खोटाङ, १६ साउन । साकेला गाउँपालिकाले अपाङ्ता भएका नागरिकको सहजताका लागि सहायता समाग्री वितरण गरेको छ । गाउँपालिकाले सञ्चालन गरेको अपाङ्ता रोकथाम तथा पुनः स्थापना कार्यक्रम अन्तरगत अपाङ्गता भएका नागरिकहरुलाई सेतो छडी, श्रवणयन्त्र र हिँडडुल गर्न प्रयोग हुने कुइनो वैशाखी वितरण गरेको हो ।
जिल्लाको सबैभन्दा सानो (पाँच वडा रहेको) यो गाउँपालिकाले सबै प्रकारका नागरिकको सहजताका लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ । गाउँपालिकाभित्र पर्ने सबै वडाका नागरिकलाई उपलब्ध गराउनेगरी सुरुवात गरिएको कार्यक्रम अन्तरगत बिहीबार वडा नं. २ रतन्छाका दश जना नागरिक सहायक समाग्रीहरु हस्तान्तरण गरिएको हो ।
वडा कार्यालयले आयोजना गरेको कार्यक्रममा गाउँपालिका प्रमुख रविप्रकाश राई र उपप्रमुख बिर्सिका राईले सहायक सामग्री हस्तान्तरण गर्नुभएको छ । अन्य वडाका अपाङ्गता भएका नागरिकहरुलाई क्रमश सहायक समाग्रीहरु वितरण गर्दै लगिने कार्यक्रम संयोजक श्रेष्ठको जानकारी दिनुभएको छ ।
साकेला गाउँपालिकामा वि.सं. २०८० माघ–१ गतेदेखि सामाजिक विकास मन्त्रालय कोशी प्रदेश, साकेला गाउँपालिका र करुणा फाउण्डेसनको त्रिपक्षीय लागत साझेदारीमा अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम सञ्चालन हुँदै आएको छ । यो कार्यक्रम २०८३ पुस मसान्तसम्म सञ्चालन हुने जनाइएको छ ।
कार्यक्रमले गाउँपालिकाभित्र रहेका अपाङ्गता भएका व्यक्तिहरुको सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न मद्दत पुग्ने अपेक्षा गरिएको गाउँपालिका प्रमुख रविप्रकाश राईले जानकारी दिनुभयो । गाउँपालिकावासी नागरिकको समस्या समाधान गर्न स्थानीय सरकारले गर्ने सबै काममा कमी नदिने उहाँले प्रतिवद्धता जनाउनुभएको छ ।
गाउँपालिकाभित्रका अपाङ्गता भएका व्यक्ति र परिवारका लागि थप कार्यक्रम विस्तार गर्ने तयारी गरिएको गाउँपालिका उपप्रमुख बिर्सिका राईले जानकारी दिनुभएको छ । अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम अन्तरगत सङ्कलन भएको विवरणअनुसार गाउँपालिकाभित्र ३२५ जना अपाङ्गता भएका व्यक्तिहरु रहेको पहिचान भएको छ ।
करुणा फाउण्डेसनले जिल्लाका दशवटै स्थानीय तहमा अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम सञ्चालन गर्दै आएको छ । कोशी प्रदेश सरकारसँगको सहकार्यमा सञ्चालित यो कार्यक्रम प्रभावकारी रहेको बताइएको छ ।
दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा चार हजार ९२२ जना शारीरिकरुपमा अपाङ्गता भएका व्यक्ति रहेको जिल्ला अपाङ्ग सेवा सङ्घ खोटाङले जनाएको छ । अपाङ्गता भएका व्यक्तिको पुनः स्थापनाका लागि तीनवटै तहका सरकार ठोस कार्यक्रम बनाएर उचित व्यवस्थापन गर्नुपर्ने अपाङ्ग सेवा सङ्घको माग छ ।


