबस मध्यपहाडी लोकमार्ग अन्तरगत जयराम–हलेसी सडकखण्डको कदुवास्थित डौँठेखोला नजिकै आज (सोमबार) बिहान करिब नौँ बजे दुर्घटना भएको हो ।
दुर्घटनाका मृतक र घाइतेको पहिचान खुलेको छैन । माईक्रोबस दुर्घटनाका घाइतेलाई उद्धार गरेर उपचारका लागि एम्बुलेन्समार्फत घुर्मीतर्फ पठाइएको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता एवम् वडा नं. ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभएको छ ।
दुर्घटनाका घाइतेमध्ये छ जनालाई आईसियुमा राखेर उपचार गर्नुपर्ने भएकाले नगरपालिकाको एम्बुलेन्समार्फत काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टर पठाइएको प्रवक्ता गिरीले बताउनुभएको छ । घुर्मीस्थित जनसेवा पोलिक्लिनिकमा उपचारत आठ जनाको अवस्था सामान्य बन्दै गएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
दुर्घटनाग्रस्त माईक्रोबसमा १६ जना यात्रु सवार रहेको खुलेको छ । दुर्घटनास्थलमा खटिएका प्रहरी र स्थानीयको सहयोगमा उद्धार कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभएको छ ।
दुर्घटनाग्रस्त माईक्रोबस सडकबाट करिब २०० मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनास्थलमा बुट्यान र झाडी भएकाले ठूलो सङ्ख्यामा मानवीय क्षति हुनबाट जोगिएको प्रवक्ता गिरीले जानकारी दिनुभएको छ ।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको र विवरण सङ्कलनको काम भइरहेको प्रहरीले जनाएको छ । माईक्रोबस दुर्घटना हुँदा विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीमा लागेको ‘बोलबम’ मेला भरेर फर्किएका दर्शनार्थी दुर्घटनामा परेको हो ।
हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा साउन महिनाभर बोलबम लाग्ने गर्दछ । महिना दिनसम्म लाग्ने बोलबम मेला भर्नका लागि दर्शनार्थीहरुले निजी तथा भाडाका गाडी रिजर्भ गरेर ल्याउने गरेका छन् ।


