मिनाक्क्षी राई
खोटाङ, ९ साउन । जिल्लाका महिला उद्यमीहरूलाई संस्था व्यवस्थापन तथा नेतृत्व विकास सम्बन्धी जानकारी दिन दिक्तेलमा तीन दिने तालिम सुरु गरिएको छ । महिला उद्यमी सङ्घ खोटाङ र टेवा नेपाल ललितपुरको आर्थिक सहयोगमा तालिमको आयोजना गरिएको हो ।
दिक्तेलस्थित शुभ दिन होटलमा आयोजना गरिएको तालिममा २५ जना महिला उद्यमी सहभागी रहेका छन् । दिगो विकास र संस्थागत नेतृत्व विकासका लागि संस्थाका पदाधिकारी तथा सदस्यहरूलाई लक्षित गर्दै तालिम आयोजना गरिएको महिला उद्यमी सङ्घ खोटाङकी सचिव चन्द्रकला भुजेलले बताउनुभएको छ ।
तालिममा महिला अधिकार, महिलासम्बन्धी संवैधानिक तथा कानूनी व्यवस्था, महिला सशक्तिकरण लगायतका विषयमा जानकारी प्रदान गरिने आयाजकले जनाएको छ । तालिमको सहजीकरण दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका निवर्तमान नगरप्रमुख दीपनारायण रिजालले गर्नुहुने जनाइएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले उद्घाटन गर्नुभएको तालिममा खोटाङ उद्योग वाणिज्य सघका अध्यक्ष राजनप्रसाद आचार्य, गैरसरकारी संस्था महासङ्घका अध्यक्ष युवराज रिजाल, पर्यटन तथा होटल व्यवसायी सङ्घका अध्यक्ष जे.पी. राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख इरन राई, समाजसेवी सञ्जयकुमार राई लगायतको उपस्थिति रहेको थियो । तालिमले महिला उद्यमीहरूलाई थप सक्षम बनाउँदै नेतृत्वदायी भूमिकामा उकास्ने अपेक्षा गरिएको छ ।


