खोटाङ, ५ साउन । विश्व प्रसिद्ध त्रिधार्मिकस्थल हलेसीमा महिना दिनसम्म लाग्ने ‘बोलबम’ मेला आज (सोमबार)बाट शुरु भएको छ । हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा साउन महिनाभर बोलबम मेला लाग्ने गरेको छ ।
बोलबमको अवसर पारेर हलेसीमा लगाइएको महिनादिने मेला भर्न आएका गेरुबस्त्रधारी दर्शनार्थी तथा भक्तजनको घुइँचो लागेको छ । हलेसी आवतजावत गर्ने प्रमुख मार्ग मध्यपहाडी लोकमार्गमा सामुहिकरुपमा ‘बोलबम’ शब्द उच्चारण गर्दै खाली खुट्टा पैदल यात्रा गर्ने दर्शनार्थीको सङ्ख्या पनि उत्तिकै मात्रामा देखिएका छन् ।
मेलाको पहिलो दिन (आज) १२ हजार ४७५ जना दर्शनार्थी तथा भक्तजनले हलेसी मन्दिरको दर्शन गरेको हलेसी सूचना केन्द्रका प्रमुख रमेश राईले जानकारी दिनुभएको छ । “हलेसी दर्शन गर्न आएका अधिकांश दर्शनार्थी भारतीय नागरिक रहेका छन् । उनीहरुमध्ये अधिकांशले आफ्नै सवारी साधन प्रयोग गरेर आउने गगरेका छन्”, उहाँले भन्नुभयो, “हलेसीको दर्शन गर्न आउने अधिकांशले मोटरसाइकल प्रयोग गरेर आउना भएकाले भीडभाड देखिने गरेको छ । त्यसलाई व्यवस्थित गर्न सबै संयन्त्र प्रयोग गरिएको छ ।”
साउनभर लाग्ने बोलबम मेलाको अवसर पारेर पैदल तथा यातायातका सवारी साधनमार्फत दर्शनार्थी तथा भक्तजन हलेसी आउने गरेका छन् । तराईबाट हलेसीसम्म आउने र जाने सडक बिस्तार भएपछिमात्र हलेसीमा बोलबम मेला लाग्न थालेको हलेसी विकास समितिका अध्यक्ष डिल्ली चाम्लिङले जानकारी दिनुभएको छ ।
हलेसीमा लागेको बोलबम मेलामा नेपालका सिराहा, सप्तरी, धनुषा, जनकपुरधाम, झापा, बिराटनगर, ईलाम, भारतको सिक्किम, दार्जिलिङ, गान्तोक तथा भुटान, चिनको तिब्बत लगायतका देशबाट दर्शनार्थी एवम् भक्तजन आउने गरेका छन् । मनोकांक्षा पूरा हुने विश्वासका साथ हलेसी मन्दिरको प्रमुख गुफाभित्र अवस्थित शिवलिङ्गमा साउनको प्रत्येक सोमबार विभिन्न नदीबाट ल्याइएका जल चढाउने गरिन्छ ।
हलेसीमा देश तथा विदेशबाट आएका हिन्दु धर्मावलम्बीहरुले नुहाएर व्रत बस्नुका साथै महादेव, पार्वती र गणेशलाई जल चढाउने प्रचलन रहेको मन्दिर व्यवस्थापन समितिले जनाएका छन् । प्राकृतिक रुपले समेत विश्वप्रसिद्ध त्रिधार्मिकस्ल हलेसीमा विवाहित महिलाले आफ्नो श्रीमानको दीर्घायु र परिवारको सुख तथा समृद्धिको कामना गर्दै र अविवाहित महिलाले असल श्रीमान पाउने कामना गर्दै पूजाअर्चना गर्ने प्रचलन छ ।
पवित्र जल तथा बेलपत्रले शिवको पूजाआराधना गरे आफ्नो मनोकांक्षा पूरा हुने र सुख तथा शान्ति मिल्ने विश्वास छ । बोलबमको अवसरमा हलेसीमा लागेको मेला भर्न तथा दर्शन गर्न आएका दर्शनार्थीका कारण अहिले यहाँका साना तथा ठूला होटलहरु भरिभराउ भएको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता एवम् वडा नं. ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभएको छ ।
