खोटाङ, १५ साउन । ‘शहीद मनोज जोशी प्रतिभा पुरस्कार–२०८२’ सरस्वती माध्यमिक विद्यालय दिक्तेलका शिक्षक रामबिक्रम थापालाई प्रदान गरिएको छ । शिक्षा, कला, साहित्य, संस्कृति र सामाजिक क्षेत्रमा पु¥याउनुभएको योगदानको कदर गर्दै शिक्षक थापालाई रु दश हजार राशीको पुरस्कार प्रदान गरिएको हो ।
शिक्षण पेशामा प्रवेश गर्नुअघि तत्कालीन गाविस सचिव पदमा कार्यरत शिक्षक थापा वि.सं. २०४८ सालको कर्मचारी आन्दोलनमा सहभागी भएकामा जागिरबाट बर्खास्त हुनुभएको थियो । शहीद जोशीको नाममा स्थापना गरिएको प्रतिभा पुरस्कार यस वर्ष दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ निवासी शिक्षक थापालाई प्रदान गरिएको मनोज स्मृति प्रतिष्ठान खोटाङका अध्यक्ष कुमार आचार्यले जानकारी दिनुभएको छ ।
शहीद मनोज जोशीको ३४ औँ स्मृति दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले पुरस्कृत शिक्षक थापालाई नगदसहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभएको छ । दिक्तेलको अस्पतालचोकस्थित शहीद जोशीको समाधिस्थलमा आयोजित कार्यक्रममा शहीद जोशीको शालिकमा माल्यार्पण गर्नुका साथै श्रद्धाञ्जलीसभासमेत आयोजना गरिएको थियो ।
हरेक वर्ष प्रदान गरिँदै आइएको ‘शहीद मनोज जोशी प्रतिभा पुरस्कार’ गत वर्ष दिक्तेल रुपाकोट मझुवागढी नगरगालिका–१ हाटडाँडा निवासी निजामती सेवाबाट निबृत्त (छैटौँ अधिकृत) सन्देश ताम्राकारलाई प्रदान गरिएको थियो । शहीद मनोज–झपेन्द्र स्मृति दिवसको अवसरमा जिल्लामा साउन–१३ गते शहीद मनोजमार्ग सरसफाइ र साउन–१४ गते जिल्ला अस्पतालका बिरामीलाई फलफूल वितरण गरिएको थियो ।
कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियन खोटाङका अध्यक्ष सम्भु तामाङ, नेपाल निजामती कर्मचारी सङ्गठनका केन्द्रीय सदस्य रेखा राई, शहीद परिवारकोतर्फबाट समुन्द्रप्रसाद जोशी, राजनीतिक दलकोतर्फबाट नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि सुमनबाबु आचार्य, पूर्व सांंसद कुलप्रसाद फुयाल लगायले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमका वक्ताहरुले शहीद मनोज जोशीको हत्याले जिल्ला तथा देशका लागि ठूलो क्षति भएको बताएका छन् ।
वि.सं. २०४८ साउन–१५ गते बुधबार नेपाल निजामती कर्मचारी सङ्गठनमा आवद्ध कर्मचारीहरुले दिक्तेलमा निकालेको शान्तिपूर्ण जुलुसमा सहभागी बन्नुभएका जोशीको प्रहरीको गोली लागेर ज्यान गएको थियो । तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई सरकारसँग भएको सम्झौता अनुसारको सेवा सुविधा नदिइएको बिरोधमा कर्मचारीहरुले निकालेको शान्तिपूर्ण जुलुसमा ऐक्यवद्धता जनाउँदै सहभागी बन्नुभएका जोशीलाई दिक्तेलको हेलिप्याडमा प्रहरीको गोली लागेको हो ।
बिरोध जुलुस बजार परिक्रमा गरेपछि तत्कालीन प्रमुख जिल्ला अधिकारी भोलाप्रसाद सिलवालको कार्यकक्षतर्फ जानेक्रममा प्रहरीले अन्धाधुन्ध चलाएको गोली शहीद जोशीलाई लागेको घटनाका प्रत्यक्षदर्शीहरु बताउँदै आएका छन् । परिवार तथा जिल्लावासीको लामो समयदेखिको मागका बाबजुद जोशीलाई नेपाल सरकारले वि.सं. २०७४ माघ–२२ गते शहीद घोषणा गरेको हो ।
कर्मचारी आन्दोलनमा सहभागी भएको भन्दै सो आन्दोलनमा सहभागी जिल्लाका १३ जना कर्मचारीहरु जागिरबाट हटाइएका थिए । सोही दिनको कर्मचारी आन्दोलन र गोली काण्ड भएको दिनलाई खोटाङमा मनोज स्मृति प्रतिष्ठान, नेपाल निजामती कर्मचारी सङ्गठन र नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन (निजामती)ले मनोज–झपेन्द्र स्मृति दिवसका रुपमा मनाउँदै आएको छ ।
दिक्तेलका बुबा नारायणप्रसाद जोशी र आमा अम्बिका जोशीको कान्छो छोरा शहीद मनोज जोशीको वि.सं. २०३० असोज–२३ गते जन्म भएको थियो । वास्तबिक नाम सर्मेन्द्र भए पनि मनोजका नामले परिचित जोशी अखिल नेपाल जनवादी युवा लिग, इन्द्रेणी साँस्कृतिक समाज तथा अनेरास्ववियुमा आवद्ध हुनुहुन्थ्यो ।


