दिक्तेल रुपाकोट मझुवागढीका नगरप्रमुख भट्टराई भोलिदेखि काठमाडौँमा आमरण अनशन बस्नुहुँदै

Halesi Khabar

खोटाङ, १३ साउन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले भोलिदेखि अनिश्चितकालीन आमरण अनशन बस्ने घोषणा गर्नुभएको छ । सङ्घीय सरकार समक्ष सात बुँदे माग राखेर आन्दोलनमा उत्रनुभएका नगर प्रमुख भट्टराईले सत्याग्रहको कार्यलाई चरणबद्ध रुपमा अगाडि बढाउने कार्यक्रम अन्तरगत भोलि (साउन–१४ गते)देखि अनिश्चितकालीन आमरण अनशन बस्नुहुने कार्यबाहक नगरप्रमुख विशन राईले मङ्गलबार विज्ञप्ति जारी गरेर जानकारी दिनुभएको हो ।

सत्याग्रहको पूर्व घोषित कार्यक्रम अन्तरगत नगरप्रमुख ज्यूले २०८२÷०४÷१४ गते बिहान ९ः०० बजेदेखि माइतीघर मण्डलामा अनिश्चितकालीन आमरण अनशन बस्ने तयारी गर्नुभएको बार्यबाहक नगरप्रमुख राईले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख । नगरप्रमुख भट्टराईले बाँसका सामग्री तथा कोदोबाट उत्पादन गरिने घरेलु रक्सीको प्रवद्र्धन, बाँदर तथा भ्रष्टाचार नियन्त्रण लगायतका सात बुँदे माग राख्दै काठमाडौँको माइतीघर मण्डलामा साउन–११ गतेबाट सत्याग्रह सुरु गर्नुभएको थियो ।

स्थानीय कच्चा पदार्थ प्रयोग तथा उत्पादित थोकवस्तु प्रवद्र्धन गर्न सङ्घीय ऐन बाधक भएकाले त्यसलाई संशोधन गर्नुपर्ने नगरप्रमुख भट्टराईको मुख्य माग रहेको छ । नगरप्रमुख भट्टराई बाँससहित बाँसको मान्द्रो, गुन्द्री, राडी, पराललगायत सामान बोकेर साउन–४ गते काठमाडौँ जानुभएको थियो ।

बाँसका सामग्री तथा स्थानीयस्तरमा उत्पादन हुने थोकवस्तुको प्रवद्र्धन गर्न नेपाल सरकार समक्ष नगरपालिकाले राखेको सात सूत्रीय माग सम्बोधन नभएपछि बाध्य भएर आफू चरणवद्ध आन्दोलनमा उत्रिएको नगरप्रमुख भट्टराईले बताउनुभएको छ । “बाँस तथा बाँसजन्य कच्चा पदार्थलाई उपयोगमा ल्याउन गत जेठ–२३ गते र असार–६ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका थियौँ । हामीले राखेको माग कार्यान्वयन गर्न सरकार उदासीन देखियो”, उहाँले भन्नुभयो, “खेर गइरहेका बाँसलाई उपयोगमा ल्याउन सङ्घीय सरकारले नीति बनाउनुपर्ने हुन्छ । स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने नीति निर्माणमा सरकार उदासीन देखिएपछि आन्दोलनमा उत्रिएको हुँ । पहिलो चरणको आन्दोलन सफल भएको छ । तीन दिनसम्म शान्तिपूर्ण तरिकाले सत्याग्रह बस्दा पनि माग पूरा नभएपछि आमरण अनसन बस्ने तयारी गरेको छु ।”

काठमाडौँमा रहेको अवसर पारेर नगरप्रमुख भट्टराईले आन्दोलनकै कार्यक्रमअनुसार राष्ट्रपति रामचन्द्र पौडेलसहित उच्चपदस्थ व्यक्तिहरुलाई बाँसका कुर्सी र टेबल उपहार दिन थाल्नुभएको थियो । नगरप्रमुख भट्टराईले उपराष्ट्रपति राम सहाय यादव, प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई दिक्तेलबाट गाडीमा हालेर लगेको बाँसको कुर्सी र टेबल प्रदान गरिसक्नुभएको छ ।

