शालिकमा माल्यार्पण गर्दै मनाइयो पुष्पलाल श्रेष्ठको ४७ औँ स्मृति दिवस

Halesi Khabar

खोटाङ, ७ साउन । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव एवम् लोकतान्त्रिक आन्दोलनका धरोहर पुष्पलाल श्रेष्ठको ४७ औँ स्मृति दिवस आज (बुधबार) देश तथा विदेशमा विभिन्न कार्यक्रमगरी मनाइएको छ । विभिन्न कम्युनिस्ट पार्टी र उनीहरूको भातृ सङ्गठनहरुले विभिन्न कार्यक्रमका साथ श्रेष्ठको ४७ स्मृति दिवस मनाएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङले आयोजना गरेको कार्यक्रममा एमाले नेता तथा कार्यकर्ताले दिक्तेलस्थित भवन गैरामा रहेको श्रेष्ठको शालिकमा माल्यार्पण गरेर दिवस मनाएका छन् । एमाले खोटाङका अध्यक्ष देवबिक्रम राईको प्रमुख आतिथ्यतामा आयोजना गरिएको कार्यक्रममा नेपाली कम्युनिष्ट आन्दोलनमा पुष्पलाल श्रेष्ठले पु¥याउनुभएको योगदानका बारेमा चर्चासमेत गरिएको छ ।

वि. सं. २००६ मा भारतको कोलकतामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्दा पुष्पलालले सम्मुन्नत राष्ट्र निर्माण गर्ने र नेपाली जनताको वास्तविक मुक्तिको कार्यभार पूरा गर्ने लक्ष्य राख्नुभएको थियो । वि.सं. १९८१ असारमा रामेछापको भङ्गेरीमा जन्मनुभएका पुष्पलाल वैचारिकरूपले सशक्त र आम नेपालीका लागि एक प्रेरणादायी नेताका रूपमा परिचित हुनुहुन्छ ।

जनमतका हिसाबले ठूलो हिस्सा कम्युनिस्ट र वामपन्थी भएपछि विभिन्न टुक्रामा विभक्त हुँदा उहाँले देखाएका सपना पूरा हुन नसकेको गुनासो कायमै रहेको छ । संस्थापक महासचिव पुष्पलालले नेपालको परिवर्तनका लागि प्रस्ताव गरेको कृषि क्रान्ति र गरिब एवम् गरिखाने वर्गको मुक्तिको अभियान अझै पनि उत्तिकै महत्वपूर्ण रहेको कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरुले बताउँदै आएका छन् ।

नेपालमा पुष्पलाल लगायतका शीर्ष कम्युनिस्ट नेता तथा कार्यकर्ताको सपना पूरा गर्ने लक्ष्यका साथ एकीकृत कम्युनिस्ट पार्टीको आवश्यकता महसुस गरिएको भए पनि त्यसले मूर्तरुप लिन सकेको छैन । नेपालमा बृहत् कम्युनिष्ट पार्टी नबन्दासम्म समाजवादको लक्ष्य पूरा हुन नसक्ने नेताहरुले बताउँदै आएका छन् ।

 

तपाईको प्रतिक्रिया