खोटाङ, १ साउन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारस्थित हाटडाँडामा पूर्वाधार विकास कार्यालय स्थापना गरिएको छ । कोशी प्रदेश सरकारको गत जेठ–२० गते बसेको मन्त्री परिषद्को बैठकले कोशी प्रदेशभित्र पर्ने १४ वटै जिल्लामा पूर्वाधार विकास कार्यालय स्थापना गर्ने निर्णय गरेअनुसार बिहीबार खोटाङको दिक्तेल बजारमा पूर्वाधार विकास कार्यालय स्थापना गरिएको हो ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित हाटडाँडामा कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार मन्त्रालय पूर्वाधार विकास निर्देशनालयको मातहतमा रहनेगरी पूर्वाधार विकास कार्यालय स्थापना भएसँगै अब खोटाङवासीले योजनाको फायल बोकेर उदयपुर, ओखलढुङ्गा, विराटनगर लगायतका जिल्ला धाउनुपर्ने बाध्यता हटेको छ । भाडाको घरमा स्थापना गरिएको कार्यालय कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास एवम् स्वास्थ्यमन्त्री भूपेन्द्र राईले औपचारिकरुपमा उद्घाटन गर्नुभएको छ ।
निक्कै तामझामका साथ उद्घाटन गरिएको कार्यालय स्थापना कार्यक्रामलाई सम्बोधन गर्नुहुँदै भौतिक पूर्वाधार एवम्र स्वास्थ्यमन्त्री राईले विकास निर्माणका कामलाई छिटो र गुणस्तरीय बनाउन कोशी प्रदेशमा पर्ने १४ वटै जिल्लामा पूर्वाधार विकास कार्यालय स्थापना गर्ने निर्णय गरिएको बताउनुभएको छ । “पूर्वाधार विकास कार्यालय नहुँदा जिल्लामा परेका योजनाका फायल बोकेर उदयपुर, ओखलढुङ्गा, विराटनगर लगायतका जिल्ला धाउनुपर्ने बाध्यता थियो । अब १४ वटै जिल्लामा योजना सम्झौतादेखि फरफारकसम्मका सबै काम हुन्छ”, उहाँले भन्नुभयो, “जिल्ला–जिल्लामा पूर्वाधार विकास कार्यालय स्थापना भएसँगै निर्माण व्यवसायीलाई सहज हुनुका साथै विकासे योजनाका काम छिटो, गुणस्तरीय र जनमुखी हुने अपेक्षा गरिएको छ । यो सङ्घीयताको उपलब्धि पनि हो ।”
दिक्तेल–खानीडाँडा सडकखण्डको हाटडाँडामा स्थापना गरिएको कार्यालय उद्घाटनका लागि भौतिक पूर्वाधार विकास एवम् स्वास्थ्यमन्त्री राईसँगै राज्यमन्त्री भूमिप्रसाद राजवङ्शी, मन्त्रालयका सचिव अशोककुमार साह लगायतका टोली खोटाङ आएका छन् । उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, जिल्लास्थित स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरे, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधि, निर्माण व्यवसायी लगायतको उपस्थिति रहेको थियो ।
मन्त्रालयबाट १३ जना कर्मचारीको दरबन्दी कायम गरेर स्थापना गरिएको पूर्वाधार विकास कार्यालय खोटाङमा कार्यालय प्रमुखसहित तीनजना कर्मचारी हाजिर भएका छन् । बाँकी दशजना कर्मचारीसमेत केही दिनभित्रै उपलब्ध गराएर कार्यालय सञ्चालन गर्ने तयारी गरिएको मन्त्रालयका सचिव साहले जानकारी दिनुभएको छ ।
कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार मन्त्रालयबाट यस आर्थिक वर्ष खोटाङमा १५१ वटा योजनाका लागि बजेट विनियोजन भएको मन्त्री राईका सचिवालयको कर्मचारी सन्तोष राईले जानकारी दिनुभएको छ । राईकाअनुसार भौतिक पूर्वाधार विकास मन्त्रालयबाट कार्यान्वयन हुने एक वर्षे र बहुवर्षे योजनागरी यो वर्ष खोटाङमा रु एक अर्ब दुई करोड ५८ लाख २८ हजार बजेट आएको जनाइएको छ ।
दिक्तेलमा स्थापना गरिएको पूर्वाधार विकास कार्यालय उद्घाटन गरिएलगत्तै मन्त्री राईको टोली ओखलढुङ्गाको कार्यालय उद्घाटन गर्न त्यसतर्फ प्रस्थान गर्ने जनाइएको छ । कोशी प्रदेश सरकारले यसअघि छुट्टाछुट्टै अस्तित्वमा रहेको पूर्वाधार विकास कार्यालय र शहरी विकास तथा भवन निर्माण कार्यालयलाई एकीकृत गरी १४ वटै जिल्लामा स्थापना गर्ने निर्णय गरेको थियो ।




