खोटाङ, ३१ असार । शहीद दिलकाजी–इन्दिरा कार्की दम्पतीको हत्या भएको २४ वर्ष पूरा भएको छ । वि.सं. २०५९ असार–३१ गते तत्कालीन शाही नेपाली सेनाको गस्ती टोलीले शहीद कार्की दम्पतीलाई गिरफ्तार गरेर गोली हानी हत्या गरेको हो ।
घटनाका प्रत्यक्षदर्शी तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेताहरुका अनुसार तत्कालीन शाही सेनाले खोटाङको सिम्पानीबाट दिलकाजी कार्की ‘अर्जुन’लाई गिरफ्तार गरी टुवाखोलामा लगेर हत्या गरेको जनाइएको छ । नेताहरुका अनुसार शहीद दिलकाजीसँगै गिरफ्तारमा पर्नुभएकी उहाँकी श्रीमती इन्दिरा कार्की ‘हिमाली’को समेत सोही ठाउँमा सेनाले गोली हानी हत्या गरेको हो ।
जनयुद्धमा शहादत प्राप्त गर्नुभएका शहीद दिलकाजीलाई खोटाङमा माओवादी जनयुद्धको अभिभावक मान्ने गरिएको छ । राजनीतिक चेत, तीक्ष्ण दिमाग तथा हक्की स्वभावका शहीद दिलकाजीको अल्पायुमै राज्यको तर्फबाट हत्या हुनुले सिङ्गो पार्टी तथा जिल्लाका लागि ठूलो क्षति भएको नेकपा (माओवादी केन्द्र) खोटाङका जिल्ला संयोजक दीपक पाण्डे ‘आकाश’ले बताउनुभएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडा निवासी बुबा नरबहादुर कार्की र आमा जयन्तादेवी कार्कीको कोखबाट वि.सं. २०२३ साउन–३१ गते जन्मनुभएका शहीद दिलकाजी तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को पूर्वीब्यूरो सदस्य तथा खोटाङ जिल्ला सेक्रेटरी हुनुहुन्थ्यो । दिक्तेल बहुमुखी क्याम्पस दिक्तेलबाट मानविकी सङ्कायमा स्नातकसम्म अध्ययन पूरा गरेर राजनीतिमा सक्रिय हुनुभएका शहीद दिलकाजी खोटाङमा जनयुद्धका संस्थापकमध्येका एक नेता हुनुहुन्थ्यो ।
शहीद दिलकाजीसँगै जनयुद्धमा होमिनुभएकी शहीद इन्दिरा अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) खोटाङको जिल्ला सदस्य हुनुहुन्थ्यो । जनयुद्धका शहीद कार्की दम्पतीको दुई छोरी र एक छोरा छन् । छोरा प्रतीक कार्की नेकपा (माओवादी केन्द्र)को भातृ सङ्गठन अखिल (क्रान्तिकारी)मा सक्रिय हुनुहुन्छ ।
माओवादी जनयुद्धमा शहादत प्राप्त गर्नुभएका शहीद दिलकाजी र खोटाङका प्रथम शहीद ठूलकुमार श्रेष्ठको नाममा जिल्लामा ‘शहीद दिलकाजी–ठूलकुमार स्मृति प्रतिष्ठान नेपाल’ दर्ता गरिएको छ । प्रतिष्ठानले जिल्लामा शहीद दिलकाजी र ठूलकुमारको स्मृतिमा हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै आएको छ ।
प्रतिष्ठानको वार्षिक कार्यक्रमअनुसार शहीद कार्की दम्पतीको २४ औँ स्मृति दिवसको अवसर पारेर मङ्गलबार खोटाङमा विभिन्न कार्यक्रम आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष सुरेशकुमार राईले जानकारी दिनुभएको छ । शहीद कार्की दम्पतीको तस्वीरमा माल्यार्पण, जिल्ला अस्पताल खोटाङमा उपचारका लागि आउने बिरामीका लागि डिस्पेन्सर मेसिन (पानी चिसो÷तातो बनाउने उपकरण) हस्तान्तरण, अस्पतालमा उपचाररत १५ जना बिरामीका लागि फलफूल वितरण तथा दिक्तेलस्थित मुडेमा निर्माणाधीन शहीद पार्क (उद्यान) परिसरको सरसफाइ गरिएको हो ।
जिल्ला अस्पताल परिसरमा आयोजना गरिएको श्रद्धाञ्जलिसभाका वक्ताहरुले शहीद कार्की दम्पतीले देखाएको बाटोबाट बिचलित नभइ देश र जनताको पक्षमा लाग्नु नै शहीदहरुप्रति सच्चा श्रद्धाञ्जलि हुने बताएका छन् । श्रद्धाञ्जलिसभामा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय अनुशासन आयोगका अध्यक्ष एवम् पूर्वसांसद टंक राई, जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई, जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, शहीद परिवारका सदस्य लगायतको उपस्थिति रहेको थियो ।
माओवादीको दश वर्षे जनयुद्धमा शहादत प्राप्त खोटाङका ७२ जना शहीदहरुको सम्झनामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुडेमा निर्माणाधीन शहीद पार्कमा सङ्घीय सरकारले हरेक वर्ष बजेट उपलब्ध गराउँदै आएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित भवनगैरामा प्रतिष्ठानको आफ्नै कार्यालय भवन निर्माण गरेर सञ्चालनमा ल्याइसकिएको छ ।