पशुपतिमा गएर कपाल मुण्डन गरेपछि फर्किएर सत्याग्रह सुरु गर्नुभएका नगरप्रमुख भट्टराईले ‘पैसा छैन नीति देउ, आत्मनिर्भर समाज बनाऔं,’ ‘प्रकृतिको विनास हैन, संरक्षण गरौं,’ ‘जलवायु परिवर्तनको असर, खोला खोल्सी अनियन्त्रित क्रसर’, ‘प्रकृतिको पूजा गरौँ, प्राणीको अस्तित्व जोगाऔं,’ लगायतका नारा लेखिएका प्लेकार्ड पनि साथमा राख्नुभएको छ । नगरप्रमुख भट्टराईले सङ्घीय सरकार समक्ष राख्नुभएको माग जायज र समय सान्दर्भिक भएको भन्दै विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताले भेटेर तथा सामाजिक सञ्जालमार्फत समर्थन जनाउँदै आएका छन् ।

स्थानीय उत्पादनलाई नीतिगत रुपमै प्रवद्र्धनको माग राख्दै आउनुभएका नगरप्रमुख भट्टराईले साउन–३ गते पत्रकार सम्मेलन गरेर बाँस तथा बाँसजन्य कच्चा पदार्थलाई प्रयोग गर्ने नीतिगत व्यवस्थाको सुनिश्चितताका लागि सरकारलाई दबाब दिन सत्याग्रह बस्ने औपचारिक घोषणा गर्नुभएको थियो । नगरप्रमुख भट्टराईले सत्याग्रह बस्ने घोषणा गर्नुभएपछि बाँसजन्य उद्योग स्थापनाको सन्दर्भमा सङ्घीय सरकारसँग छलफल गर्न नगरपालिकाले वार्ता टोलीसमेत गठन गरेको छ ।

नगरप्रमुख भट्टराईले भोक आन्दोलनको घोषणा गर्नुभएसँगै नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयले छलफलका लागि साउन–८ गते औपचारिक रुपमा पत्र पठाएपछि नगर कार्यपालिकाको बैठक बसेर वार्ता टोली गठन गरिएको संयोजक एवम् कार्यवाहक नगर प्रमुख राईले जानकारी दिनुभएको छ । “मन्त्रालयको पत्रअनुसार वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही र नगर प्रमुख तीर्थराज भट्टराईबीच साउन–९ गते छलफल भएको थियो । थप छलफल गर्न र वार्तालाई निष्कर्षमा पु¥याउन मेरो संयोजकत्वमा वार्ता टोली बनाइएको हो”, उहाँले भन्नुभयो, “खेर गइरहेका बाँसलाई उपयोगमा ल्याउँदै स्थानीयस्तरमा उद्योग स्थापना गरेर युवापुस्ताका लागि रोजगारी सिर्जना गर्ने नगरपालिकाको नीति छ । हाम्रो माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहन्छ ।”

मन्त्रालयको आव्हानमा वार्ता टोली गठन गरिएसँगै संयोजक एवम् कार्यवाहक नगर प्रमुख राईसहितका टोली काठमाडौँ पुगिसकेको छ । स्थानीय उत्पादन र श्रोतको उपयोग, जलवायु सङ्कटविरुद्धको आवाज, सुशासन र भ्रष्टाचारविरुद्धको अभियान तथा नीति निर्माणका लागि सङ्घीय सरकार समक्ष राखिएको माग सम्बोधन नभएपछि आन्दोलनमा जान बाध्य भएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले ‘जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहा बाँस’ भन्ने नारासहित फागुन–१५ गतेबाट तीन दिने ‘प्रथम राष्ट्रिय बाँस सम्मेलन–२०८१’ आयोजना गरेको थियो । दिक्तेल बजारमा सम्पन्न प्रथम राष्ट्रिय बाँस सम्मेलनले जारी गरेको ३५ बुँदे ‘खोटाङ घोषणा–पत्र’मा दिक्तेलमा बाँस अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना गर्न पहल गर्ने, पहिलो पटक राष्ट्रिय बाँस सम्मेलन सुरु भएको दिन फागुन–१५ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय बाँस जागरण दिवस’ का रुपमा मनाउने, प्रत्येक तीन वर्षमा राष्ट्रिय बाँस सम्मेलन आयोजना गर्ने लगायतका निर्णय पारित गरेको छ ।

तपाईको प्रतिक्रिया