खोटाङ, १८ साउन । नेपाली सेना श्री नं. १८ बाहिनी अड्डा गाईघाट भुल्केका बाहिनीपति सहायक रथी विमलकुमार बस्नेतले खोटाङको दिक्तेलमा सञ्चालित राष्ट्रिय सेवा दल (एनसीसी) तालिम निरीक्षण गर्नुभएको छ । बाहिनी अड्डा मातहतका गणहरुको निरीक्षण भ्रणमणका क्रममा खोटाङमा आउनुभएका बाहिनीपति बस्नेतले आइतबार दिक्तेलस्थित सरस्वती माध्यमिक विद्यालय दिक्तेलमा सञ्चालित एनसिसी सि.सं. ५१ औँ ब्याचको तालिम निरीक्षण गर्नुभएको हो ।
पूर्वी पृतना राष्ट्रिय सेवा दल इटहरीको आयोजना तथा रणभीम गण मुडे ब्यारेक खोटाङको व्यवस्थापनमा सञ्चालित एनसिसी तालिममा कक्षा–८ र ९ मा अध्ययनरत १५÷१५ जना छात्रछात्रा सहभागी रहेका छन् । एनसिसी तालिममा सहभागी विद्यार्थीले बाहिनीपति बस्नेतलाई एरोबिक पिटीसमेत प्रदर्शन गरेका थिए ।
बाहिनीपति बस्नेतले तालिममा सहभागी विद्यार्थीले प्रस्तुत गरेको पिटी उत्कृष्ट रहेको प्रतिक्रिया दिनुभएको छ । एनसिसी तालिम निरीक्षणपछि बाहिनीपति बस्नेतले तालिममा सहभागी विद्यार्थीसँग अन्तरक्रियासमेत गर्नुभएको थियो ।
विद्यार्थीलाई अनुशासनको जगमा कर्मशील, मर्यादित, मुलुकप्रति समर्पित र ऊर्जाशील बनाउन एनसिसी तालिममा सहभागी गराइएको संरक्षक शिक्षक दिनेश शाक्यले जानकारी दिनुभएको छ । गत असार–९ गतेदेखि सुरु भएको एनसिसी तालिममा सहभागी विद्यार्थीहरुलाई खुकुरी ड्रिल, एरोबिक पिटी, तेक्वान्दो, नेपाली सेनासँग सम्बन्धित विविध विषयमा जानकारी तथा तालिम दिइने जनाइएको छ ।
विद्यार्थीलाई अनुशासित तथा देशप्रति बफादार बनाउँदै राष्ट्रियता र राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्ने लक्ष्यका साथ एनसिसी तालिम सञ्चालन गरिएको रणभीम गण मुडे ब्यारेकका गणपति प्रमुख सेनानी केदारप्रसाद लामीछानेले बताउनुभएको छ । “तालिममा सहभागी विद्यार्थीहरु उत्साहित छन् । तालिम पश्चात विपद् व्यवस्थापन सम्बन्धी स्वयम् सेवकको रुपमा परिचालन गर्छौँ, उहाँले भन्नुभयो, “तालिमले विद्यार्थीलाई अनुशासित तथा देशप्रति बफादार बनाउँछ । युवापुस्ता अनुशासित र देशप्रति बफादार भएको खण्डमा राष्ट्रियता र राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्न सहयोग पुग्छ ।”
एनसिसी तालिम निरीक्षणमा आउनुभएका बाहिनीपति बस्नेतलाई विद्यालय व्यवस्थापन समितिले स्वागत गरेका थिए । स्वागत तथा निरीक्षणपछि आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी जिल्लावासीले राष्ट्रिय सेवा दलले सञ्चालन गर्दै आएको एनसिसी तालिम दूरदराजका विद्यालयसम्म पु¥याउनुपर्नेमा जोड दिएका छन् ।
पूर्वी पृतना राष्ट्रिय सेवा दलले गत वर्ष दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित श्र माध्यमिक विद्यालयमा तालिम सञ्चालन गरेको थियो । वि.सं. २०२२ कातिक–७ गते स्थापना भएको राष्ट्रिय सेवा दलले युवालाई अनुशासित, इमान्दार, जिम्मेवार तथा देशप्रति समर्पित सभ्य र सुसँस्कृत समाज निर्माणमा स्थापित गराउन जुनियर र सिनियर डिभिजन क्याडेट तालिम दिँदै आएको छ ।


