खोटाङ, ३१ असार । बराहापोखरी गाउँपालिका–४ फाक्टाङकी २५ वर्षीया इन्द्रा राईको करेन्ट लागेर मृत्यु भएको छ । गएराति साढे ९ बजेतिर आफ्नै घरमा चार्ज गरिराखेको मोबाइल फोन चार्जबाट छुटाउनेक्रममा करेन्ट लागेर गम्भीर घाइते बन्नुभएकी इन्द्राको गएराति नै मृत्यु भएको हो ।
करेन्ट लाग्ने बित्तिकै बेहोस बन्नुभएकी इन्द्रालाई उपचारमा लैजाने तयारी गर्दागर्दै घटनास्थलमै मृत्यु भएको फाक्टाङका वडाध्यक्ष सन्तोष आचार्यले जानकारी दिनुभएको छ । “राति पानी परिरहेको थियो । नजिकमा एम्बुलेन्स थिएन”, उहाँले भन्नुभयो, “एम्बुलेन्स खोज्दाखोज्दै करिब दश बजेतिर इन्द्राको मृत्यु भयो । करेन्ट लागेर इन्द्राको मृत्यु भएलगत्तै प्रहरीलाई खबर गरेर घटनास्थल सुरक्षित राखेका छौँ ।”
घटनाको बारेमा जानकारी आउनासाथ जिल्लाबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्ष प्रतीक विष्टले जानकारी दिनुभएको छ । घटनास्थल छिमेकी जिल्ला उदयपुर नजिक भएकाले जिल्लाबाट खटिएको प्रहरी टोली पुग्न समय लाग्ने जनाइएको छ ।
घटनाको सर्जमिन मुचुल्का गरेर मृतक इन्द्राको शव परीक्षण गर्न प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी पठाउने योजना बनाइएको प्रहरी जनाएको छ । वर्षादको समय भएकाले सहजै यातायात सञ्चालन हुने अवस्था नहुँदा शव परीक्षणमा थप समस्या सिर्जना भएको मृतकका आफन्तहरुले बताएका छन् ।
मृतक इन्द्राको श्रीमान वैदेशिक रोजगारीको सिलसिलामा दुई वर्षदेखि कतारमा रहनुभएको स्थानीयले बताएका छन् । दुई छोरीकी आमा इन्द्राको करेन्ट लागेर मृत्यु भएपछि छ र सात वर्षकी नाबालिक छोरीहरुको बिचल्ली भएको छ ।
करेन्ट लागेर आमाको मृत्यु भएपछि बिचल्ली परेका दुई छोरीहरु बाजे (हजुरबुबा)को साथमा रहेको जनाइएको छ । बाजेको श्रीमती (बजू)को समेत यसअघि नै मृत्यु भइसकेकाले उनीहरुको रेखदेखमा समस्या भएको स्थानीयले बताएका छन् ।