साउन लागेलगत्तै हलेसी र जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बाराहापोखरीमा हरियो कपडा, चुरा र मेहन्दीमा सजिएका महिला तथा रातो गेरु रङ्गको पहिरनमा सजिएका पुरुषको समेत घुइँचो लागेको स्थानीयले बताएका छन् । तराईबाट सिधै कटारी–घुर्मी–जयराम हुँदै हलेसीसम्मको यातायात सेवा बिस्तार भएपछि बोलबमको अवसरमा दर्शन गर्न र मेला भर्न जिल्ला आउने दर्शनार्थीको सङ्ख्या वर्षेनी बढ्दो रहेको स्थानीयले बताएका छन् ।
बोलबमको अवसर पारेर हलेसीमा लागेको मेलालाई व्यवस्थित गर्न सुरक्षाकर्मी, मन्दिर व्यवस्थापन समिति तथा स्थानीय क्लबमा आवद्ध पदाधिकारीलाई बिहानैदेखि खटाइएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख विमला राईले जानकारी दिनुभएको छ । “हलेसी विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हो । यहाँ विश्वका मानिसहरु दर्शन तथा पूजापाठ गर्नका लागि आउने गरेका छन्”, उहाँले भन्नुभयो, “बोलबम मेला महिना दिनसम्म लाग्छ । यो बेला दर्शनार्थी तथा भक्तजनको निक्कै ठूलो भीडभाड हुने भएकाले मेलालाई व्यवस्थित र मर्यादित बनाउन नगरपालिकाको तर्फबाट समेत कर्मचारी परिचालन गरिएको छ ।”
तराईका विभिन्न जिल्ला, राजधानी काठमाडौँ तथा भारतबाट सिधै रिजर्भ गरेर ल्याइएका यातायातका सवारी साधनमार्फत हलेसी आउने अधिकांश दर्शनार्थी तथा भक्तजनहरु सोही दिन फर्कने गरेका छन् । भाडाका सवारी साधनमार्फत हलेसी आएका दर्शनार्थी तथा भक्तजनले होटलहरु खचाखच भरिएको स्थानीय बासिन्दाहरुले बताएका छन् ।
एउटै स्वरमा ‘बोलबम–बोलबम–बोलबम’ शब्द उच्चारण गर्दै खाली खुट्टा हातमा पानीको भाँडा बोकेर सामुहिकरुपमा हिँडेका दर्शनार्थी तथा भक्तजनको दृष्य निक्कै रोचक देखिने गरेको छ । प्राकृतिक भू–बनोटको हिसाबले पनि विश्वकै नमूना मानिने हलेसीमा रामनवमी, शिवरात्री, बालाचर्तुदशी, हरितालिका तिज, बोलबम लगायतमा ठूलो मेला लाग्ने गरेको छ ।
बोलबमको अवसर पारेर हलेसीमा लाग्ने महिना दिने मेलामा करोडौँको कारोबार हुने गरेको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यले बताउनुभएको छ । त्रिधार्मिकस्थल हलेसीमा पछिल्लो समय दर्शनार्थी तथा भक्तजनको बाल्लो भीड लाग्न थालेपछि आपराधिक घटना हुन नदिन सिसी क्यामेरासमेत जडान गरिएको छ ।
हलेसी दर्शन गर्न आएका दर्शनार्थीमध्ये कतिपय दिक्तेल बजारस्थित मझुवा कालिका भगवती मन्दिरमा आएरसमेत दर्शन गर्ने गरेको स्थानीयले बताएका छन् । हलेसी आउने दर्शनार्थी तथा भक्तजनले दिक्तेलस्थित मझुवा कालिका भगवती मन्दिरको दर्शन नगरे आफूले चिताएको मनोकांक्षा पूरा नहुने धार्मिक ग्रन्थमा उल्लेख छ ।


