साकेलामा आकस्मिक पूर्वाधार सेवामार्फत पहिरोले अवरुद्व सडक खुलाइयो

Halesi Khabar

खोटाङ, ९ साउन । साकेला गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, प्रहरी र स्थानीय नागरिकको सक्रियतामा पहिरोले अवरुद्ध बनेको सडक पुनः सञ्चालनमा ल्याएका छन् । वडा नं. १ बाँझेच्यानडाँडाबाट रतन्छा–मानेभञ्ज्याङ सडकखण्ड अन्तरगत रुपुवाखोला नजिक लगाइएको ग्याविन जालीमा पहिरोले क्षति गरेको थियो ।

पहिरोका कारण अवरुद्व बनेको सडक बिहीबार गाउँपालिका प्रमुख रविप्रकाश राईको नेतृत्वमा गएको टोलीले मर्मत गरि पुनः सञ्चालनमा ल्याएको जनाइएको छ । गाउँपालिकाको आकस्मिक पूर्वाधार सेवा अन्तरगत अवरुद्व बनेको सडक खुलाउनका लागि जनश्रमदानमार्फत अस्थायी पर्खाल लगाएर यातायात वारपार गर्न सक्ने बनाइएको गाउँपालिकाले जनाएको छ ।

पहिरोका कारण ग्याविन जाली बग्दा करिव रु ५० लाख बराबरको क्षति भएको छ । अवरुद्ध सडक पुनः सञ्चालन गर्नका लागि गाउँपालिका प्रमुख राईसँगै वडाध्यक्ष, स्थानीय नागरिक, नेपाल प्रहरी र कर्मचारीको सहभागिता रहेको थियो । श्रमदानमा गाउँपालिकाको ब्याकहोलोडर र ट्याक्टरको समेत प्रयोग गरिएको थियो ।

साकेला गाउँपालिकाको गौरवको सडक मानिएको उक्त सडकमा स्थानीय, प्रदेश तथा संघीय सरकारको लगानी भएको छ । गत आर्थिक वर्ष २०८१÷०८२ मा सङ्घीय समपुरक योजना अन्तरगत केही बजेट प्राप्त भइ निर्माणको काम भएको थियो भने चालु आर्थिक वर्ष २०८२÷०८३ को लागि सङ्घीय समपूरक योजना अन्तरगत रु एक करोड २५ लाख प्राप्त भएको छ ।
स्थानीय तहको २० प्रतिशत लागत साझेदारी हुने जनाइएको छ । हाल ग्राभेल सडकको रुपमा रहेको करिव १७ किलोमिटर लामो उक्त सडक सम्पन्न हुनका लागि रु एक अर्व १४ करोड बराबरको बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ ।

तपाईको प्रतिक्रिया